
मूलढोका : सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले पूर्व दिशामा मूलढोका राख्नु राम्रो हुन्छ । उत्तरतिर पनि मूलढोका बनाउन सकिन्छ । कतिपय कुरा भूगोल हेरेरसमेत निर्धारण गरिन्छ ।
सुत्ने कोठा : श्रीमान्–श्रीमती र घरमूली सुत्ने कोठा जहिल्यै पनि दक्षिण–पश्चिमको दिशामा हुनुपर्छ । बालबालिका वा बुद्धि विकास भइरहेका व्यक्तिका लागि पूर्वतिरको कोठा शुभ मानिन्छ ।
पूजाकोठा : पूर्वको कोठा वा कुनामा पूजाकोठा बनाउन सकिन्छ । यसले सकारात्मक ऊर्जा प्रवाह गर्छ । बैठककोठा : बैठककोठा पूर्वोत्तर (पूर्व–उत्तर) दिशामा हुनुपर्छ । घरायसी सरसल्लाहदेखि ठुल्ठूला निर्णयसम्म बैठक कोठामा बसेर गरिने भएकाले पूर्वोत्तरको दिशा उपयुक्त हुन्छ ।
पानीको स्रोत : खानेपानीको धारा, ट्यांकी, इनार आदिलाई पनि पूर्वोत्तर दिशामा बनाउन सकिन्छ ।
शौचालय : पूर्व र उत्तर दिशातिरको कुनामा शौचालय बनाउनु उचित हुँदैन । यी दिशामा शौचालय बनाउँदा सूर्यको प्रभावसँगै नकारात्मक तत्व घरमा प्रवेश गर्ने सम्भावना हुन्छ । जसले परिवारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत असर गर्छ । पूर्व र उत्तर दिशामा शौचालय भएमा त्यो घरका सदस्यको मृत्यु हुने मान्यता छ ।
भान्साघर : पूर्व र दक्षिणको बीचको दिशालाई आग्नेय दिशा भनिन्छ । यो दिशामा भान्साघर बनाउन सकिन्छ । तर, चुलो दक्षिणतिर फर्केको हुनुहुँदैन । त्यस्तै, घरमूलीले कहिल्यै पनि दक्षिणतिर फर्केर खाना खानुहुँदैन । यसबाहेक विद्युतीय वस्तु यस दिशामा राख्न राम्रो मानिन्छ । संसारमा भएका पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशको प्रभाव यसरी सही तरिकाले पर्ने गरी बनाइएको घर नै वास्तुशास्त्रअनुसार उत्तम घर हो ।