१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
धान बेच्दै किसान । फाइल तस्बिर
२०८० माघ ११ बिहीबार १०:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खाद्य कम्पनीले यस वर्ष पनि  लक्ष्यअनुरूप धान किन्न सकेन

कैलाली र कञ्चनपुरबाट ७५ हजार क्विन्टल धान खरिदको लक्ष्य, तर साढे २१ हजार क्विन्टल मात्र पायो

Read Time : > 1 मिनेट
२०८० माघ ११ बिहीबार १०:०७:००

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलाली र कञ्चनपुरमा यस वर्ष लक्ष्यअनुसार धान खरिद गर्न सकेन । दुई जिल्लाबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्यले करिब साढे २१ हजार क्विन्टल मात्र धान पाएको छ । धान बिक्रीका लागि किसानहरू खाद्यले राखेका डिपोमा नगएपछि लक्ष्यअनुसार खरिद हुन नसकेको हो ।

खाद्यले कैलालीका पाँच र कञ्चनपुरका एक ठाउँमा डिपो राखेर गत कात्तिकबाट धान खरिद सुरु गरेको थियो । सुरुका दिनमा धान बिक्रीका लागि कतिपय किसान खाद्यको डिपोमा पुगेका थिए । मंसिर तेस्रो सातापछि भने किसान धान बेच्न नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । 

कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको थियो । तर, हालसम्म १८ हजार ७८७ क्विन्टल मात्र खरिद भएको खाद्यको प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् । कैलालीको धनगढी, टीकापुर, सत्ती, भजनी र बर्दगोरियामा धान खरिद गर्न डिपो राखिएका थिए । खाद्यले सबैभन्दा बढी टीकापुरको डिपोबाट नौ हजार क्विन्टल धान खरिद गरेको छ ।

बर्दगोरियाको डिपोमा भने धान बिक्री गर्न एकजना किसान पनि गएनन् । ‘स्थानीय तहले गोदामको व्यवस्था गरिदिएपछि बर्दगोरियामा डिपो राख्यौँ, तर धान बिक्री गर्न एकजना पनि आएनन्,’ प्रादेशिक कार्यालय प्रमुख बस्नेतले भनिन्, ‘अन्य डिपोमा पनि थोरै मात्र किसान आएकाले यस वर्ष लक्ष्यभन्दा कम धान खरिद भयो ।’ कञ्चनपुरको महेन्द्रनगर डिपोबाट १५ हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकोमा तीन हजार क्विन्टल मात्र पाइएको खाद्यले जनाएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले मूल्य बढाएर खरिद गरेकाले किसान व्यापारीकहाँ गएको हुन सक्ने उनले बताइन् । ‘व्यापारीबाट बढी मूल्य पाएकाले किसान धान बिक्री गर्न हामीकहाँ नआएका हुन सक्छन्,’ बस्नेतले भनिन्, ‘बढी मूल्य पाउनु किसानका लागि राम्रै हो ।’

सरकारले यस वर्षका लागि गत असारमै मोटो धानको न्यूनतम समर्थन मूल्य तीन हजार १९८ रुपैयाँ र मध्यम मसिनो धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ तोकेको थियो । खाद्यले समर्थन धान खरिद सुरु गर्नुअघि व्यापारीले किसानबाट मोटो धान प्रतिक्विन्टल दुई हजार सात सयसम्ममा खरिद गरेका थिए । 

सरकारले समयमै धान खरिद सुरु नगर्दा धानको मूल्यमा व्यापारीको मनोमानी हुने गरेको छ । धान बेचेरै हिउँदे बाली लगाउने र चाडपर्व मनाउने खर्च जोहो गर्नुपर्ने बाध्यताले कतिपय किसान खाद्यले सुरु गर्दासम्म व्यापारीलाई सस्तोमा धान बेचिसक्छन् । खाद्यले समयमै खरिद सुरु नगर्दा धानको मूल्यमा व्यापारीको मनोमानी हुने गरेको गुनासो किसानले गर्दै आएका छन् । चामलको मूल्यमा एकाधिकार जमाउन खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर किन्ने गरेको बताइन्छ । विगतको तुलनामा खाद्यले यस वर्ष धान खरिद चाँडै सुरु गरेको थियो । कैलाली र कञ्चनपुर धान उत्पादनका लागि उर्वर जिल्ला हुन् । कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रमा धानखेती हुने गरेको तथ्यांक छ ।