१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पक्राउ परेका १० बैंकर हाजिर जमानीमा छुटे

दोस्रो चरणको अनुसन्धान सकिएपछि मात्रै अभियोजन पत्र तयार गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२६:oo

कमसल धितो राखी ऋण प्रवाह गरेको भन्दै पक्राउ परेका तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । पहिलो चरणको अनुसन्धान पूरा भए पनि दोस्रो चरणको अनुसन्धान बाँकी रहेकाले उनीहरूलाई हाजिर जमानीमा छाडिएको हो । 

प्रहरीले उनीहरूलाई १५ फागुनमा पक्राउ गरेको थियो । यस क्रममा प्रहरीले घटना सम्बन्धमा प्रारम्भिक चरणको अनुसन्धान गरेको थियो । दोस्रो चरणको अनुसन्धान भने प्रहरीले नेपाल राष्ट्र बैंकको विज्ञ समूहसँग मिलेर सुरु गरेको छ । दोस्रो चरणको अनुसन्धान सक्न अझै दुई साता लाग्नेछ । त्यसपछि मात्रै मुद्दाको अभियोजन पत्र तयार हुनेछ । यस अवधिसम्म पक्राउ परेका अभियुक्तलाई हिरासतमा राख्न उपयुक्त नहुने भएको हुँदा हाजिर जमानीमा छाडिएको नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘कमसल धितोमा ऋण प्रवाह गरेको घटनामा १० जना पक्राउ परेका थिए । पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । जसमा सिआइबी र राष्ट्र बैंकको टोली सहभागी छन् । यो अनुसन्धान सक्न अझै दुई साता लाग्छ । त्यस अवधिसम्म अभियुक्तलाई थुनामा राख्न उपयुक्त नदेखिएकाले उनीहरूलाई हाजिर जमानीमा छाडिएको हो,’ उनले भने । सिआइबीका अनुसार दोस्रो चरणको अनुसन्धानमा उनीहरूलाई पुनः पक्राउ गरी अदालतमा पेस गरिनेछ ।

होविन्द्र बोगटी
प्रवक्ता, सिआइबी

कमसल धितोमा ऋण प्रवाह गरेको घटनामा १० जना पक्राउ परेका थिए । पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान सुरु भएको छ । जसमा सिआइबी र राष्ट्र बैंकको टोली सहभागी छन् । यो अनुसन्धान सक्न अझै दुई साता लाग्छ । त्यस अवधिसम्म अभियुक्तलाई थुनामा राख्न उपयुक्त नदेखिएकाले उनीहरूलाई हाजिर जमानीमा छाडिएको हो ।

घटनामा संलग्न रहेको भन्दै सिआइबीले न्यौपानेसहित तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सिइओ तुलसी गौतम, कर्मचारीहरू राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनील बस्नेतलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले तत्कालीन सेन्चुरी बैंकबाट देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको विभिन्न कम्पनीको नाममा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरिदिएका थिए । त्यसबापत उनीहरूले एक अर्ब १४ करोड २३लाख ८४ हजार २५८ रुपैयाँ मूल्यबराबरको मात्रै जग्गा धितो राखेका थिए । न्यौपाने त्यसवेला पनि सेन्चुरीको डेपुटी सिइओ थिए । 

सेन्चुरीले त्यसवेला देउराली सहकारीका अध्यक्ष चौलागाईंको नाममा रहेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ, अन्नपूर्ण डिस्टिलरीको नाममा कर्जा प्रवाह गरेको थियो । ‘दोस्रो चरणको अनुसन्धानका क्रममा उनीहरूलाई पुनः पक्राउ गरिनेछ । अहिले उनीहरू बिहान १० बजे सिआइबी कार्यालय आउँछन् । हाजिर गर्छन्, जान्छन् । यसले अनुसन्धानमा कुनै असर गर्दैन । दोस्रो चरणको अनुसन्धान सकिनासाथ उनीहरूलाई पक्राउ गरिनेछ । र, अदालतमा हाजिर गरिनेछ,’ सिआइबीका प्रवक्ता एसपी बोगटीले भने ।

ad
ad