१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबारको स्वरूप बदल्ने गुरुयोजना कार्यान्वयनतर्फ

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:३७:oo

आधा दर्जनभन्दा बढी कार्यालय हटाइँदै, सबै मन्त्रालयका आ–आफ्नै भवन, स्वास्थ्य मन्त्रालय बाहिरै रहने

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको स्वरूप बदल्ने गरी तयार पारिएको ‘सिंहदरबार परिसरको संशोधित गुरुयोजना’ कार्यान्वयनतर्फ अघि बढेको छ । गत २३ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले गुरुयोजना पास गरेसँगै सरकारले योजनामा समेटिएका कार्यक्रम अघि बढाउन थालेको हो । 

नयाँ गुरुयोजनामा मुख्यतः सिंहदबारमा तीन मन्त्रालयको भवन नयाँ बनाउने, प्रधानमन्त्री कार्यालयका लागि हेलिप्याड, मल्टिस्टोरेज पार्किङ, हराभरा पार्कलगायत संरचना निर्माण समेटिएका छन् । गुरुयोजनाअनुसार सहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयको भवन नयाँ बन्दै छ । हाल परराष्ट्र मन्त्रालयको भवन निर्माणका लागि डिपिआर भएर निर्माण प्रक्रिया अघि बढिसकेको छ । तर, अन्य गुरुयोजना कार्यक्रममाथि भने थप अध्ययन र डिपिआर बाँकी रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयकी आर्किटेक्ट इन्जिनियर आकृति रिमालले जानकारी दिइन् । उनका अनुसार गुरुयोजना तयार भएर कुन कार्यालय कहाँ रहने र बन्ने विषय निक्र्योल भइसकेको छ । तर, गुरुयोजनामा समेटिएको काम कहिले पूरा हुने हो भन्ने टुंगो छैन । 

अर्थ मन्त्रालयले बजेट छिटो निकासा गरिदिएमा पाँच–सात वर्षमा गुरुयोजनाले पूर्णता पाउने अनुमान गरिएको छ । ‘गुरुयोजनाअनुसार काम गर्दा सिंहदरबार अहिले भइरहेको भन्दा धेरै फरक देखिनेछ । तर, यी सबै योजना सकिन धेरै समय र ठूलो लागत लाग्छ । सबै गरेर कति लागत लाग्छ भन्नेबारे थाहा पाउन अझै अध्ययन आवश्यक छ,’ उनले भनिन्, ‘साना कार्यालय तथा टहरा हटाएर सिंहदरबारलाई हरियाली र व्यवस्थित गर्न गुरुयोजना छिटो कार्यान्वयनतर्फ लैजानुपर्छ ।’ योजनाअनुसार थप अध्ययन गर्ने र डिपिआर तयार पार्ने प्रक्रिया सहरी विकास मन्त्रालयले अघि बढाएको उनको भनाइ छ । गुरुयोजनाभित्र समेटिएअनुसार हाल परराष्ट्र मन्त्रालयको भवन निर्माणको प्रक्रियासमेत अघि बढेको छ । गुरुयोजनाअनुसार परराष्ट्र मन्त्रालयको नयाँ भवन उद्योग मन्त्रालयको साइटमा निर्माण गरिँदै छ भने भवन निर्माण गर्न स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पुगेको छ । 

सिंहदरबारपरिसरको क्षेत्रफल आठ सय ८१ रोपनी छ । संघीय संसद्, सर्वाेच्च अदालत, चण्डी दल गणलाई दिएको जग्गाबाहेक ५२५.८ रोपनी छ । हाल सिंहदरबारको कुल क्षेत्रको ३३ प्रतिशत क्षेत्रफल भवनसहित कुनै न कुनै भौतिक संरचनाले ओगटेको छ । तर, आधा दर्जनभन्दा बढी कार्यालय र अस्थायी प्रकृतिका टहरा हटाएर २७.७४ प्रतिशत हाराहारी क्षेत्रफल खुला क्षेत्र कायम गरिनेछ । यो खुला ठाउँमा मुख्यतः हराभरा पार्क निर्माण हुनेछन् ।

सबै मन्त्रालयलाई सिंहदरबारको घेराभित्र राख्ने भनिए पनि ठाउँ तथा भवन अभावका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भने पुरानै ठाउँमा यथावत् राखिने भएको छ । यसअघि गुरुयोजना पास नहुँदै हालको संसद् सचिवालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय सार्ने चर्चा चलेको थियो । अब संसद् सचिवालयका दुईवटा ब्लकमध्ये एउटा ब्लकमा वन तथा वातावरण र अर्कोमा खानेपानी मन्त्रालय बस्नेछन् । हाल खानेपानी मन्त्रालय भौतिक मन्त्रालयको भवनमा छ भने वन मन्त्रालय भूमिसुधारको मन्त्रालयमा बस्दै आइरहेको छ । एउटै ब्लकमा दुई–दुईवटा मन्त्रालय चलाउँदा साँघुरो भएको भन्दै सबै मन्त्रालयका आ–आफ्नै निजी भवन हुने गरी गुरुयोजनामा समेट्न थालिएको हो । गुरुयोजनाको सबै कार्य सहरी विकास मन्त्रालयले गर्नेछ । मन्त्रालयले एक वर्षभित्र यी मन्त्रालयलाई आ–आफ्नो भवनमा सार्नेछ । 

त्यस्तै, गुरुयोजनाअनुसार सार्न थालिएको युवा तथा खेलकुद मन्त्रालय हाल वित्त आयोगको भवनमा छ । यो मन्त्रालयका लागि पनि नयाँ भवन बनाइनेछ । हाल सहरी विकास मन्त्रालय रहेको भवन पनि खाली गरिनेछ । सो मन्त्रालयका लागि पनि नयाँ भवन निर्माण गरिनेछ । वित्त आयोगदेखि सहरी विकास मन्त्रालयसम्म मल्टिस्टोर पार्किङको व्यवस्था गरिनेछ । सहरी विकास मन्त्रालयले तयार पारेको गुरुयोजनामा हाल रक्षा मन्त्रालय रहेको अगाडि युवा तथा खेलकुद मन्त्रालयको भवन बन्नेछ । त्यस्तै, सहरी विकास मन्त्रालयको भवन रेडियो नेपालको अगाडिपट्टि रहेको जग्गामा बन्नेछ । गृह मन्त्रालयको पनि पुरानै ठाउँमा भवन निर्माणाधीन छ । परारष्ट्र मन्त्रालयको भवन उद्योग विभागको नजिकै रहेको खाली ठाउँमा बन्नेछ ।

संवेदनशील र महत्वपूर्ण कार्यालय सिंहदरबारमै
गुरुयोजनाअनुसार संवेदनशील र महत्वपूर्ण कार्यालय सिंहदरबार घेराभित्र रहने निक्र्योल भएको छ । सर्वाेच्च अदालत, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सेनाको चण्डी दल गण, गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्र, के–३ स्टेसन (विद्युत् स्टेसन), ग्यालरी बैठक सिंहदरबार परिसरभित्रै रहन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, पुरातत्व तथा राष्ट्रिय अभिलेखालय, संयुक्त निगरानी केन्द्र, सुविधासम्पन्न पार्क, राष्ट्रिय योजना आयोग, रेडियो नेपाल, नेपाल टेलिभिजन, महानगरीय प्रहरी सिंहदरबार बटालियनलगायत कार्यालय पनि सिंहदरबारभित्र राख्ने गरी गुरुयोजना बनेको छ । यस्तै, सिंहदरबारको चारैतिर घेर्ने गरी व्यवस्थित पर्खाल लगाइनेछ । सिंहदरबार प्रवेश गर्ने तीनवटा आधुनिक गेट निर्माण हुनेछन् । राष्ट्रिय योजना आयोगको कार्यालयलाई हाल गृह मन्त्रालय बसेको ठाउँमा सारिनेछ । गुरुयोजनाअनुसार हाल सिंहदरबारभित्रै रहेका राष्ट्रिय सतर्कता केन्द्र, मुद्रण विभाग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभाग, प्रशासनिक अदालत, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायतलाई बाहिर निकालिँदै छ ।

ad
ad