Skip This
इजरायल–हमास द्वन्द्वले मध्यपूर्वबाहिर ल्याउँदै छ गम्भीर परिणाम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
मार्क लियोनार्ड
२o८१ बैशाख २९ शनिबार १o:३८:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इजरायल–हमास द्वन्द्वले मध्यपूर्वबाहिर ल्याउँदै छ गम्भीर परिणाम

Read Time : > 3 मिनेट
मार्क लियोनार्ड
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:३८:oo

मध्यपूर्व पुनः युद्धमा फसेको छ । एक महिनाअघि हमास लडाकुले इजरायली सीमानजिकका बस्तीमा क्रूर हमला गरेसँगै सुरु पछिल्लो द्वन्द्वमा अहिले इजरायली सेनाले हमास नियन्त्रित गाजामा स्थल आक्रमणलाई तीव्रता दिइरहेको छ । इजरायलभित्र बसोवास गरिरहेका मजस्ताका लागि यो एक वैयक्तिक संकट हो । उता, संसारभरका मानिसहरूले इजरायली हवाई आक्रमणबाट मारिएका हजारौँ प्यालेस्टिनीहरूप्रति सहानुभूति देखाइरहेका छन् । तर, यो संकट योसँग जोडिएका व्यक्तिहरूमा मात्र सीमित छैन, यो त एक भूराजनीतिक संकट पनि हो । इजरायल–हमासको प्रभाव सम्भवतः युक्रेन युद्धभन्दा बढी विश्वव्यापी र अझ गहिरो र दूरगामी हुनेछ ।

युद्धको सबैभन्दा तत्काल असर मध्यपूर्वमा महसुस हुनेछ । वर्षौँसम्म, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले शासन सम्बन्धमा विभिन्न भ्रम पालेका थिए, जुन अहिले चकनाचुर भएको छ । उनका भ्रममध्ये सबैभन्दा ठूलो प्यालेस्टिनी मुद्दालाई सम्बोधन नगरी अरब जगत्सँग सम्बन्ध सामान्य बनाउन सकिन्छ भन्ने थियो । प्यालेस्टिनी समस्या समयसँगै बिलाएर जाने नेतान्याहुको विश्वास देखिन्थ्यो । तर, अहिले यो विषय बेवास्ता गर्न बनेर आएको छ । गाजामा इजरायली आक्रमणको नतिजा जस्तोसुकै निस्किए पनि, इजरायलले केही गम्भीर आत्मसमीक्षा गर्नुपर्नेछ । सम्भवतः उसले अरबी मुलुकसँग सम्बन्ध सुधारका लागि चालिरहेको शान्ति प्रक्रियामा अपनाएको रणनीतिमा पुनर्विचार गर्नुपर्नेछ ।

इजरायलसँगको सम्बन्ध सामान्य बनाउने बाटोमा रहेको साउदी अरेबियाले आफ्ना देशवासी र समग्र मुस्लिम जगत्को आक्रोशबाट बच्नका लागि प्यालेस्टिनीहरूका लागि थप सहुलियतको माग गर्नेछ ।नेतान्याहुले इजरायलको आत्मरक्षाको अधिकार प्रयोग गर्दा, उनको नाजुक बन्दै गएको राजनीतिक स्थिति जोगाउन हालको द्वन्द्वलाई क्षेत्रीय मुडभेडतर्फ लैजान खोज्न सक्छन् । उनले यस द्वन्द्वलाई उनको मनपर्ने भूराजनीतिक परिस्थितिमा बदल्न सक्छन्, जहाँ इजरायल–सुन्नी अरब मुलुक इरान र इरान नेतृत्वको ‘प्रतिरोधी गुट’विरुद्ध आमनेसामने हुनेछन् । त्यस स्थितिमा प्यालेस्टाइनीहरू पुनः बृहत्तर द्वन्द्वको सानो पात्रमा बदलिदिन सक्छन् । 

इजरायल र हमासबीचको युद्धले युरोपमा थुप्रै चुनौती खडा गरिदिएको छ । युद्धले फ्रान्स, जर्मनी र बेलायतका समाज र राजनीतिक वृत्तमा विभाजन ल्याएको छ

इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वबाहिर पनि गम्भीर परिणाम ल्याउनेछ । यसमा सबैभन्दा ठूलो असर युक्रेनले भोग्नेछ । युक्रेनी जनताले सहनुपरेको हिंसा र पीडाले अब पहिलेजस्तो पश्चिम र विश्वको ध्यान तान्ने एक मात्र विषय रहेन । गाजाको युद्ध क्षेत्रबाट बाहिरिरहेका तस्बिरहरू खार्किभ वा मारिउपोलबाट आएका तस्बिरजस्तै हृदयस्पर्शी छन् । यसबाहेक धेरैका लागि गाजामा जारी युद्धका अघि युक्रेन युद्ध कुनै ‘स्थानीय’ युरोपेली द्वन्द्वजस्तो देखाइदिएको छ । रुससँगको युद्धमा युक्रेनको अस्तित्व पश्चिमको निरन्तर समर्थनमा निर्भर भएको तथ्यलाई ख्याल गर्दा यसबाट विश्वको ध्यान विचलित हुने स्थिति उसका लागि खराब समाचार हो । यदि इजरायल–हमास युद्ध थप चर्किँदै गयो भने इरान पनि युद्धमा तानिन सक्छ । इरानको प्रवेशपछि बढ्ने तेलको मूल्यले पश्चिमी मुलुकलाई रुसी ऊर्जामाथि तिनले लगाइरहेका प्रतिबन्ध टिकाइराख्न थप महँगो पर्न सक्छ । 

गाजाको संकटले युरोपका सामु थुप्रै चुनौती खडा गरिदिएको छ । यस युद्धले फ्रान्स, जर्मनी र बेलायतका समाज र राजनीतिक वृत्तमा विभाजन रेखा देखाइदिएको छ । उदारणका लागि फ्रान्समा युद्ध सुरु भएपछिका पछिल्लो तीन सातामा गत वर्षभर भएकाभन्दा बढी यहुदीमाथिका घृणाका घटना दर्ता भएका छन् ।

उही समयमा, इजरायल–हमास युद्धले युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूबीच पहिलेदेखि छोपिएको धाँजा सतहमा आउन थालेको छ । रुसले गत वर्ष युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपेली मुलुकबीच जुन ठूलो एकता देखिएको थियो त्यो पछिल्लो समय कमजोर बनेको छ । युरोपेली नेताहरूका ध्यान अहिले युक्रेन युद्धमा मात्र नभएर नागोर्नो–काराबाख (जसलाई अजरबैजानले २४ घन्टे सैन्य अभियानमा पूर्ण कब्जा जमाएपछि त्यहाँ बसोवास गर्ने लगभग सबै एक लाख २० हजार अर्मेनियाली छिमेकी अर्मेनियामा भागेका छन्) र गाजा युद्धमा विभाजित भएको छ । गाजामा मानवीय युद्धविरामका लागि आह्वान गर्ने संयुक्त राष्ट्र महासभाको प्रस्तावमा गत हप्ताको मतदानमा इयू सदस्य राष्ट्रहरू तीन समूहमा विभाजित भएबाट पनि उनीहरूबीचको भिन्नता देखिएका थियो । 

इजरायल–हमास युद्धमा युरोपेली संघको विभाजित प्रतिक्रिया आउँदा चीनले भने दृढ प्रतिक्रिया दियो । युक्रेनमा रुसले गरेको आक्रमणमा तटस्थ रहेको बताउने चीनले इजरायल–गाजा युद्धमा स्पष्ट रूपमा प्यालेस्टिनीहरूलाई समर्थन जनाएको छ । चीनको प्रतिक्रिया ‘ग्लोबल साउथ (मुख्यतः दक्षिणी गोलार्धमा रहेका विकासोन्मुख मुलुक)’का अधिकांश मुलुकले जनाएकै प्रतिक्रियाअनुरूप देखिन्छ । चिनियाँ कूटनीतिज्ञहरू निःसन्देह पश्चिमले अपनाइरहेको दोहोरो मापदण्डमाथि प्रकाश पार्न खोज्दै छन् (पश्चिमले रुस–युक्रेन युद्धमा कमजोर युक्रेनलाई सघाएकोभन्दा इजरायल–गाजा युद्धमा कमजोर प्यालेस्टाइनीलाई पूर्णतः बेवास्ता गर्दै इजरायललाई सघाइरहेका छन् ।) जुन आगामी साता थप तीव्र हुन सक्छ । अर्कोतर्फ युद्धमा थप मुलुक तानिए भने चीनको मध्यस्थतामा इरान र साउदी अरबबीच सुधारिएको सम्बन्ध धरापमा पर्न सक्छ ।

संयुक्तराज्य अमेरिकाका लागि मध्यपूर्वको अनुभवलाई ‘गड फादर’ नामक चर्चित फिल्मको तेस्रो भागको यो संवादले राम्ररी वर्णन गर्छ : ‘अबचाहिँ म बाहिरिएँ भनेर सोचेकै वेला तिनले मलाई पुन आफूतर्फ ताने !’ यो कथन आज थप सटिक देखिन्छ । किनकि, अमेरिकी राष्ट्रपति जो बाइडेनको वर्तमान सरकारले देशको विदेश नीतिलाई पश्चिम एसियाबाट पूर्वी एसियातर्फ सार्न उनका पूर्ववर्ती ओबामा र ट्रम्पको सरकारको तुलनामा निकै अनुशासन र दृढता देखाउँदै आएको छ । तर, अहिले पुनः मध्यपूर्व क्षेत्र अमेरिकी नीति निर्माताहरूको शीर्ष एजेन्डामा उचालिएको छ ।

हालसम्म, बाइडेनले इजरायलको हमासविरुद्धको आक्रमणलाई समर्थन जनाउँदै बमबारीका क्रममा संयमता अपनाउन आह्वान गर्ने नीति अँगालेका छन् । उनले युक्रेनी आर्थिक सहयोगलाई लिएर आउन सुरु भएको रिपब्लिकन विरोधलाई छल्न इजरायल र युक्रेनलाई एकल राष्ट्रिय सुरक्षा प्याकेज संसद्मा प्रस्तुत गरेका छन्, जसमा दुवैलाई एकैपटक आर्थिक सहयोग माग गरिएको छ । युक्रेन मुद्दामा अत्यधिक केन्द्रित हुँदा अमेरिकाले उसको मुख्य प्राथमिकता अर्थात् चीनसँगको रणनीतिक प्रतिस्पर्धाबाट विचलन भएको रिपब्लिकन राजनीतिज्ञको गुनासो छ । यस्तोमा मध्यपूर्वमा बृहत्तर संलग्नतामा अमेरिकालाई न्यून चासो हुन सक्छ ।

हमास र नेतान्याहुबाहेक सम्भवतः कोही पनि गाजामा अहिले चलिरहेको द्वन्द्वलाई थप भड्काउन चाहँदैनन् । एक आशा यो गर्न सकिन्छ कि विश्वशक्तिहरूले तिनको साझा चासो पहिचान गर्नेछन् र त्यसलाई अगाडि बढाउन मिलेर काम गर्नेछन् । यसको मतलब हो, युद्धलाई थप भड्किन नदिन यसलाई सकेसम्म चाँडो रोक्ने । र, हमासको सैन्य शाखा ध्वस्त भएपछि र इजरायली बन्धकहरू मुक्त गरिसकेपछि इजरायल–प्यालेस्टाइन द्वन्द्वको राजनीतिक समाधानका लागि जोड दिनुपर्छ । इजरायलको दीर्घकालीन सुरक्षाको ग्यारेन्टीकै लागि पनि अर्को कुनै विकल्प छैन ।

मार्क लियोनार्ड युरोपियन काउन्सिल अन फरेन रिलेसन (परराष्ट्र सम्बन्धसम्बन्धी युरोपेली परिषद्)का निर्देशक हुन् । 
– प्रोजेक्ट सिन्डिकेटबाट

 

ad
ad