१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०६:५०:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता : माओवादीका दाहाल र कांग्रेसका शर्मा प्रतिस्पर्धामा

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०६:५०:००

राष्ट्रिय सभा अध्यक्ष चुन्न मंगलबार हुने निर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता हुँदै छ । आइतबारै पाँचदलीय सत्तागठबन्धन र प्रतिपक्षी कांग्रेसले उम्मेदवार तय गरिसकेका छन् । माओवादीले गठबन्धनको साझा उम्मेदवारको रूपमा केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेसले युवराज शर्मालाई प्रतिस्पर्धामा उतार्ने भएको हो । 

संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका छ । निवर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । रिक्त पद पूर्तिका लागि निर्वाचन हुन लागेको हो । 

‘राष्ट्रिय सभाका कुनै सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिने समय सोमबार ११ देखि १ बजेसम्मलाई संसद् भवनको ल्होत्से हलमा तोकिएको छ,’ संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भने । उनका अनुसार सोमबार नै १:३० बजे सचिवालयले उम्मेदवारको सूची प्रकाशन गर्नेछ । 

एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । चितवनको भरतपुरबाट प्रतिनिधित्व गर्ने दाहाल ०७८ चैतमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । पाँचदलीय गठबन्धनमा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले लिने सहमति छ । वर्तमान उपाध्यक्ष उर्मिला अर्याल माओवादीबाट अध्यक्षको दाबेदार थिइन् । लुम्बिनीबाट हालै निर्वाचित झक्कु सुवेदी पनि दाबेदार थिए । तर, माओवादी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बैठकपछि पार्टी सचिव चक्रपाणि खनालले भने, ‘पदाधिकारी बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । झक्कु सुवेदी, उर्मिला अर्याललगायतको नाम पनि आएको थियो, तर दाहाललाई नै उम्मेदवार बनाउने पक्षमा निर्णय भयो ।’ 

उता कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमतिका साथ नेता कृष्णप्रसाद सिटौलालाई कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित गराएको थियो । तर, पुरानो सत्तासमीकरण बदलिएसँगै माओवादी र कांग्रेस फरक कित्तामा पुगेपछि कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको हो । बाँकेबाट प्रतिनिधित्व गर्ने शर्मा २१ फागुन ०७८ मा लुम्बिनीबाट निर्वाचित भएका थिए । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रहेका सिटौलाले पार्टीले अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । 

संसद् सचिवालयका अनुसार निर्वाचनको दिन मंगलबार ११ बजेर ९ मिनेटमा संसद् बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने कार्यसूची छ । त्यस्तै, एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त हुन आए संक्षिप्त छलफल हुनेछ भने प्रस्तावलाई दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पाण्डेयले जानकारी दिए । 

प्रधानमन्त्रीलाई भेटेर सिटौलाले गरे धोका पाएको गुनासो 
राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्दै अघिल्लो गठबन्धनबाट निर्वाचनमा उठाएर विजय गराइएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै आफूमाथि धोका भएको गुनासो राखेका छन् ।  महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर बालुवाटार पुगेका सिटौलाले जानकारी नै नदिई आश्चर्यजनक रूपमा समीकरण बदल्नु धोका भएको भन्दै  असन्तुष्टि पोखेका हुन् । 

‘राष्ट्रिय सभा अध्यक्ष बनाउने भनेर तपाईंले नै मलाई कोशीबाट सदस्यमा ल्याउन जोडबल गर्नुभयो । अहिले कुनै जानकारी नदिई गठबन्धन फेरेर धोका दिनुभयो,’ प्रचण्डसमक्ष सिटौलाको गुनासो थियो । १७ फागुनमा उपसभापति पूर्णबहादुर खड्कासहित भेटेका सिटौलालाई प्रचण्डले तपाईं नै अध्यक्षको उम्मेदवार हो भनेका थिए । 

‘१७ गते भेट्दासम्म कुनै कुरा थिएन । तर, अचानक तीन चार दिनपछि उहाँले गठबन्धन तोड्नुभयो । सबै कुरा फेर्नुभयो । त्यसले हाम्रो पार्टीलाई धोका भयो । हामीलाई जे वचन दिनुभएको थियो, पूरै आश्चर्यचकित धोका भयो, यसरी सधैँ धोका दिएर त राजनीति चल्दैन होला नि, गलत गर्नुभयो तपाईंले, कुनै दिन आएर गल्ती स्विकार्ने अनि पछुताउनुबाहेक केही हुँदैन, किन यसो गर्नुभयो भनेर सीधा प्रश्न राखेँ,’ सिटौलाले भने, ‘उहाँले यस्तै भयो, के गर्ने ? जे होला पछि रियलाइज गरौँला भन्नुभयो ।’  

प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिने
नयाँ सत्तासमीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विश्वासको मत लिने भएका छन् । यसबारे प्रधानमन्त्री कार्यालयले आइतबार संसद सचिवालयमा पत्राचार गरिसकेको छ । ‘३० गते विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संसद सचिवालयमा पत्राचार भएको छ,’ सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने । आइतबारै बसेको माओवादी पार्टी पदाधिकारी बैठकले पनि प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिने औपचारिक निर्णय गरेको । 

‘विश्वासको मत ३० गते (बुधबार) लिने नै भन्ने छ, त्यो प्रक्रियामा छ,’ पदाधिकारी बैठकपछि सचिव चक्रपाणि खनालले भनेका थिए । माओवादी प्रवक्ता अग्नि सापकोटाले पनि बुधबारै विश्वासको मत लिने समझदारी पाँचदलीय गठबन्धनमा बनेको बताएका थिए । 

कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री दाहालले २१ फागुनमा एमालेसहितको पाँचदलीय गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी छन् ।