१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कृष्ण रिजाल काठमाडाैं
Invalid date format १o:४३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार वाणिज्य र सात विकास बैंकसहित एक सय ३५ कम्पनी नेप्सेको ‘कमजोर’ वर्गमा

चुक्ता पुँजीदेखि संस्थागत सुशासन कायमका आधारमा वर्गीकरण, ‘ए’ मा ३१, ‘बी’ मा ३५ र ‘जी’ वर्गमा ७० कम्पनी

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

चार वाणिज्य बैंक र सात विकास बैंकसहित एक सय ३५ सूचीकृत कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कमजोर अर्थात् ‘जेड’ वर्गमा परेका छन् । नेप्सेले वित्तीय स्वास्थ्य, संस्थागत सुशासन र पारदर्शिताका आधारमा सूचीकृत कम्पनीहरूलाई चार भागमा वर्गीकरण गर्ने गर्छ । तोकिएको मापदण्ड पूरा गरेका आधारमा तुलनात्मक रूपमा अब्बल कम्पनी ‘ए’ वर्ग र कमजोर ‘जेड’ वर्गमा पर्छन् । मापदण्ड आंशिक पूरा गर्नेहरू ‘बी’ र ‘जी’ वर्गमा पर्छन् ।  

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमाजिम नेप्सेमा सूचीकृत कम्पनीहरूको त्रैमासिक रूपमा वर्गीकरण गर्दै आएको छ । पुस मसान्तसम्मका आधारमा नेप्सेले गरेको वर्गीकरणअनुसार ३१ कम्पनी ‘ए’ वर्गमा, ३५ कम्पनी ‘बी’ वर्गमा र ७० वटा कम्पनी ‘जी’ वर्गमा परेका छन् । नेप्सेले गर्ने वर्गीकरणले कम्पनीहरू वित्तीय स्वास्थ्य, संस्थागत सुशासन र पारदर्शिताका आधारमा कति अब्बल छन् भन्ने देखाउने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । ‘सबै मापदण्ड पूरा गर्ने ‘ए’ वर्गमा पर्छन्, जेड वर्गमा पर्नेले कुनै पनि मापदण्ड पूरा गरेको छैन भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘नेप्सेको वर्गीकरणले कम्पनीहरूको वित्तीय अवस्था कस्तो छ, उनीहरू कति पारदर्शी छन्, कति अनुशासित छन् ? भन्नेलगायतको चित्रण गर्छ ।’

नयाँ सूचीअनुसार कृषि विकास बैंक, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु गरी चार वाणिज्य बैंक ‘जेड’ वर्गमा परेका छन् । जेड वर्गमा परेका सात विकास बैंकमा कर्पोरेट डेभलपमेन्ट, एक्सेल डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट र सिन्धु विकास बैंक रहेका छन् । वाणिज्य बैंक तथा विकास बैंकको चुक्ता पुँजी पुगे पनि कतिपय वित्तीय अवस्था र कर्पोरेट गभर्नेन्सका कारण ‘जेड’ वर्गमा परेका हुन् । ‘तोकिएको ढाँचामा वित्तीय विवरण नराख्दा, समयमै साधारणसभा नगर्दा तथा लगातार दुई वर्षसम्म लाभांश वितरण गर्न नसक्दासमेत बैंकहरू ‘जेड’ वर्गमा परेका हुन्,’ उनले भने । त्यस्तै, ‘जेड’ वर्गमा १३ वटा वित्त कम्पनी, ३७ वटा लघुवित्त कम्पनी र १९ बिमा कम्पनी रहेका छन् । यस वर्गमा जलविद्युत् कम्पनी, उत्पादक (उद्योग), व्यापार (ट्रेडिङ), होटेल र लगानी गर्ने कम्पनीसमेत रहेका छन् । 

 आठ वाणिज्य बैंकसहित  ३१ कम्पनी नेप्सेको ‘ए’ वर्गमा
आठ वाणिज्य बैंकसहित ३१ सूचीकृत कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ‘ए’ वर्गमा परेका छन् । ‘ए’ वर्गमा पर्ने वािणज्य बैंकहरूमा सिटिजन्स इन्टरनेसनल, एभरेष्ट, ग्लोबल आइएमई, नबिल, नेपाल एसबिआई, सानिमा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

त्यस्तै, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र आइसिएफसी फाइनान्स लिमिटेड पनि ‘ए’ वर्गमा रहेका छन् । ‘ए’ वर्गमै पर्ने कम्पनीमा छिमेकी लघुवित्त वित्तीय संस्था फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी, सानिमा हाइड्रोपावर कम्पनी, हिमालय डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल दूरसञ्चार कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन् । 

 ‘बी’ वर्गमा परेका ३५ कम्पनी कस्ता छन् ?
‘बी’ वर्गमा सात वाणिज्य र दुई विकास बैंकसहित ३५ कम्पनी छन् । ‘बी’ वर्गमा पर्ने वाणिज्य बैंकमा हिमालयन बैंक, लक्ष्मी सन्राइज बैंक, माछापुच्छ्रे  बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । त्यस्तै, कामना विकास बैंक, ज्योति विकास बैंक, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युसन,  नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी र संवृद्धि फाइनान्ससमेत ‘बी’ वर्गमा परेका छन् । केही लघुवित्त कम्पनी, जलविद्युत् कम्पनी र इन्भेस्टमेन्ट कम्पनीसमेत ‘बी’ वर्गमा परेका छन् । सबै हिसाबले अब्बल रहँदा पनि लगातार लाभांश वितरण गर्न नसक्दा कतिपय बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरू ‘बी’ वर्गमा परेको उनले बताए । 

 यसरी गरिन्छ वर्गीकरण  
‘ए’ वर्गमा रहने कम्पनीमा वर्गीकृत हुनका लागि चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विरण राखेको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्ने विनियमावलीमा उल्लेख छ । त्यस्तै, ‘बी’ वर्गमा रहने कम्पनीका लागि चुक्ता पुँजी कम्तीमा ५० करोड भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक तहमुनिको रेटिङ प्राप्त गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको र सञ्चित नोक्सानी नरहेको हुनुपर्नेछ । 

‘ए’ र ‘बी’ वर्गमा पर्ने, तर सूचीकृत भएको दुई वर्ष पूरा नभएसम्म त्यस्ता संस्था ‘जी’ वर्गमा रहने विनियमावलीमा उल्लेख छ । ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा नपर्ने कम्पनी ‘जेड’ वर्गमा रहने व्यवस्था रहेको छ । नेप्सेले त्रैमासिक रूपमा अद्यावधिक वर्गीकरण सार्वजनिक गर्नुपर्छ । सार्वजनिक गरिएको वर्गीकरणमा परेका कम्पनीले उल्लिखित समूहमा नपर्ने कारणसहित पैँतीस (३५) दिनभित्र दाबी गर्न सक्ने व्यवस्था रहेको छ ।

वर्गीकरणले कम्पनीको वित्तीय स्वास्थ्यदेखि संस्थागत सुशासनसम्मलाई देखाउँछ
मुराहरि पराजुली, प्रवक्ता, नेपाल स्टक एक्सचेन्ज लिमिटेड 

नेप्सेले विनियमावलीमा तोकिएको मापदण्डका आधारमा सूचीकृत कम्पनीलाई चार भागमा वर्गीकरण गर्दै आएको छ । नेप्सेले वित्तीय स्वास्थ्य, संस्थागत सुशासन र पारदर्शिताका आधारमा कम्पनीहरूलाई वर्गीकरण गर्छ । तोकिएको मापदण्ड पूरा गरेका आधारमा तुलनात्मक रूपमा अब्बल कम्पनी ‘ए’ वर्ग र कमजोर ‘जेड’ वर्गमा पर्छन् । मापदण्ड आंशिक पूरा गर्नेहरू ‘बी’ र ‘जी’ वर्गमा पर्छन् । वर्गीकरणले कम्पनीको वित्तीय स्वास्थ्यदेखि संस्थागत सुशासनलाई देखाउँछ ।