१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका वासिंटन डिसी
२०८० फाल्गुण १६ बुधबार ०७:५५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

एक साताभित्र इजरायल–हमासबीच युद्धविराम हुने बाइडेनको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, वासिंटन डिसी
२०८० फाल्गुण १६ बुधबार ०७:५५:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच सोमबारसम्म नयाँ युद्धविराम सम्झौता हुन सक्ने बताए । सम्झौताअन्तर्गत इजरायली जेलमा रहेका केही सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा बन्धक रहेका दर्जनौँ बन्धकलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबीच मध्यस्थका रूपमा काम गर्दै आएका छन् । उनीहरूले ६ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजरायली बन्दीहरूको रिहाइको माग गरिरहेका छन् । 

सोमबारको सम्झौता कहिलेले देखि कार्यान्वयनमा जानेछ भन्ने पत्रकारको प्रश्नमा बाइडेनले भने, ‘अर्को सोमबारसम्ममा युद्धविराम हुनेछ भन्ने आशा छ । हामी यसको नजिक छौँ ।’ एक अज्ञात इजरायली अधिकारीले समाचार साइट येनेटलाई वार्ताको ‘दिशा सकारात्मक’ रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका अनुसार कतारका अमिर सेख तमिम बिन हमद अल–थानी यसै उद्देश्यका लागि मंगलबार पेरिस जाँदै छन् । त्यहाँ दुई नेताबीच राजकीय रात्रिभोज हुने फ्रेन्च राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कतारले हमासका नेतालाई आतिथ्य प्रदान गर्दछ र उसले नोभेम्बरमा एक साताको युद्धविराममा सहयोग गरेको थियो । 

कतारको सरकारी समाचार एजेन्सीका अनुसार सेख तमिमले पहिला दोहामा हमास प्रमुख इस्माइल हानियेहसँग भेट गरेका थिए । भेटमा ‘तत्काल र स्थायी युद्धविराम सम्झौतामा पुग्ने उद्देश्यले’ प्रयासबारे छलफल भएको थियो । कुनै पनि युद्धविराम सम्झौताले गाजापट्टीको सुदूर दक्षिणमा अवस्थित रफाहमा इजरायलको स्थल आक्रमणमा ढिलाइ गर्ने इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताएका छन् ।

हमासमाथिको ‘पूर्ण विजय’का लागि यो आक्रमण अत्यावश्यक रहेको नेतान्याहुले बताए । युद्धको करिब पाँच महिनापछि गाजापट्टीका अन्य क्षेत्रबाट भागेका करिब १४ लाख प्यालेस्टिनीले रफाहमा शरण लिइरहेका छन् । इजरायली सेनाले देशको मन्त्रिपरिषद्लाई आक्रमणअघि रफाहबाट आमनागरिकलाई निकाल्ने आफ्नो योजना प्रस्तुत गरेको प्रधानमन्त्री कार्यालयले सोमबार बताएको थियो । यद्यपि ती विस्थापित नागरिक कहाँ जान सक्छन् भन्नेबारे कुनै विवरण जारी गरिएको छैन । संयुक्त राष्ट्रसंघले रफाहमा कुनै पनि स्थल आक्रमणविरुद्ध बारम्बार चेतावनी दिएको छ ।