१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ६ आइतबार १०:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ६ आइतबार १०:५९:००

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन् । मधेश सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज (आइतबार) २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

यसअघि गत जेठ १ गते मधेश सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए। सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुन: ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको संविधान, २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै वेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान रहेको छ ।

मधेश प्रदेश सरकारमा एक सय सात प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल संघीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए ।

मधेश प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।