१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रासस चितवन
२o८१ बैशाख २० बिहीबार १२:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:१o:oo

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रंगशाला  महानगरपालिकाले आफैँ निर्माण गर्ने गरी बिहीबार बोलपत्र आह्वान गरेको हो।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रु. एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रंगशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो। यसअघि बनाइएका संरचनाको समेत उपयोग गर्ने गरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका– १५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो। रंगशालामा १० हजारजना क्षमताको स्टयान्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रंगशाला निर्माण गर्न लागिएको हो। ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्ने गरी निर्माण गर्न लागिएको हो। महानगरपालिकाले गर्ने साझेदारीमा संघीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटनअगावै बोलपत्र आह्वान गरिएको जानकारी दिइन्। उनले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताइन्।

गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर र काठमाडौंको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो।

रंगशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष ६ महिनाभित्र रंगशाला बनाइसक्नुपर्नेछ। रंगशालाको सबै काम पूरा गर्न रु. तीन अर्बभन्दा बढी खर्च लाग्नेछ। पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ। पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्नेछ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रंगशाला निर्माण अघि बढाइएको बताए। यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वनविज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा ६ कट्ठा जग्गामा रंगशाला निर्माण थालिएको थियो।

०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो। फाउन्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै संघ र प्रदेशसँग समन्वय गरेर रंगशाला निर्माण गर्न लागिएको अधिकारीले बताए।

फाउन्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ। यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ।

ad
ad