
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकमा बनाइएका भौतिक संरचना हटाउन थालेको छ। नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रको मदन चोकमा बनेका २२ वटा सटर हटाउन डोजर प्रयोग गरेको हो।
महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा बसपार्क–क्याम्पस रोड–मदन चोक क्षेत्रमा रहेका ती सटर हटाउन डोजर प्रयोग गरिएको हो। उक्त सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीलाई विकल्प दिने गरी नगरपालिकाले सटर खाली गराएको थियो।
क्षेत्रीय सहरी विकास योजनामार्फत बजार क्षेत्रमा निर्माण भइरहेको आधुनिक सडक र ढलको काम रोकिएको ती संरचनाका कारण थियो। उक्त संरचना हटाएसँगै अब मदन चोक क्षेत्रमा थप सौन्दर्य थपिने नगरपालिकाको अपेक्षा छ।
भीमदत्त नगरपालिकाभित्र कब्जा गरिएका सार्वजनिक जग्गामा बनेका सबै संरचना हटाउने नगरप्रमुख पदम बोगटीको भनाइ छ। पालिकामा अवैध रूपमा कब्जा भएका जमिनको तथ्यांक संकलनको काम भइरहेको उनले जानकारी दिए।
‘अब एडिबीको परियोजनाका बाँकी काम पनि सुचारु हुनेछ,’ उनले भने, ‘यो क्षेत्रमा रहेका सबै पसल व्यापारीलाई अन्यत्र व्यवस्थापन गरिसकेको छ, उहाँहरूले उक्त नयाँ ठाउँबाट आफ्नो व्यापार पनि सुरुवात गरिसक्नुभएको छ।’