१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एकीकृत समाजवादी काभ्रे जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार बनेपामा सम्बोधन गर्दै अध्यक्ष माधव नेपाल । तस्बिर : रासस
प्रेम गौतम काठमाडाैं
२०८० चैत ४ आइतबार ०६:३८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ गठबन्धनप्रति नेपाल किन असन्तुष्ट ?

आफूलाई थाहै नदिई प्रचण्ड र ओलीले नयाँ गठबन्धन बनाएपछि सार्वजनिक रूपमै निरन्तर असन्तुष्टि जनाइरहेका नेपाल दुवै नेतामाथि दबाब बनाएर समझदारी कार्यान्वयनका लागि बाध्य पार्ने रणनीतिमा, कांग्रेससँग सुमुधर सम्बन्ध राखेर सम्भावित नयाँ समीकरणको ढोका पनि खुला

Read Time : > 4 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० चैत ४ आइतबार ०६:३८:००

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नयाँ सत्तागठबन्धनमा जोडिएर सरकारमा समेत सहभागी भइसकेको छ । तर, अध्यक्ष नेपाल गठबन्धनप्रति विश्वस्त भइरहेका छैनन् । नयाँ सत्ता समीकरणको सुरुवातमा थाहा नदिएको भन्दै नेपालले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् । र, उनले गठबन्धनको भविष्यलाई लिएरसमेत प्रश्न उठाउँदै आएका छन् । 

गठबन्धनको एक साझेदार दल भए पनि प्रचण्डले जानकारी नै नदिई नयाँ समीकरण बनाएकोमा नेपाल रुष्ट छन् । ‘यो गठबन्धन र यसमा सामेल दलहरू कहिलेसम्म रहिरहन्छन् भन्ने गम्भीर प्रश्न खडा भएको छ । रातारात गठबन्धन परिवर्तन गर्ने आवश्यकता किन पर्‍यो ? नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको कुनै औचित्य छ कि छैन ? कुनै भूमिका, महत्व छ कि छैन ?’ काभ्रेमा पार्टीको जिल्ला अधिवेशनमा शनिबार नेपालले भने । 

२१ फागुनमा सुरुमा चार दलीय नयाँ गठबन्धन निर्माणयता नै प्रायः प्रत्येक कार्यक्रममा नयाँ समीकरणप्रति नेपालले शंका गर्दै आएका छन् । एकीकृत समाजवादीबाट हाल सरकारमा दुई मन्त्री छन् । २१ फागुनमा चार दलका समीकरण बने पनि एकीकृत समाजवादी २९ फागुनमा मात्र समीकरणमा जोडिएको हो । 

शुक्रबार मात्रै नेपालले नयाँ गठबन्धनप्रति विश्वास र शंका दुवै रहेकाले अहिले शंकाको लाभ दिने पक्षमा आफ्नो पार्टी उभिने बताएका थिए । ‘हामीले ब्लाइन्ड सपोर्ट गर्ने पनि होइन, ब्लाइन्ड विरोध गर्ने पनि होइन, बेनिफिट अफ डाउट दिएर अघि बढ्नुपर्छ,’ पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै नेपालले भने, ‘नयाँ समीकरण स्वीकार्य छ । तर, जालझेल र षड्यन्त्र भने स्वीकार्य हुँदैन । हामीलाई कुनै पद ओगटेर बस्नु छैन । प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि चाहिएको होइन, देशको प्रगति र परिवर्तन चाहिएको हो ।’

आखिर नेपाल किन नयाँ समीकरणप्रति विश्वस्त छैनन् ? प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको विगतको कार्यशैलीले नेपाललाई झस्काएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाको दाबी छ । ‘नयाँ गठबन्धनप्रति विश्वसनीय वातावरण अझै बनिनसकेको अवस्था छ । त्यसैले सहकार्य गर्दागर्दै पनि हिजोको व्यवहारले झस्काउने ठाउँ छ । त्यही कारण अध्यक्षको अभिव्यक्ति आएको हुन सक्छ,’ उनले भने ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले ओली र प्रचण्डमा धोका दिने प्रवृत्ति भएकाले विश्वासको वातावरण बन्न नसकेको बताए । ‘ओली र प्रचण्डले हिजोका दिनमा थुप्रै सहमति गरेर धोका दिनुभयो । भोलिको दिनमा पनि धोका हुँदैन भन्ने ग्यारेन्टी छैन,’ उनले भने ।

नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्नेमा एकीकृत समाजवादीको सचिवालय बैठक विभाजित भएको थियो । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल वाम एकताका लागि अपरिहार्य भन्दै तत्काल नयाँ गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा थिए । उपमहासचिव जगन्नाथ खतिवडासहित नेता यो समीकरणमा सहभागी हुन नहुने पक्षमा थिए । 

अध्यक्ष नेपालले भने ओली र प्रचण्डले घरमै आएर सहकार्यको प्रस्ताव गरेकाले सजिलो भएको बताएका थिए । यद्यपि, नयाँ गठबन्धनलाई रास्वपाले धोका दिने डरले ओली र प्रचण्ड नेपाललाई फकाउन कोटेश्वर पुगेको एकीकृत समाजवादीका नेताहरू दाबी गर्छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि वैकल्पिक गठबन्धन बनाउन भन्दै नेपालनिवास कोटेश्वर पुगेका थिए । 

एकातिर गठबन्धनप्रति असन्तुष्ट नेपाल कांग्रेसलाई नचिढ्याउने रणनीतिमा छन् । ‘भोलि फेरि मिलेर जानुपर्ने हुन सक्छ । त्यसैले कांग्रेसको विरोध गरिहाल्ने स्थिति छैन,’ सरकारमा सहभागी भइसकेपछि गत २६ फागुनमा अनेमसंघ समाजवादीले आयोजना गरेको कार्यक्रममा नेपालले भनेका थिए । 

शनिबार रौतहट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपालले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘जो संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ, त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन । विचारमा द्वन्द्व चल्छ, कांग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ । कांग्रेसविरुद्ध संघर्ष पनि हुन्छ,’ उनको भनाइ थियो, ‘तर, कहिलेकाहीँ सहकार्य पनि हुन्छ । संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन । हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो, थोरै शत्रु किटान गर्ने हो ।’ 

ओली र प्रचण्डको व्यवहारप्रति नेपाल विश्वस्त भइसकेका छैनन् । ‘ओली र प्रचण्डप्रतिको शंकाभाव धेरै भयो । रास्वपाले धोका दिने डरले मात्रै ओली र प्रचण्ड कोटेश्वर आएका हुन् । नेताहरूबीच अविश्वास अझै छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘विश्वसनीय वातावरण अझै बनिनसकेको, सहकार्य गर्दागर्दै पनि हिजोको व्यवहारले झस्काउँछ नै । ओलीले विगतमा धेरै सहमति गरेर धोका दिएका छन् । प्रचण्डले पनि धोका दिएकै छन् ।’ 

कांग्रेससहितको अघिल्लो गठबन्धनमा प्रचण्डपछि नेपाल प्रधानमन्त्री बन्ने सहमति थियो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे तीन नेताबीच लिखित सहमति रहेको दाबी गर्छन् । सहमतिअनुसार अबको केही महिनापछि प्रधानमन्त्री बन्ने पालो नेपालको थियो । त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति थियो । 

तर, नेपाल थाहै नदिई नयाँ समीकरण बनाएपछि प्रचण्डप्रति नेपाल असन्तुष्ट छन् । प्रचण्डले अघिल्लो वर्षको १० पुसमा पनि नेपाललाई थाहै नदिई एमालेसहितको गठबन्धन बनाएका थिए । त्यतिवेला एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्तावसमेत गरिएको थिएन । ओलीले एमाले र नेकपा कालमा धेरै सहमति गरेर धोका दिएको नेपालको मानसपटलमा ताजै छ । 

‘प्रधानमन्त्री प्रचण्डसँग ४० वर्षदेखिको सम्बन्ध रहेको छ । संकटको वेलामा पनि हामी साथी थियौँ । केपी ओलीसँग पनि ५० वर्षदेखि सम्बन्ध रहिआएको हो । अब पुराना कुरा बिर्सौँ, नयाँ ढंगले अगाडि बढौँ भनेर हामीलाई प्रस्ताव राखिसकेपछि देशमा स्थिरता कायम गर्ने, फेरि बीचमै देश चुनावमा नजाओस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्ने भएकाले नयाँ गठबन्धन, नयाँ सहकार्यलाई स्वीकार गरेर अगाडि बढिरहेका छौँ,’ नेपालले शनिबार काभ्रेमा आयोजित कार्यक्रममा भने । 

ओली, प्रचण्ड र नेपालबीच प्रधानमन्त्री आलोपालोको भद्र सहमति भएको कतिपयको दाबी छ । लिखित सहमतिसमेत कार्यान्वयन नभएको अवस्थामा भद्र सहमति कार्यान्वयन हुनेमा नेपाल आफैँ आश्वस्त छैनन् । ‘हामीले पदलाई महŒव दिएनौँ । जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ । त्यसका लागि परिवर्तनकारी शक्तिहरू, समाजवादी शक्तिहरू मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ,’ उनले भनेका छन् । 

एकीकृत समाजवादीका नेताहरू ओली र प्रचण्डले नेपाललाई धेरैपटक धोका दिएको दाबी गर्छन् । प्रचण्डले पहिलो संविधान सभा निर्वाचनपछि नेपाललाई राष्ट्रपति बनाउने वचन दिएर धोका दिए । गत वर्षको १० पुसमा नेपाललाई थाहै नदिई पुरानो गठबन्धन तोडेर एमालेसहित नयाँ गठबन्धन गरेर दोस्रोपटक धोका थिए । अहिले फेरि सुइँकोसमेत नदिई नयाँ गठबन्धन गरेर धोका दिए । ‘एउटै समाजवादी मोर्चामा रहेको अवस्थामा नेपाललाई थाहै नदिई नयाँ गठबन्धन गर्ने प्रचण्डले फेरि गठबन्धन तोड्दैनन् भन्ने के छ ?’ चौधरीले भने । 

ओलीले एमाले कालमा थुप्रै सहमति गरेर धोका दिएको एकीकृत समाजवादीका नेताहरूको दाबी छ । मिलेर जाने भनेरै ०७० को निर्वाचनपछि संसदीय दलको नेतामा ओलीलाई नेपालले नै समर्थन गरेका थिए । नेपालले ओलीलाई समर्थन गरेकोमा घनश्याम भुसालले असहमति नै जनाएका थिए । त्यसपछि पनि राजनीतिक नियुक्ति र नेता व्यवस्थापनमा ओलीले एकलौटी गरेर नेपाललाई धोका दिएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् । 

एकीकृत समाजवादी उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गर्दा ओली र देउवा मिले तपाईंको हालत के हुन्छ भनेर प्रचण्डलाई चेतावनी दिएका थिए ।  प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई जवाफ फर्काएका थिए, ‘तपार्इंहरूलाई गठबन्धनमा सहज छैन भने भन्दिए भइहाल्यो नि ! विगतको गठबन्धनभित्रका कचिंगलले आजित र हैरान पारेर यता आएको छु । फेरि त्यस्तै हुने हो भने त्यस्तै वातावरण बन्ला कि भन्ने चिन्ता भएको छ । आफ्नो नीति र मूल्य–मान्यताअनुसार देश र जनताको सेवा गर्न हामी सबै स्वतन्त्र छौँ । यहाँ कसैले दबाब दिएर हुने हो र ?’