
बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर बुधबार एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोटको पलाँता गाउँपालिका– २ लार्फका अन्दाजी २० वर्षीय वीरेन्द्र सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सार्कीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर सार्कीले जानकारी दिएका छन् । जगन्नाथ गाउँपालिका– ६ को तल्लो काप्रिमा भिनाजु दीर्घ सार्कीको घर बनाउन जग सम्याउने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर सार्कीको मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।
घटनाको जानकारी पाएलगत्तै तत्काल वडा नम्बर ६ का वडाध्यक्ष सार्की र जुड्डी प्रहरी चौकीको टोली घटनास्थल पुग्दा सार्कीको पूरै शरीर माटोमा पुरिएको र टाउको बाँकी रहेको अवस्थामा भेटिएको थियो।
प्रहरी र स्थानीयको सक्रियतामा शव निकाल्ने काम भए पनि मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष सार्कीका अनुसार कालीकोटका वीरेन्द्र सार्की केही दिनअघि दिदी–भिनाजु भेट्न बाजुरा आएका थिए ।