१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० माघ १४ आइतबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

Read Time : > 1 मिनेट
२०८० माघ १४ आइतबार १०:४१:००

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने,  एक करोड ५० लाखको कारोबार हुने आयोजकाे अनुमान र अपेक्षा

चितवनकाे सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका– ७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो ।

नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले जानकारी दिए । उनले भने, ‘नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ।’

महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सयभन्दा बढी स्टल रहने जनाइएको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने,  एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ। 

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र र पर्यटनको विकासका लागि राज्य र निजीस्तरबाट गर्नुपर्ने पहलबारे सूक्ष्म रूपमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने पौडेलले बताए ।

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एसियाली क्षेत्रका नवीनतम कला सिर्जनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदान–प्रदानलाई बढावा दिने र दक्षिण एसियाली कथाकथनको समृद्धिको उत्सवका रूपमा कथानक चलचित्र, वृतचित्र, लघुचलचित्रबीच प्रतिस्पर्धा गराइनेछ । महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीनवटा चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्टफिल्म अवार्ड वितरण, सार्कस्तरका चलचित्रको प्रदर्शन, चलचित्रकर्मीको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तर्क्रिया, कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी र पश्चिम चितवनका खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मूल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

महोत्सव मूल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने बताए । क्याराभान नेपालले यसअघि वीरगन्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शनसम्बन्धी फेस्टिभल गरेको थियो ।