
अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषि कर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ।
राष्ट्रिय कृषिगणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो।
नेपालको कुल जनसंख्यामध्ये ६१ लाख १४ हजार छ सय जनसंख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३.८ प्रतिशत परिवार कृषक रहेका तथ्यांकमा उल्लेख गरिएको छ।
प्रदेशका आठ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय ९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरि खान पुग्ने गरेको कृषिगणना २०७८ मा उल्लेख गरिएको छ।
तथ्यांकले अधिकांश कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ। जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १.८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२.२ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५.६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ। मधेश प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषिकार्य हो भनी बताउने कृषकको प्रतिशत ६४.३ छ।
कृषक परिवारअन्तर्गत मधेशमा जम्मा कित्ता संख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता संख्या २.९ देखाएको छ। यहाँ सबैभन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ।
यहाँ एक बाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १.८७, स्थायी बालीका रूपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार चार सय ३३ हे, एक हजार एक सय ८३ र एक सय ३७ हेक्टर छ।
कृषि गणनाको विवरणअनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको संख्यामध्ये ट्र्याक्टर ६४.७, फलामे हलो २०.८ र पावरट्रिलर ४.७ प्रतिशत छ। त्यस्तै, प्रदेशमा १६.२ प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, १.२ प्रतिशतले मात्रै कृषि बिमा गरेका र ३.७ प्रतिशतले सरकारी अनुदान पाएका छन्।
यहाँ मुख्य कृषकमा ८५.८ प्रतिशत पुरुष र १४.२ प्रतिशत महिला रहेको छन् भने कृषक परिवारमध्ये ३०.१ प्रतिशतले कृषिकार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन्।
त्यस्तै, मधेशमा गाईगोरुको संख्या करिब तीन लाख ८० हजार, राँगाभैँसीको संख्या करिब पाँच लाख २९ हजार, बाख्रा, खसी, बोका, च्यांग्राको संख्या करिब १४ लाख ४८ हजार तथा कुखुराको संख्या करिब २४ लाख ६१ हजार रहेको पनि तथ्यांकले देखाएको छ।