१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

हुथी आक्रमणपछि बदलियो विश्वव्यापी समुद्री ढुवानी

युरोप र एसिया आउजाउ गर्ने पानीजहाजहरू छोटो बाटो छाडेर अफ्रिकालाई घुम्न थालेका छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o७:oo

हिजोआज युरोप–एसिया आउजाने गर्ने सयौँ मालवाहक जहाज स्वेज नहरलाई पन्छाउनलाई हजारौँ माइलको अतिरिक्त दूरी पार गर्ने गर्छन् । उनीहरू पहिलेको छोटो बाटो छाडेर अफ्रिकालाई घुमेर आउजान गर्न थालेका छन् । यसमा अतिरिक्त ६५०० किमि दूरी खर्च हुने गर्छ । यस अतिरिक्त दूरी पार गर्दा जहाजले उपभोग गर्ने इन्धन मात्र बढ्ने होइन कि एउटा दिशामा करिब १० दिनको थप समय लाग्ने गर्छ । यसको असर केही देशमा आमउपभोग्य सामानको मूल्य देखिन थालिसकेको छ मूल्यवृद्धिको रूपमा ।

आखिर ढुवानी कम्पनीहरू अतिरिक्त खर्च र समय लगाएर तिनका जहाज स्वेज नहरको छोटो बाटो पन्छाएर किन यति लामो रुट हिँडाइरहेका छन् ? युरोपबाट एसिया आउँदा स्वेज नहर पार गरेपछि पुगिने लालसागरमा मालवाहक जहाजमाथि केही महिनादेखि हुथी समूहको आक्रमण हुन थालेपछि रुट परिवर्तन हुन थालेको हो । पश्चिमी मुलुकले इरानको समर्थन प्राप्त भन्ने गरेको हुथी समूहले गाजामा जारी इजरायली आक्रमण रोक्न दबाब दिन भन्दै आक्रमण गरेको बताइरहेको छ । 

जनवरीको पहिलो दुई साताको अवधिमा लालसागर हुँदै करिब एक सय ५० वटा जहाजले स्वेज नहर पार गरे । जब कि गत वर्ष यही अवधिमा चार सयवटा भन्दा बढी जहाजले सो नहर पार गरेको सामुद्रिक तथ्यांक संकलक ‘म्यारिन ट्राफिक’को रेकर्डले देखाउँछ । अमेरिकाले हुथीहरूको आक्रमण रोक्न भन्दै उसका सहयात्रीसँग मिलेर यमनस्थित हुथी शिविरमा आक्रमण सुरु गरेको छ । तर, यसले हुथीको ड्रोन तथा मिसाइल आक्रमणलाई रोक्न सकेको छैन । ढुवानी कम्पनीले एसियाबाट युरोपसम्म कन्टेनर जहाज लैजान विगतको तुलनामा तेब्बरसम्म खर्च उठाइरहेका छन् । यस वृद्धिमा मुख्यतः जहाजलाई अफ्रिका महादेश घुमाउँदा बढ्ने खर्चको योगदान छ । 

अझै लालसागर प्रयोग गर्ने जहाजधनीले (जसमा धेरै कन्टेनर मालिक छन्) बिमाको किस्ता बढी तिरिरहेका छन् । भलै कन्टेनर मूल्य अझै कोरोना भाइरस महामारीको समयको जति बढिसकेको छैन, तर इकियाजस्ता रिटेलर कम्पनीले स्वेज नहर पन्छाउँदा तिनको बिक्री प्रभावित हुने चेतावनी दिइसकेका छन् । युरोपका केही कार कम्पनीले एसियाबाट आयात हुने कारका पार्टपुर्जाको आपूर्ति ढिलो भएपछि तिनको उत्पादन नै अवरुद्ध गर्नुपर्‍यो । यही स्थिति लम्बियो भने मुद्रास्फीति थप बढ्न सक्छ । जेपी मोर्गन चेजले गत बिहीबार जारी गरेको एक प्रक्षेपणअनुसार जहाज ढुवानी अवरोध जारी रह्यो भने यो वर्षको विश्वव्यापी उपभोक्ता मूल्य अतिरिक्त ०.७ प्रतिशतले बढ्न सक्छ । 

गत दुई वर्षको अन्तरमा लाल सागर र स्वेज नहरको महत्व एसिया र युरोप आवतजावत गर्ने जहाजहरूका लागि मात्र होइन, तेल तथा तरल प्राकृतिक ग्यासका कार्गोका लागि उत्तिकै बढेको छ । सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथिको रुसी आक्रमणपछि युरोपेली मुलुकले रुसी इन्धन किन्न रोक्न थाले । त्यसपछि रुसले स्वेज नहरमार्फत पहिले युरोपलाई बेच्ने तेल भारत र अन्य एसियाली देशमा पठाउन थाल्यो । त्यस्तै युरोपले उसको इन्धन आवश्यकता मध्यपूर्वबाट पूरा गरिरहेको छ । र, मध्यपूर्वबाट युरोप जाने इन्धन ट्यांकर पनि स्वेज नहरबाटै अघि बढछन् । विश्वमा ट्यांकरबाट ढुवानी हुने तेलमध्ये १२ प्रतिशत र तरल प्राकृतिक ग्यासको लगभग त्यति नै हिस्सा लालसागरको बाटो अघि  बढ्ने अमेरिकी सरकारको इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनको तथ्यांकले देखाउँछ । 

अमेरिकी नौसेनाले कैयौँ ड्रोन र मिसाइल तिनको निसाना पुग्नुअघि नष्ट गर्दै वाहनमा पुग्न सक्ने गम्भीर क्षति टरेको छ । सस्ता ड्रोन र न्यूनस्तरको मिसाइल पहिचान गर्न अमेरिका र उसका मित्रशक्तिले हाइटेक लडाकु विमान र अन्य उच्चस्तरको सैन्य सामग्री प्रयोगमा ल्याइरहेको छ, जुन उसका लागि निकै महँगो परिरहेको छ । अहिलेको विश्वको प्रमुख सामुद्रिक शक्ति चीनले भने यस घटनामा फरक अडान लिएको छ । इजरायल–प्यालेस्टिनी संघर्षमा प्यालेस्टाइन पक्षमा उभिएको बेइजिङले अहिलेसम्म ढुवानी जहाजमाथि भएका आक्रमणका लागि हुथीहरूको आलोचनासमेत नगरेको अवस्थामा सो समूहमाथिको सैन्य अभियानमा भाग लिने कुरा टाढाको देखिन्छ । तथापि, हुथीको जहाज आक्रमणबाट चीन पनि अछुतो भने छैन । हुथी आक्रमणपछि चीनको निर्यात वृद्धि सुस्ताएको छ । यसले उसको धर्मराइरहेको अर्थतन्त्रमा थप असर गर्न सक्छ । 
– द न्युयोर्क टाइम्सबाट

ad
ad