१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २७ आइतबार २०:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुइँमान्छेले महसुस गर्ने गरी काम गर्छु– कानुनमन्त्री गिरी

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २७ आइतबार २०:२०:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विगतको एक डेढ वर्षमा नेपाली जनताले चरम निराशा र बेरोजगारी भोग्नुपरेको बताएका छन्।
गिरीले महिला, युवा तथा व्यवसायी सबैमा रहेको निराशालाई चिर्ने अभिभारा यो सरकारलाई आइपरेको भन्दै सरकारले त्यसलाई पूरा गर्ने पनि बताएका छन्। 

रूपा गाउँपालिकाको स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री गिरीले रोजगारी अभावमा युवा विदेश पलायन भइरहेको धारणा राखेका हुन्। 

‘आज नेपाली युवाहरू देशभित्र रोजगारी नपाएर विदेश पलायन भएको अवस्था छ। यो अत्यन्तै  कहालीलाग्दो र चिन्ताजनक छ। म तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु, अब नेपाली युवाहरूमा विदेशतिर पलायन हुने होइन, यही देशभित्र रोजगारी सिर्जना गर्ने, यही देशभित्र मेरो भविष्य छ भनेर आमजनतालाई विश्वास दिलाउने काम हामीले गर्नुपर्नेहुन्छ,’ गिरीले भने।

उनले नेपालमा छोटोछोटो समयमा सरकार परिवर्तन हुने गरेको तथ्य स्मरण गर्दै यसमा विभिन्न शक्तिहरूको चलखेल रहने गरेको दाबी गरे।
‘हाम्रो देशमा भएको राजनीतिक अस्थिरता, वर्ष दिन पनि नपुग्दै सरकार परिवर्तन हुने गर्दा पनि हाम्रो विकास निर्माणका काम अवरुद्ध भएका छन्। हामीले जुन ढंगले विकासको गतिलाई अगाडि लानुपर्थ्यो, लान सकेका छैनौँ। यो यथार्थ हो,’ उनले भने। 

उनले प्राप्त जनादेशले पनि सरकारलाई आफ्नो काम गर्न सजिलो नभएको बताए। ‘एउटै पार्टीले बहुमत प्राप्त नगर्ने ,एउटै पार्टीले पाँच वर्ष काम गर्न पनि नपाउने अवस्थाले पनि समस्या निम्त्याएको छ। एउटा पार्टीले सरकार बनाउँदा एउटा काम सुरु भएको हुन्छ अनि अर्को सरकार आएपछि त्यो काम छोडेर, अर्को काममा प्रवेश गर्छ, जसले गर्दा हाम्रो राज्यका अर्बौं रुपैयाँको लगानीहरू बालुवामा पानी हालेजस्तो खेर गइरहेको छ,’ उनले चिन्ता व्यक्त गरे।

मन्त्री गिरीले विगत एक वर्ष पट्यार लाग्दो भएको दाबी गर्दै जनतामा चरम निराशा बढेको र आत्मविश्वास गुमाएको अवस्थामा रहेको जिकिर गरे । यसैले विचार मिल्ने दलहरूबीच नयाँ गठबन्धन बनेको पनि उनले चर्चा गरे।
‘विगतमा जुन गठबन्धनको सरकारहरू बनेका थिए । उनीहरूका विचारहरू मिल्दैन थिए, व्यवहारहरू मिल्दैन थिए । सोचहरू मिल्दैन थिए। कसैले उचाल्दिएको, कसैले मिलाइदिएको सरकारले यो देशको राजनीतिक समस्याको समाधान गर्ने, सुशासन र समृद्धिको बाटोमा लिएर जाने सम्भावना थिएन। त्यही कारण विगत अत्यन्त कष्टकर भयो, अत्यन्तै निराशाजनक भयो, असाध्यै पट्यारलाग्दो भयो,’ उनले भने। 

अब त्यस्तो अवस्था नआउने दाबी गर्दै उनले जनतालाई विश्वस्त हुन आग्रह गरे। ‘अब त्यस्तो अवस्था रहँदैन। युवाहरूले यही देशमा रोजगारी र स्वरोजगारी ;लर्जना गर्ने गरी हामीले कार्यक्रम लिएर आउनेछौँ। धराशयी भएको अर्थतन्त्रलाई माथि उठाउने गरी ठोस कार्यक्रम लिएर आउनेछौँ,’ उनले भने। 

उनले युवालाई अवसर दिनुपर्ने नीतिअनुसार पार्टीले आफूलाई सरकारमा पठाएको बताउँदै विगतमा छोटो समय स्वास्थ्यमन्त्री हुँदा काम गर्ने समयमा सरकार छाड्नुपरेको स्मरण गरे। अब भने कानुनमन्त्रीका रूपमा पाएको जिम्मेवारीलाई भुइँमान्छेले महसुस गर्ने गरी पूरा गर्ने बताए। 

‘आज कानुनमन्त्रीको रूपमा नयाँ जिम्मेवारी प्राप्त गरेको छु। मलाई राम्रोसँग थाहा छ देशको विकास एउटा राम्रो बाटोले मात्रले हुँदैन, दुई चारवटा खानेपानीका धाराले हुँदैन। दुई–चारवटा अस्पताल बनाउँदैमा पनि देश बन्दैन। देश बन्नका लागि असल नीति बन्नपर्छ। अत्यन्तै गरिब भुइँमान्छेका हितमा कानुन बनाउनुपर्नेछ,’ मन्त्री गिरीले भने, ‘पारदर्शिता र सुशासनका निम्ति चाहिने कानुनहरू बनाउनुपर्नेछ। सार्वजनिक हितका निम्ति काम गर्नुपर्नेछ। त्यो काम गर्नका निम्ति मैले रातभरि नसुतेर भए पनि खट्नेछु, मेरो टिम खट्नेछ। यो  नेपालको इतिहासमा कानुन मन्त्रालयको तर्फबाट सबै जिम्मेवारी पूरा गरेको थियो भनेर आमजनताले भन्न सक्ने गरी म काम गर्नेछु।’