Skip This
समितिको सुझाव तत्काल कार्यान्वयन गर्न बागमती सरकारलाई प्रदेश सभाको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३० बुधबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर ।
२o८o फाल्गुण ३० बुधबार २२:२६:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

समितिको सुझाव तत्काल कार्यान्वयन गर्न बागमती सरकारलाई प्रदेश सभाको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ३० बुधबार २२:२६:oo

बागमती प्रदेश सभाको बुधबार बसेको बैठकले बागमती प्रदेशमा देखिएको बजेटमाथिको विवाद समाधानका लागि गठित विशेष समितिले दिएको सुझाव तत्काल कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

मंगलबारको प्रदेश सभा बैठकमा पेस भएको बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको उक्त सुझावसहितको प्रतिवेदनमाथि बुधबारको बैठकमा छलफल भएको थियो । छलफलमा कांग्रेसका सांसद मदुकुमार श्रेष्ठ, एमालेका सांसद केशवप्रसाद पोखरेल, भरतबहादुर केसीलगायतकाले भाग लिएका थिए ।

छलफलपछि प्रदेश सभामुख भुवनकुमार पाठकले प्रतिवेदनलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । 

प्रतिवेदन पारित भएसँगै उक्त प्रतिवेदनमा उल्लेख भएका विषय तथा बजेट कार्यक्रमहरू प्रदेश सरकारलाई कार्यान्वयन गर्न सभामुखले निर्देशनसमेत दिएका थिए ।

बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको उक्त सुझावसहितको प्रतिवेदन प्रदेश सभाको बैठकबाट सर्वसम्मत पारित भएसँगै विपक्षी दलका योजनाहरू समेट्दै प्रदेश सरकारले बजेट विनियोजन गरी कार्यान्वयन गर्नेछ ।

यसअघि प्रतिवेदनमाथिको छलफलमा भाग दिँदै सांसदहरूले समितिको सुझाव कार्यान्वयन गर्दा बजेट निर्माणका वेला भएका त्रुटिहरूलाई सच्याउन सकिने बताएका थिए । 

संसदीय समितिको सुझावसहितको प्रतिवेदनले सरकारले सन्तुलित रूपमा विकास बजेट विनियोजन नगर्दा समस्या भएको र समितिले त्यसलाई सुधार गरेर सरकारलाई मार्गनिर्देश गरेको उनीहरूको भनाइ थियो ।

यस्तै, सांसदहरूले अबका दिनमा यसलाई सिकाइको रूपमा लिनुपर्ने उल्लेख गर्दै सरकारले बजेट निर्माण गर्दा पक्ष वा विपक्ष नभनी समानुपातिक रूपमा प्रदेशका नागरिकका गुनासाहरू सम्बोधन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।

चैतबाटै विपक्षीको योजना समेट्न सुझाव 
विशेष समितिले बागमती प्रदेशमा देखिएको बजेटमाथिको विवाद समाधानका लागि गठित बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले रकमान्तर गरेर भए पनि चैतबाटै विपक्षीको योजना समेट्न सुझाव दिएको छ ।

१७ फागुनमा गठन भएको संसदीय विशेष समितिले उक्त प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको हो ।

समितिले प्रतिवेदनमार्फत विपक्षी दलहरूका तर्फबाट पेस भएका आयोजनालाई सम्बन्धित मन्त्रालयले बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने र आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने निर्देशन दिएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयले उल्लेखित आयोजनमा अर्थ विविध वा अन्य उपयुक्त शीर्षकअन्तर्गतको पुँजीगततर्फको बजेटबाट रकमान्तर गर्ने व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

अर्को सूचना नभएसम्म प्रदेश सभा स्थगित
बागमती प्रदेश सभाको बुधबारको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक २० मिनेट ढिला गरी सुरु भएको थियो ।

उक्त बैठक १५ मिनेट बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका हुन् । 

बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पारित गर्दै प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।