१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
गगन अयडी बाजुरा
२०८० चैत ४ आइतबार १३:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

त्रिवेणी नगरपालिकाको किम्नीमा सडक निर्माण सुरु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० चैत ४ आइतबार १३:१०:००

बाजुराको त्रिवेणी नगरपालिका– ५ किम्नीमा सडक निर्माण कार्य सुरु भएको छ। गाउँमा सडक आउने भएपछि सडकको सहज पहुँचमा नरहेका किम्नीवासी खुसी भएका छन्।

गाउँमा सडक पुग्ने भएपछि स्थानीय स्तरमा उत्पादन भएको फलफूल, तरकारी तथा अन्य आद्यान्न बजारसम्म लैजान सहज हुने भएकाले उत्साही भएको स्थानीय गम्भीर बुढाले बताए।

किम्नीमा सडकको पहुँच नहुँदा गर्भवती महिला, वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान कठिनाइ हुने गरेको थियो। चार घण्टाको पैदल यात्रापछि मात्रै गाडी चढ्नुपर्ने अवस्थामा स्थानीय छन्।

यस वर्ष नगरपालिकाले गाउँमै सडक पुर्‍याउने उद्देश्यले सडक निर्माण कार्य सुरु गरेको छ। सोमबार त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले सेरा–किम्नी सडकको शिलान्यास गरेका हुन्। सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले नगरपालिकाका नाैवटा वडामध्ये आठवटा वडामा सडक पुगे पनि भौगोलिक कठिनाइका कारण वडा नं ५ किम्नीमा अहिलेसम्म सडक लैजान नसकिएको बताए। यस वर्ष भने किम्नीमा सडक पुर्‍याउने नगरपालिकाको उद्देश्य रहेको उनले प्रस्ट पारे।

सेरा–किम्नी सडक सात किलोमिटर रहेको छ। भौगोलिक हिसाबले विकट त्रिवेणी– ५ मा ३५० भन्दा बढी परिवार संख्या रहेको छ।