१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ १२ शुक्रबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले गरे संसदीय दलको नेता परिवर्तन 

Read Time : < 1 मिनेट
२०८० माघ १२ शुक्रबार १३:५५:००

नेकपा माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन्। 

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाउने निर्णय गरेको हो। 

भट्टलाई हटाएर दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको माओवादी प्रदेश सांसद शिवसिंह ओलीले जानकारी दिए।

दलको नेता फर्ने निर्णयमा माओवादीका ६ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्। प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सदस्य छन्। 

दलको नेता परिवर्तन गरिएको निर्णय सभामुखलाई समेत जानकारी गराइसकिएको सांसद ओलीले बताए। भट्टले दलको नेताका रूपमा संसदीय दल र पार्टीको भूमिकालाई प्रभावकारी बनाउन नसकेकाले नेतृत्व फेरबदल गर्नुपरेको ओलीले बताए।

दलको नेता चयन भएका धामीले बहुमत सदस्यले दलको नेता फेरबदलका लागि यसअघि नै केन्द्रलाई जानकारी गराएको बताए। ‘संसदीय दलको बहुमत सदस्यले मलाई दलको नेताको जिम्मेवारी दिनुभएको छ,’ उनले भने, ‘दलको नेताले भूमिका सक्रिय हुन सकेन, दलका गतिविधिमा दलका नेताले सकारात्मक भूमिका खेल्न सक्नुभएन। यसबारे केन्द्रीय नेतृत्वलाई पहिले पनि जानकारी गराएका थियौँ।’

दलको नेता र मन्त्री फेरबदलको विषयमा बिहीबारसमेत पार्टी केन्द्रलाई लिखित जानकारी गराइएको धामीले बताए। ‘मन्त्री फेरबदलबारे दलको बैठकमा छलफल हुन्छ,’ उनले भने।

पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने र दलको नेता फेर्नुपर्ने माग गर्दै सभामुखसहित माओवादीका बहुमत सांसदले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई लिखित ध्यानाकर्षण गराएका थिए।

दलको नेता फेर्ने निर्णयमा धामीसहित उपनेता अक्कल रावल, प्रदेश सभा सदस्यहरू शिवसिंह ओली, ओमविक्रम भाट सरल, गीतादेवी माल र लक्ष्मी विकले हस्ताक्षर गरेका छन्।