१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत २ शुक्रबार ०७:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न ट्राफिक प्रहरीको विशेष अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत २ शुक्रबार ०७:३१:००

काठमाडौं उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको सुरुवात गरेको छ । यात्रुका लागि सुरक्षित, विनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान–०८० सुरु गरेको हो ।

यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखेको छ वा छैन ? ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिका लागि आरक्षित सिट पालना भएको छ वा छैन ? लगायतका विषयमा अनुगमन गरी कार्यान्वयन गर्नका लागि अभियान थालिएको कार्यालयले जनाएको छ ।

अभियानका क्रममा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुव्र्यवहार, भाडाका सवारीसाधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राइड सेयर गरेकोलगायत विषयमा पनि अनुगमन हुने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा नियम कार्यान्वयन गरेको नपाइए आवश्यक कारबाही गरिने उनले बताए ।

उक्त अभियान पहिलो चरणमा यही १४ चैतसम्म सञ्चालन गरिनेछ । अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोसाकमा खटाइने र आवश्यकतानुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

पहिलो दिनको अनुगमनका क्रममा सवारीसाधनमा भाडादर नराख्ने दुई सय १७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ वटा र बढी भाडा लिने दुई गरी जम्मा तीन सय तीनवटा सवारीसाधनका चालकलाई कारबाही गरिएको पनि उनले बताए ।