१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
भरत खनियाँ
२o८१ बैशाख २३ आइतबार o९:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सशस्त्र प्रहरी बल : भूमिका, अपेक्षा र चुनौती

Read Time : > 2 मिनेट
भरत खनियाँ
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o६:oo

सशस्त्र प्रहरीलाई आधुनिक प्रविधि, हातहतियार, भिड नियन्त्रणका उपकरण तथा सवारीसाधनबाट सुसज्जित गरिनु जरुरी छ

कुनै पनि राज्यमा फौज कति संख्यामा राख्ने भन्ने विषय शान्ति–सुरक्षाको स्थिति, भू–राजनीतिक अवस्था, आन्तरिक राजनीतिक परिस्थिति, औद्योगिक विकास, आर्थिक क्षमतालगायतमा निर्भर रहन्छ । परम्परागत रूपमा संसारमा नियमित सेना र प्रहरी रहँदै आएता पनि दोस्रो विश्वयुद्ध तथा शीतयुद्धको समाप्तिपश्चात् देशहरूले तत्कालीन आवश्यकताअनुरूप फरक प्रकारका फौज स्थापना गर्दै आएका छन् । 

एउटा बिषम परिस्थितिमाझ स्थापना भएको सशस्त्र प्रहरी बल आज आफ्नो स्थापनाको २३ औं बार्षिकोत्सब मनाउँदै छ । नियमित प्रहरीबाट सम्पन्न हुन नसक्ने तथा सेनाको परिचालन सम्भव नभएको अवस्थामा नियमित सेनाको जस्तै शारीरिक अवस्था तालिम र हातहतियार अनि प्रहरीजस्तै जनमानसमा मिलेर काम गर्न सक्ने फौजको रूपमा यसको स्थापना भएको हो । 

स्थापनाको सुरुवाती अवस्थामा सीमित कार्यादेश रहेको भए पनि सशस्त्र प्रहरी ऐन २०५८ अनुसार सशस्त्र प्रहरीले सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, हुल तथा दंगा नियन्त्रण र व्यवस्थापन, विपत् व्यवस्थापन, भन्सार, राजस्व तथा औद्योगिक सुरक्षा गर्दै आएको छ । 

सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि आजसम्म (संस्थापक संगठन प्रमुख कृष्णमोहन श्रेष्ठदेखि वर्तमान प्रमुख राजु अर्यालसम्मको कार्यकालमा) भूमिका र कार्यभारमा ठूलो फड्को मारेको छ । सीमालाई बलियो बनाउन भारतसँग सीमा जोडिएका जिल्लामा सीमा सुरक्षा कार्यालयको स्थापना, उत्तर तथा दक्षिणी सीमामा बोर्डर आउटपोस्ट (बिओपी) स्थापना, पूर्वी पहाडी जिल्लामा गुल्मको स्थापना, विपत्को उच्च जोखिममा रहेको नेपालमा जुनसुकै वेला हुन सक्ने जोखिमको सामना गर्न मुलुककै पहिलो विपत् व्यवस्थापन तालिम केन्द्रको स्थापना भएका छन् । यसका अतिरिक्त औद्योगिक तथा राजस्व सुरक्षामा परिचालन, विकास परियोजनामा भरपर्दो सुरक्षा प्रदान, बिओपी थप, सशस्त्र प्रहरी बललाई ७७ जिल्लामा पुर्‍याउने तथा भौतिक निर्माणका विषयले निरन्तरता पाइरहेका छन् ।

सशस्त्रमा फौजको क्षमता विस्तार गर्न व्यावसायिक क्रियाकलाप चक्रको सुरुवात भएको छ । फौजलाई अझ बढी व्यावसायिक बनाउन ‘बर्ड’ अवधारणाअन्तर्गत विशिष्टीकृत गर्दै लगिएको छ । यो अवधारणाले सशस्त्रलाई सीमामा ‘डेडिकेटिड फोर्स’का रूपमा विकसित गर्न, राज्यको आवश्यकताअनुसार आन्तरिक सुरक्षामा भूमिका खेल्न, समय–समयमा देशका विभिन्न भागमा हुने राजनीतिक, साम्प्रदायिक, धार्मिक तथा अन्य आवरणमा हुने दंगा नियन्त्रण गर्न र देशभर वर्षैभरि भइरहने विपत्का घटनामा रोकथाम तथा न्यूनीकरणदेखि उद्धारलगायत काममा खटिन सहज बनाउनेछ । सशस्त्र प्रहरी बलको स्थापनापश्चात् नै नापी विभागको रेकर्डमा रहेका नेपाल–भारत सीमामा रहेका सीमास्तम्भहरू अद्यावधिक गर्न सुरु भएको थियो । सीमास्तम्भ गणनाबाट सुरु भएको सीमा सुरक्षाको काम अहिले आएर सीमा र सीमास्तम्भको सुरक्षा, सीमा अपराध नियन्त्रण हुँदै सीमाको डिजिटल निगरानी र सीमास्तम्भको मर्मत सम्भारसम्म आइपुगेको छ । छांगरु, टिंकर र ओलाङचुङगोला अनि केचनादेखि सुस्ता हुँदै दोधरा चाँदनीसम्म सशस्त्र प्रहरी बलका राष्ट्रसेवकले अहोरात्र खटिई सीमा सुरक्षा गर्दै आइरहेका छन् । आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको कसैले नजरअन्दाज गर्न सक्ने अवस्था छैन । 

विपत्को समयमा सबैले सबैभन्दा पहिला राज्यलाई सम्झँदा सशस्त्र प्रहरीको छवि अगाडि आउने गरेको यथार्थ छर्लंग छ । सबै प्रकारका विपत्हरूमा सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिँदै आएको छ । चाहे त्यो २०७२ सालको भुइँचालो होस् वा भर्खरै जाजरकोटमा गएको भुइँचालो, बाढी, पहिरो, डुबान, सडक दुर्घटनाजस्ता सबै घटनामा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरू आफ्नो ज्यानको बाजी लगाएर विपत्पीडितको उद्धारमा खटिइरहेका छन् । विपत् न्यूनीकरणका लागि विद्यालय र समुदायमा गरी वार्षिक झन्डै एक लाखजनालाई सुसूचित गर्दै आएको छ ।

नेपालको संविधान ०७२ ले सशस्त्र प्रहरी बल नेपाललाई केन्द्रीय सुरक्षा फौजका रूपमा रहने व्यवस्था गरेको छ । सुरक्षा निकायहरू संघीयताको पूर्ण अभ्यासमा जाँदा त्यसबाट आउन सक्ने सुरक्षा चुनौती, व्यावहारिक सुरक्षा खाडललाई कसरी पूर्ति गर्न सकिन्छ भन्ने कुरामा सशस्त्र प्रहरी बलले सूक्ष्म अध्ययन र समीक्षा गरी योजनाबद्ध तरिकाले आवश्यक तयारी गरिरहेको छ । 

हाल ३७ हजारको हाराहारीमा रहेको सशस्त्र प्रहरी सबै जिल्लामा परिचालित छ । राज्यको आवश्यकता र सर्वसाधारणको माग बढेको छ । तर, निश्चित संख्या र फर्मेसनमा खटिनुपर्ने फौज स–सानो संख्यामा खटिँदा एउटै व्यक्ति लामो समयसम्म डिउटीमा खटिनुपर्ने अवस्थाले गर्दा सशस्त्र प्रहरी कर्मचारीमा मानसिक समस्यासमेत देखिने गरेको छ । सरकारको नेपाल–भारत तथा चीन सीमामा बिओपीको संख्या ५०० बनाउने योजनाका सन्दर्भमा हालको अवस्थाको परिचालनलाई हेर्दा करिब आधा लक्ष्य मात्र पूरा भएको देखिन्छ । थप २५० बिओपीका लागि ठूलो संख्यामा जनशक्ति, ब्यारेक भवन, आधुनिक हातहतियार तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पर्छ । यसका साथै आन्तरिक सुरक्षा मजबुत पार्ने तथा उच्च विपत् जोखिमको स्थितिमा रहेको मुलुकमा जुनसुकै वेला हुन सक्ने महाविपत्का घटनामा परिचालन गर्न दीर्घकालीन योजना बनाई सशस्त्र प्रहरीको संख्या वृद्धि आवश्यक देखिन्छ ।

आधुनिक प्रविधि, हातहतियार, भिड नियन्त्रणका सामान तथा सवारीसाधनमा वृद्धि र आधुनिकीकरण अर्को महत्वपूर्ण आवश्यकता हो । हाल प्रयोगमा रहेका तर संसारका अन्य देशमा बिरलै प्रयोग हुने पुराना हातहतियार, वर्षौं पुराना गाडी र न्यून भिड नियन्त्रणका सामानलाई समयसापेक्ष रूपमा बदल्दै लैजान सकेको खण्डमा मात्र आधुनिक समाजमा हुने अपराध नियन्त्रण, सीमामा हुने अवैध तथा आपराधिक गतिविधि नियन्त्रण र प्रविधिले पोख्त नयाँ पुस्ताको अपेक्षा पूरा गर्न सहज र सम्भव हुन्छ ।

(खनियाँ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हुन्)

ad
ad