१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २० बिहीबार ११:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एउटा विद्यालय जहाँ जन्मोत्सवका नाममा राजनीतिक भाषण सुनाइँदैन  

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५५:oo

देशभरका सामुदायिक तथा निजी विद्यालयमा हरेक वर्ष औपचारिक रूपमा जन्मोत्सव मनाइन्छ। अझ ठूला विद्यालयमा प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेता निम्त्याएर दिउँसोभर भाषणबाजी गरिन्छ। कतिपय विद्यालयले साप्ताहिक कार्यक्रम गरेर ठूलो खर्च गर्छन्। राष्ट्रपति र प्रधानमन्त्री नै आउने विद्यालयको वार्षिकोत्सवमा १०–१५ लाखसम्म खर्च हुन्छ। 

तर, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नंं १ मा रहेको मेलम्ची घ्याङ माध्यमिक विद्यालयमा जन्मोत्सवको कुनै औपचारिक कार्यक्रम गरिँदैन। २०४१ मा अस्थायी रूपमा बनेको यो विद्यालय २०४५ सालमा सरकारले स्थापनाको लागि स्वीकृति थिएको थियो। त्यसयता ३५ वर्षसम्मको अवधिमा विद्यालयमा भारी रकम खर्च हुने गरी आजसम्म कुनै औपचारिक जन्मजयन्ती मनाइएको छैन।

४० वर्षदेखि निरन्तर विद्यालयको नेतृत्व गर्दै आएका प्रधानाध्यापक पूर्णबहादुर गौतम भन्छन्, ‘राजनीति दलका नेता बोलाएर हामीले विद्यालयमा आजसम्म भाषणबाजी गरेका छैनौँं।’ शिक्षा क्षेत्रमा काम गरेका अनुभवी मानिसलाई भेला गरेर शैक्षिक क्षेत्रबारे छलफल गर्ने प्रचलन रहेको उनले बताए। प्रत्येक वर्ष शैक्षिक सत्र सुरु हुनुअघि विद्यालय सञ्चालन र गुणस्तरीय शिक्षा प्राप्त गर्ने मार्गचित्रको रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन्छ। अभिभावक, शिक्षक र शिक्षाविद् भेला भएर नीति तथा कार्यक्रममाथि छलफल हुन्छ। खेलकुद र अतिरिक्त क्रियाकलाप शैक्षिक क्यालेन्डरमा समावेश गरिएको हुन्छ। 

विद्यार्थीले हरेक दिन पढाइसँगै खेल र अतिरिक्त क्रियाकलापमा समय खर्चिन्छन्। शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयको श्रेणीमा यो विद्यालय जिल्लामा सधैँ उत्कृष्ट ठहरिन्छ। गत एसइई परीक्षामा १६ विद्यार्थी सामेल भएकामा आठजनाले ए प्लस र आठजनाले ए नतिजा ल्याए। एसएलसी र एसइईमा यहाँको विद्यार्थीले सधैँ उत्कृष्ट नतिजा ल्याएको रेकर्ड छ।  

यहाँ सिन्धुपाल्चोक, धनुषा, मोरङ, काभ्रे, सिन्धुली, दोलखा, धादिङ र नुवाकोट जिल्लाका बालबालिका अध्ययन गर्छन्। तीन सय ३६ विद्यार्थीमध्ये दुई सय ७२ विद्यार्थी आवासीय हुन्। आवासगृहमा रहेका विद्यार्थीले विद्यालयवरिपरि रहेको किचेन गार्डेनमा कृषिकर्म पनि गर्छन्। मेलम्ची घ्याङ माविबाट प्रेरित भएर हेलम्बु मोडेल स्कुलले पनि जन्मोत्सवको औपचारिक कार्यक्रम मनाएको छैन। विद्यालयको वार्षिकोत्सव कार्यक्रममा हुने अनावश्यक खर्च रोक्न हेलम्बुका सबै विद्यालयलाई निर्देशन गरेको पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
 

ad
ad