Skip This
सदनमा कांग्रेसको सवाल– उस्तै उजुरीमा दीपेश पुन पक्राउ पर्ने, रवि लामिछाने गृहमन्त्री खाइरहने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ७ बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ७ बुधबार १२:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनमा कांग्रेसको सवाल– उस्तै उजुरीमा दीपेश पुन पक्राउ पर्ने, रवि लामिछाने गृहमन्त्री खाइरहने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ७ बुधबार १२:१७:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको रकम ठगीको उजुरी परेपछि दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने भने गृहमन्त्री बनेर बसिरहेको भन्दै आपत्ति जनाएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा पनि आकस्मिक समय लिएर बोलेकी कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले सत्ताकै बलमा लामिछानेले उन्मुक्ति पाउने अवस्था रहेको बताइन् । 

‘उही केसमा दीपेश पुन पक्राउ हुने, रवि लामिछाने गृहमन्त्री खाइरहने ?’ उनले भनिन्, ‘सञ्चालक पक्राउ पर्दै गर्दा गैरकानुनी रूपमा सहकारीबाट रकम लिनेहरूलाई पनि कारबाही हुनुपर्‍याे ।’

उनले कांग्रेस बजेटमाथिको छलफल रोक्न चाहँदैन भन्दै तर, भोलिसम्ममा छानबिन समिति गठन नभए सदन अवरुद्ध भएको जिम्मा स्वयं प्रधानमन्त्रीले लिनुपर्ने चेतावनी दिइन् । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले हिजोको संसद् बैठकपछि सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा व्यक्त धारणाप्रति पनि आपत्ति जनाइन् । 

‘बाहिर गएर हिजो गृहमन्त्रीले कांग्रेसले चार वर्ष संसद् अवरोध गरोस्, हामी सरकार चलाइरहन्छौँ भन्नुभयो । प्रश्न गर्न चाहन्छु, सदन अवरुद्ध भइरहँदा कसरी चल्छ सरकार ? गृहमन्त्रीले यस्तो गैरजिम्मेवार भनाइ दिन मिल्छ ?’ उनले भनिन् ।  

बालकुमारी घटना हुँदा उफ्री–उफ्री छानबिन आयोग खोज्ने रवि लामिछानेले अहिले नैतिकता नदेखाएको उनको भनाइ थियो । ‘उहाँहरू हिजो प्रतिपक्षी हुनुहुन्थ्यो । बालकुमारी घटना हुँदा आयोग गठन हुनुपर्‍याे भनेर यही संसदमा उफ्री–उफ्री कराइरहनुभएको थियो,’ उनले भनिन्, ‘आज छानबिन समिति गठन गरौँ भन्दा किन आपत्ति मान्नुपर्‍याे ।’ 

उनले लामिछाने पटकपटक विवादमा परेको र जहिले पनि गृहमन्त्री नै खोज्नुको कारण के हो ? भन्दै प्रश्न गरिन् । ‘पहिलोपटक पनि विवादमा घेरिनुभएको थियो । अहिले पनि विवादमा पर्नुभयो । उहाँलाई बुर्लुक्क उफ्रिएर गृह मन्त्रालय नै किन चाहिएको हो ?’ सांसद न्यौपानेले भनिन्, ‘किनभने हिजो नागरिकताको विषय मिलाउनु थियो, अहिले सहकारीको ठगी मिलाउनु छ ।’ 

उनले गृहमन्त्रीलाई जोखो देखाउन प्रधानमन्त्रीले न्यायाधीश जसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् ।