
रक्तदानबारे सामाजिक धारणा विषयक सर्भे रिपोर्ट सार्वजनिक भएको छ । सरस्वती बहुमुखी क्याम्पसअन्तर्गतको समाजशास्त्र विभागले तयार पारेको रिपोर्ट शुक्रबार थापाथलीस्थित मार्टिन चौतारीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
झकेन्द्र घर्तीमगर, महेशराज महर्जन, नवीन आचार्य, भीमराज सिग्देल, नारायणी देवकोटा र नमिता पौडेलको समूहले रक्तदानबारे विद्यार्थीमा रहेको ज्ञान र अनुभवलाई समेटेर रिपोर्ट तयार गरेको हो ।
अध्ययनका क्रममा सामाजिक विशेषता र समावेशिताका आधारमा विद्यार्थी, प्राध्यापक र आदिवासी–जनजाति समुदायका गरी तीन सय ६३ जनालाई नमुनाको रूपमा लिइएको थियो ।
यसक्रममा चिकित्सा क्षेत्रसँग सम्बन्धित ९३ र त्यसबाहेकका दुई सय ७० जनालाई सहभागी गराइएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा १६ देखि ६० वर्ष उमेर समूहलाई नमुनाको रूपमा लिइएको थियो ।
अध्ययनका क्रममा काठमाडौं, कास्की, तनहुँ तथा मकवानपुरका ग्रामीण बस्तीलाई नमुना क्षेत्रका रूपमा लिइएको थियो ।
सर्वेक्षणले नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव रहेको, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोजस्ता विषय औँल्याइएको छ । रिपोर्ट विश्व रक्तदाता अर्जुन मैनालीको सहयोगमा तयार गरिएको हो ।