१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ४ आइतबार ०८:३९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पर्यटनको राजधानी घोषणासँगै पोखरा २४सै घण्टा खुला रहने

Read Time : < 1 मिनेट
२०८० चैत ४ आइतबार ०८:३९:००

पर्यटकीय नगरी पोखरालाई आइतबार पर्यटनको राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् । फेवाताल किनारस्थित बाराहीघाटमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भएका हुन् । घोषणाअघि वसुन्धरा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली निकालिने भएको छ ।

घोषणा कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मानसँगै कलाकारको विशेष प्रस्तुतिसमेत रहने भएको छ । वरिष्ठ साहित्यकार प्रा.डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय हर्क गुरुङ र ‘पोखरा त साँच्चिकैको पोखरा’ गीतका रचनाकार, गायक, संगीतकार स्व. प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिने भएको छ ।

पर्यटकीय राजधानी घोषणासँगै पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए । उनका अनुसार व्यवसाय हेरेर केहीलाई राति १ बजेसम्म र केहीलाई २४सै घन्टा खुला गर्न दिने निर्णय बैठकले गरेको हो । 

क्षत्रीका अनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ । डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन् । यसका लागि व्यवसायीहरूले ध्वनि प्रदूषण हटाउनुपर्ने, आन्तरिक सुरक्षाको व्यवस्था, सिसिक्यामेरा, स्मोकिङ जोन छुट्याउनेलगायतका स्थान व्यवस्था गर्नुपर्नेछ । पहिलो चरणमा ड्यामसाइट हँुदै लेकसाइड क्षेत्र, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, नागढुंगा, मुस्ताङ चोक, विरौटा, राष्ट्र बैंक चोक, ड्यामसाइटलगायतका स्थान २४सै घन्टा खुला राख्ने निर्णय बैठकले गरेको क्षत्रीले जानकारी दिए ।