१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
श्रवण थापा सर्लाही
२०८० फाल्गुण ८ मंगलबार १६:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा बृहत् सांस्कृतिक तथा शैक्षिक महोत्सव, तीन हजार विद्यार्थीले एकैसाथ प्रस्तुति दिने 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० फाल्गुण ८ मंगलबार १६:३५:००

सर्लाहीको बागमती नगरपालिकाले बृहत् सांस्कृतिक तथा शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ।

मंगलबार बागमती नगरपालिका सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले १२ फागुनमा नेपालमै पहिलोपटक बृहत् महोत्सव गर्न लागेको जानकारी दिएको हो।

नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक स्तराेन्नतिका लागि गरिएका विभिन्न अभ्यासको प्रस्तुतिसमेत रहने गरी सम्मेलन आयोजना गर्न लागिएको नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए।

महोत्सव बागमती नगरपालिका– ११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजना हुँदै छ। आयोजकका अनुसार महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गर्ने तयारी भइरहेको छ।

बागमती नगरपालिकाले शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा गरेको अभ्यास महोत्सवमार्फत देशैभरि प्रवाह गर्ने उद्देश्य रहेको मेयर थापाले बताए।

महोत्सवमार्फत नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका तीन हजार छात्रछात्राले एकै साथ नृत्य प्रस्तुत गर्ने भएका छन्। यस्तै छात्रछात्राले मानव चित्र, नेपालको नक्सा, झन्डालगायतको कला प्रदर्शन गर्नेछन्। 

नेपालमै यति ठूलो संख्यामा विद्यार्थीले प्रस्तुति दिने पहिलो प्रयास भएको नगरपालिकाका शिक्षा अधिकृत मीनप्रसाद उपाध्यायले दाबी गरे। २५ लाख लागत अनुमान गरिएको एकदिने महोत्सवको २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ। 

महोत्सवमा विद्यार्थीले सातै प्रदेशको मौलिक पहिचान झल्कने वेशभूषा तथा नृत्य प्रस्तुत गर्ने आयोजक बागमती नगरपालिकाले जनाएको हो। महोत्सवको तयारीस्वरूप बागमती नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयले समुदायसँग हातेमालो अभियान सुरु गरेका छन्। 

अभियानका क्रममा महोत्सवबारे जानकारी गराउने तथा विद्यालय सुधार अभियानका लागि मानापाथी सहयोगसमेत संकलन गरिरहेको नगर शिक्षा शाखा अधिकृत उपाध्यायले जानकारी दिए। उनका अनुसार यसले समाज र विद्यालयबीच बढ्दै गएको दूरी कम गर्ने अपेक्षा गरिएको छ।
 
यस पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षा ऐनसमेत लागू गरेको छ। सोही ऐनअनुसार पालिकाभित्र कार्यरत कर्मचारी तथा निर्वाचित प्रतिनिधिका सन्तानलाई पायक पर्ने सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ।

सोहीअनुसार जनप्रतिनिधि तथा कर्मचारीका सन्तान सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको नगरपालिकाले जनाएको हो।

यस कार्यक्रममार्फत सामुदायिक विद्यालय अब्बल बन्दै गएको सन्देशसमेत दिन सकिने आयोजकको जनाएकाे छ। आमजनमानसमा सामुदायिक विद्यालयप्रतिकाे दृष्टिकोण परिवर्तन आजको आवश्यकता भएको र यस्ता महोत्सव कोसेढुंगा साबित हुने बृहत् राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले बताए।