१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्षयरोग नियन्त्रण गर्न समुदायस्तरमा जाँच बढाउनुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१४:oo

नेपालमा ट्युबर क्लोसिस (क्षयरोग) तथा धूम्रपान सेवनबाट हुने रोग नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सम्बद्ध निकायका व्यक्तिहरूले बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले नेपालमा अझै क्षयरोग बढ्दो अवस्थामा रहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने औँल्याएका हुन् । उनीहरूले सुर्तीजन्य पदार्थ सेवनबाट हुने रोगहरू नियन्त्रण गर्न पनि सरकारलाई सुझाव दिएका छन् । 

विश्वमै क्षयरोग नियन्त्रणमा काम गर्दै आइरहेको संस्था इन्टरनेसनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द युनियन)का प्रेसिडेन्ट प्राध्यापक गाई मार्क्सले नेपालले क्षयरोग नियन्त्रणका लागि यसको जाँच बढाउनुपर्ने र अन्य मुलकुहरूसँग सहकार्यसमेत गरेर अघि बढ्न आवश्यक रहेको बताए । 

उनका अनुसार क्षयरोग नियन्त्रणका लागि नमुनाको रूपमा भए पनि जाँच बढाउनुपर्छ । हाल युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायत देश क्षयरोग नियन्त्रणमा सफल भइसकेका छन् । नेपालजस्ता मुलुकका लागि क्षयरोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र यसबाट हुने रोग नियन्त्रण गर्न चुनौती हुँदै आएको छ । 

क्षयरोगको नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम मास स्क्रिनिङ (समुदायस्तरमा जाँच) मा ध्यान दिनुपर्ने उनीहरूको जोड छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपालले अझै नसर्ने रोगको बढी सामना गर्नुपर्ने अवस्था भएकाले यसको रोकथाममा सरकारले चासो दिँदै आइरहेको बताए । उनले क्षयरोग तथा अन्य रोग नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवनको कारण बढी भएकाले यसको नियन्त्रणमा सरकार गम्भीर रूपमा लागेको जानकारी दिए । 

‘हामीले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि यसका उद्योग र यससम्बन्धी सवालहरूलाई निरुत्साहित गर्दै आइरहेका छौँ,’ उनले भने, ‘क्षयरोग र सुर्तीजन्य पदार्थबाट हुने रोग नियन्त्रणका लागि सरकार लागिपरेको छ ।’ 

द युनियनका निर्देशक डा. तारासिंह बमले क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमै जाँच आवश्यक रहेको जानकारी दिँदै सरकारले यसमा थप गम्भीरता नदेखाएको बताए । उनले सुर्तीजन्य पदार्थको सेवनले नजानिँदो तवरबाट रोग फैलाइरहेको हुँदा यसको प्रयाेग नै निरुत्साहित गर्न आवश्यक रहेको जानकारी दिए । 

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा क्षयरोगका बिरामीको संख्या बढेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्न प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए । विगतका वर्षहरूको तुलनामा पछिल्लो समय क्षयरोग बढे पनि जाँचको पहुँच नपुग्दा धेरै बिरामी जोखिममा परेको उनको भनाइ छ । उनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा पनि कानुनको अक्षरशः र व्यावहारिक पालना नभएको बताए ।
 

ad
ad