एकपटक महाराज रणजित सिंह कतै जाँदै थिए । अचानक कतैबाट बत्तिएर आएको एउटा इँटाको ठूलै टुक्रा उनको खुट्टामा लाग्यो । उनले आफूमाथि कसले किन इँटा प्रहार गर्यो भन्ने अनुमान लगाउन सकेनन् । सिपाहीले चारैतिर हेर्दा एक वृद्धा देखे । उनीहरूले तिनैलाई गिरफ्तार गरी महाराजसामु पेस गरे ।
राजालाई देखेपछि ती वृद्धा थरथर काम्न थालिन् । राजाले केही भन्नुभन्दा पहिल्यै उनले हात जोडेर भनिन्– महाराज मेरो नाति दुई दिनदेखि भोको थियो । उसलाई खुवाउन म बयरको रुखमा इँटा प्रहार गरिरहेकी थिएँ । तर, गल्तीले गर्दा हजुरलाई लाग्यो । मलाई माफ गर्नुहोस् महाराज !
महाराज रणजित सिंहले केहीबेर सोचे र ती वृद्धालाई एक हजार रुपैयाँ दिएर पठाइदिए । ती वृद्धा महाराजको जयजयकार गर्दै घरतिर गइन् । महाराजको व्यवहार देखेर कर्मचारी र सिपाही छक्क परे । जसलाई सजाय दिनैपर्ने थियो, राजाले उसलाई पुरस्कार दिएका थिए । एक कर्मचारीले सोधे पनि– महाराज, जसलाई दण्ड दिनुपर्ने थियो, उसलाई पुरस्कार किन ? साथै, उसले यसबारे अन्य मानिसले पनि थाहा पाए भने राजाको सुरक्षामै समस्या उत्पन्न हुन सक्ने र अरूले पनि राजामाथि इँटा या पत्थर प्रहार गर्न सक्ने खतरा रहेकोबारे पनि चिन्ता प्रकट गरे ।
उनको गुनासो सुनिसकेपछि केही गम्भीर हुँदै महाराज रणजित सिंहले भने– तपाईंले गरेको चिन्ता ठीक हो । तर, एउटा रुखले त आफूमाथि प्रहार गरिएको इँटा या पत्थरको बदलामा मिठो फल दिन्छ भने म एक राजा भएर पनि उनलाई कसरी खाली हात फर्काउन सक्थेँ ?