लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले छिमेकी भारत विश्वको तेस्रो सम्पन्न राष्ट्रको रूपमा अघि बढिरहेको, तर नेपाललाई नेताहरूले विपन्न बनाएको आरोप लगाएका छन्।
भारतको ७५औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबद्वारा बिहीबार आयोजित कार्यक्रममा महतोले नेताहरूका कारण नेपाल विश्वका सबैभन्दा विपन्न १० वटा राष्ट्रमा पुगेको टिप्पणी गरे।
‘भारत दुनियाँको समृद्ध राष्ट्रको दर्जामा पाँचौँबाट तेस्रोमा पुग्ने लक्ष्य लिएर अगाडि बढेको छ। उसको अर्थव्यवस्था, आर्थिक अवस्था दुनियाँको पाँचौँ स्थानमा छ,’ उनले भने, ‘यो वेला हामी कहाँ गयौँ त ? हामीले के स्थापित गर्याैँ त ? हामी नेपाली बहादुरहरूले के–के बहादुरी गर्याैँ ?’
नेपालमा जलस्रोत र पर्यटनको ठूलो सम्भावना भए पनि त्यसलाई उपयोग गर्न नसकिएको कारण देशको समृद्धि र विकास हुन नसकेको महतोको भनाइ छ। उनले ठूला दलका नेताहरूले नेपाली जनतालाई कंगाल बनाएर राजनीति गरिरहेको आरोप लगाए। उनले भने, ‘हामीले के कहिल्यै पनि नसुध्रिने कसम आएका छौँ ? नेपाली जनतालाई कंगाल बनाएर राजनीति गरिरहने ? किन नेपाल अगाडि बढ्न नसकेन ?’
देशको राजनीति भ्रष्ट भएको र देशलाई विकासको बाटोमा लान नसकिएको महतोले बताए। भारतमा १० वर्ष नरेन्द्र मोदीको शासनकालमा भ्रष्टाचारका काण्ड नसुनिएको दाबी गर्दै उनले नेपाल काण्डैकाण्डको देश बन्दा विकास हुन नसकेको बताए।
महतोले कांग्रेस, माओवादी र एमालेले काण्डैकाण्ड मच्चाएको आरोप लगाए। उनले भने, ‘नेपालमा त काण्डैकाण्ड। लेख्नुहुन्न, काण्डैकाण्ड। काण्ड पनि कुन–कुन काण्ड हो कुन–कुन काण्ड हो। त्यो काण्ड गरेको कसले हो ? रक्षक नै भक्षक भएको हो कि होइन ?’