१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकताको सुरक्षामा नागरिककाे खेलाँची : गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने धेरै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

घटना १ : गुल्मी दरबार–१ की शिलधरा बोटेको नागरिकता प्लास्टिकमा चिप्किएर काम नलाग्ने भएपछि शुक्रबार प्रतिलिपि निकालिन् । उनले ०७६ कात्तिकमा नागरिकता लिएकी थिइन् । 

घटना २ : गत वर्ष नागरिकता कता हरायो पत्तै भएन, छत्रकोट गाउँपालिका–३ की लक्ष्मी अर्याललाई। उनले खोजतलास गरेर नभेटेपछि प्रतिलिपि निकालिन्। उनले ०६५ सालमा नागरिकता बनाएकी थिइन्। 

घटना ३ : त्यस्तै, गुल्मी दरबार गाउँपालिका–१ का मनबहादुर बोटेले पनि नागरिकताको प्रतिलिपि लिए। उनले ०७४ फागुनमा नागरिकता बनाएका थिए। तर, कपडासँगै नागरिकता धोइएपछि काम लाग्ने भएन। 

घटना ४ : इस्मा गाउँपालिका–६ अमरपुरका अर्जुन खत्री क्षेत्रीले पनि पानी परेर नागरिकता बिग्रिएपछि प्रतिलिपि लिए। उनले ०७९ कात्तिकमा नागरिकता लिएका थिए। 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता र राहादानी लिनेको भिड । तस्बिर  : नयाँ पत्रिका

माथिका यी घटना प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लाे समय जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नयाँ नागरिकताभन्दा प्रतिलिपि धेरै वितरण गर्ने अवस्था सिर्जना भएको छ । कार्यालयले ११ फागुनमा सार्वजनिक गरेको विवरणअनुसार एक सय तीनलाई नयाँ र एक सय ४९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरेको छ । 

त्यस्तै, ४ फागुनको विवरणअनुसार एक सय २७ नयाँ र एक सय चार प्रतिलिपि जारी गरिएको छ। २६ माघमा एक सय १९ जनाले नयाँ नागरिकता र ९८ जनाले प्रतिलिपि पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष ०८०/८१ को अर्ध वार्षिक सेवाप्रवाहको अवस्था पनि सार्वजनिक गरेको छ । साउनदेखि पुससम्मको अवस्था हेर्दा चार हजार सात सय एकजनालाई नयाँ नागरिकता वितरण हुँदा दुई हजार आठ सय तीनजनालाई नागरिकताको प्रतिलिपि वितरण भएको पाइएको छ ।

आर्थिक वर्ष ०७९/८० मा दश हजार तीन सय ८२ नयाँ र छ हजार चार सय ५१ प्रतिलिपि जारी भएका छन् । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १५ हजार छ सय १७ नयाँ र छ हजार तीन सय ३८ प्रतिलिपि विरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

नागरिक जिम्मेवार बन्नुपर्छ : सहायक प्रजिअ गैरै
गुल्मी दरवार गाउँपालिका–१ का मनबहादुर बोटेलाई नागरिकताको प्रतिलिपि वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरै । तस्बिर  : नयाँ पत्रिका

नागरिकता भनेको राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरेर अधिकारको रक्षा गर्ने दस्ताबेज हो। यो राज्य र नागरिकबीचको सम्बन्ध सेतुको रूपमा रहेको हुन्छ । नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो। नेपाली नागरिक १६ वर्ष उमेर पूरा भएपछि नागरिकताका लागि योग्य मानिन्छ। तर, नागरिक नागरिकताको सुरक्षामा भने संवेदनशील भएको पाइँदैन। 

विशेष अवस्थामा बाहेक नागरिकता स्वतः र सजिलै प्राप्त गरिन्छ। जसका कारण नागरिक नागरिकताको सुरक्षामा उदासीन भएका छन्। यो अवस्था जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गर्ने नागरिकताको प्रतिलिपिको संख्याले त्यसको पुस्ट्याइँ गर्छ।

नागरिकताको प्रतिलिपि पटक–पटक लिने कुरा कानुनी रूपमा राम्रो मानिँदैन। तर, रोक्न पनि मिल्दैन। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार धेरैले हराएको भन्दै प्रतिलिपि माग्छन्। त्योसँगै आगलागीमा परेको, पानीमा रुझेको र नागरिकतामा पतिको नाम, थर कायम गर्न भन्दै प्रतिलिपि माग्नेहरू रहेको गैरेले बताए।

उनले समग्रमा नागरिकले नागरिकतालाई कम महत्व दिएका कारण प्रतिलिपि लिनेको संख्या बढेको बताए। ‘घटना वा परिघटनाले नागरिकता हराउने, जल्ने, रुझ्ने वा कानुनी रूपमा बदल्नुपर्ने स्वाभाविक हो। तर, सबैभन्दा ठूलो प्रमाण नागरिकताको सुरक्षा आवश्यक छ,’ उनले भने, ‘यो नागरिककै लागि गम्भीर प्रश्न हो।’ 

वर्षेनी दोब्बरले राहदानी बनाउँदै
गुल्मीमा साढे दुई वर्षको तथ्यांक हेर्दा वर्षेनी दोब्बरले राहदानी बनाउने गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा सात हजार चार सय नौजनाले राहदानी लिएका थिए। 

आर्थिक वर्ष ०७९/८० मा यो संख्या बढेर दोब्बर अर्थात् १५ हजार ८७ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका नायब सुब्बा प्रेम खनालले जानकारी दिए।

यसैगरी, आर्थिक वर्ष ०७९/८० मा १५ हजार ८६ जनाले नागरिकता बनाउँदा दश हजार तीन सय ८२ ले नागरिकता बनाए। यो वर्ष नागरिकताभन्दा राहदानी चार हजार सात सय २० बढी वितरण भएका छन्। 

आर्थिक वर्ष ०७८/७९ मा आठ हजार चार सय ३५ जनाले राहदानी बनाए। आर्थिक वर्ष ०७८/७९ मा १५ हजार छ सय १७ नागरिकता बनाएका छन्।

आर्थिक वर्ष ०८०/८१ को ६ महिना अर्थात् साउनदेखि पुससम्म छ हजार आठ सय ३३ जनाले राहदानी र चार हजार सात सय एक नागरिकता वितरण भएका छन्। छ महिनामा पनि नागरिकताभन्दा दुई हजार एक सय ३२ राहदानी सिफारिस भएका छन्। 

साढे १४ करोड राजस्व संकलन
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट साढे दुई वर्षमा १४ करोड ४७ लाख ७२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ। आर्थिक वर्ष ०७८/७९ मा तीन करोड ७१ लख ६५ हजार पाँच सय, आर्थिक वर्ष ०७९/८० मा सात करोड ३१ लाख ९० हजार र आर्थिक वर्ष ०८०/८१ को छ महिनामा तीन करोड ४४ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका नायब सुब्बा प्रेम खनालले जानकारी दिए।