१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्री नआएसम्म बोल्दिनँ भन्दै राप्रपा सांसद लामा रोस्टममा उभिरहिन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार १३:०८:००

राप्रपा सचेतक विना लामाले सदनमा अर्थमन्त्रीले राप्रपामाथि विभेद गरेको भन्दै अर्थमन्त्रीको खोजी गरेकी छिन् । 
आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा उनले बोल्ने वेलामा अर्थमन्त्री वर्षमान पुन सदनबाट बाहिरिएका थिए । त्यसपछि उनले सभामा अर्थमन्त्री खोजेकी हुन् । 

सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले बोल्नका लागि १० मिनेटको समय दिइएको भन्दै उनलाई बोलाएपछि रोस्टममा उभिएकी सांसद लामा अर्थमन्त्री नदेखेपछि उभिएर बसिन् । 

रानाले बोल्नका लागि आग्रह गरेपछि उनले भनिन्, ‘राप्रपाले बोल्ने पालामा अर्थमन्त्री उठेर जानुभयो, हामीमाथि विभेद भयो ।’ उनले आफ्ना कुरा अर्थमन्त्रीलाई सुनाउन खोजेको भन्दै उनी आएपछि मात्र बोल्ने बताइन् । 

त्यसपछि उपसभामुख रानाले अर्थमन्त्री अर्का एक व्यक्तिलाई जिम्मेवारी सुम्पिएर खाना खान गएको जानकारी गराउँदै बोल्न पुनः आग्रह गरिन् । त्यसपछि उनले भनिन्, ‘बोल्नका लागि १० मिनेटको समय दिइएको छ, मैले बोल्दै गर्दा पनि उहाँ आउनुभएन भने मैले सदस्यज्यूहरूलाई मात्र सुनाऊँ ?’ 

त्यसपछि उपसभामुख रानाले प्रदीप यादवलाई बोल्नका लागि बोलाइन् । यत्तिकैमा अर्थमन्त्री पुन खाना खान छाडेर सांसद लामाका कुरा सुन्न आइपुगे । त्यसपछि  सांसद लामाले भनिन्, ‘मलाई लागेको थियो, राप्रपा आउँदा अर्थमन्त्री भाग्नुभयो भनेर ।’ यसो भनेर उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आफ्नो धारणा राखिन् ।