१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर श्रोत : नेपाल प्रहरी
२o८१ बैशाख २२ शनिबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उकालोमा ‘ओभरलोड’ नथेग्दा पाल्पामा जिप दुर्घटना, १० ले गुमाए ज्यान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o६:oo

क्षमता १३ सिट, यात्रु २६ जना

१३ जनाको सिटपास जिपमा २६ यात्रु थिए । छतमा राखिएका चामलका बोरा र तेलका पेटीले अझै बोझ बढाएको थियो । उकालो कच्ची सडकमा ‘ओभरलोड’ थेग्न नसक्दा जिप दुर्घटनामा पर्‍यो । पाल्पाको तिनाउँ गाउँपालिका– ६ मस्याममा मंगलबार भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १६ यात्रु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आठजनाको घटनास्थल र दुईजनाको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ । 

तानसेनबाट तिनाउँको शिखरडाँडाका लागि छुटेको लु.१ज २३७१ नम्बरको जिप गन्तव्यनजिकै मंगलबार पौने ५ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाल्पाका सात र रुपन्देहीका तीनजनाको मृत्यु भएको छ ।

तिनाउँ गाउँपालिका– ६ मस्यामकी ६० वर्षीया यनकुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी र तिनाउँ– २ खुर्सानेकी २० वर्षीया गीता सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

पाल्पाकै रिब्दीकोट गाउँपालिका– १ ख्याका ६५ वर्षीया दिलकुमारी सुनार र सोही ठाउँकी ६६ वर्षीया विष्णुुकला कामीको पनि ज्यान गएको छ । त्यस्तै, रुपन्देहीको बुटवल  उपमहानगरपालिका– १४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीया चुना रणपाल, देवदह नगरपालिका– ५  की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको छ ।

डिएसपी श्रेष्ठका अनुसार १३ सिट क्षमताको मुस्ताङ जिपमा २६ यात्रु रहेकाले ‘ओभरलोड’ भएर दुर्घटनामा परेको आकलन गरिएको छ । ‘प्रारम्भिक हिसाबले हेर्दा सिट क्षमताभन्दा बढी यात्रु देखिन्छ । छतमा चामलका बोरा र तेलका पेटी पनि थिए,’ उनले भने, ‘उद्धारको काम सकिएपछि चालकसँग सोधपुछलगायत अनुसन्धान गर्छौँ ।’

जिप सडकबाट झन्डै सय मिटर तल छाँगोमा खसेको थियो । मृतक र घाइतेलाई एक्स्काभेटरको सहायताले निकालिएको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्मा कट्टेलले बताए । 

स्थानीय जीवन घिमिरे पनि तानसेन–तिनाउँ खण्डमा सार्वजनिक सवारीसाधनले सिट संख्याभन्दा धेरै यात्रु बोक्ने गरेको बताउँछन् । ‘कोचाकोच यात्रु राख्छन् । कच्ची सडक छ, त्यसमा पनि उकालो बाटोमा जिप नियन्त्रणबाहिर भएर दुर्घटना हुने गरेका छन्,’ उनले भने । उकालो कच्ची बाटोको स्तरोन्नतिको काम भइरहेको छ ।
 

ad
ad