१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १ सोमबार ०८:१६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री एकदिवसीय कप : सन्दीपको शतकमा एपिएफको विजयी सुरुवात

एपिएफले पहिलो खेलमै जित निकाल्यो, बागमतीको लगातार दोस्रो हार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १ सोमबार ०८:१६:००

सन्दीप जोराको शतकप्रेरित विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहितकुमार पौडेलेको कप्तानीमा रहेको एपिएफले बागमती प्रदेशमाथि ८९ रनको सहज जित निकालेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४१ रन बनाएको थियो । प्रत्युत्तरमा बागमतीले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनायो । 

राष्ट्रिय टोलीका कप्तान रोहितले आफ्नो कप्तानीमा एपिएफका लागि डेब्यु जित निकालेका छन् । गत संस्करणमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलेका रोहित यसपटक एपिएफ क्लबमा आबद्ध भएका हुन् । प्रशिक्षकका रूपमा ज्ञानेन्द्र मल्लले पनि डेब्यु जित पाए । गत वर्ष उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् । पिएम कपबाट उनी प्रशिक्षकको भूमिकामा देखिएका हुन् । जितसँगै एपिएफले २ अंक जोडेको छ । लगातार दोस्रो हार व्यहोरेको बागमती अंकविहीन छ । पहिलो खेलमा बागमती नेपाल पुलिस क्लबसँग ६८ रनले पराजित भएको थियो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको अर्काे खेलमा कर्णालीले गण्डकीमाथि सात विकेटको जित निकालेको छ ।

कप्तान रितको अर्धशतक
एपिएफविरुद्ध बागमतीका कप्तान रित गौतमले अर्धशतकीय इनिङ्स खेले । ओपनर आशुतोष घिरैयाले ४१ रनको योगदान गरेका हुन् । पहिलोपटक बागमतीको कप्तानी सम्हाल्ने अवसर पाएका रितले ८९ बलमा ६० रन बनाए । आठ चौका प्रहार गरेका रित मौसम ढकालको बलमा अमर रौटेलाबाट क्याच आउट भए । आशुतोषले ५७ बलमा ४१ रनको योगदान गरेका हुन् । रविन जोशीले अविजित २० र विवेक मगरले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

दोस्रो विकेटका लागि रित र आशुतोषले ५६ रनको साझेदारी गरेका थिए । बलिङतर्फ एपिएफका कप्तान रोहितले सर्वाधिक चार विकेट लिए । रोहितले ९ ओभरमा एक मेडनसहित २६ रन मात्र खर्चिए । राष्ट्रिय टोलीका अन्य सदस्य अविनाश बोहरा र श्याम ढकालले समान दुई विकेट लिँदा पूर्ण विक र भुवन कार्कीले समान एक विकेट लिएका थिए । 

टोली सम्हाले, आफूले शतक हाने
एपिएफको जितमा युवा ब्याटर सन्दीप जोराले शतक बनाएका छन् । ४१–४ को नाजुक अवस्थामा रहेको एपिएफलाई सन्दीपले जितको आधार तय गरेका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४१ रनको योगफल तयार पारेको थियो ।

पाँचौँ नम्बर क्रिजमा आएका सन्दीपले ११२ रन बनाए । सन्दीपले आफ्नो करिअरमा बनाएको यो उच्च स्कोर हो । उनले ११७ बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ११२ रन बनाएका हुन् । उनलाई रिजन ढकाल र विकेटकिपर रविन जोशीले रनआउट गराएका हुन् । सन्दीप प्रतियोगितामा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । 

उद्घाटन खेलमा नेपाल पुलिसका रसिद खानले बागमतीविरुद्ध नै शतक बनाएका हुन् । एपिएफका लोकेश बमले २७, अमरसिंह रौटेलाले २२, अविनाश बोहराले अविजित १८, ओपनर आसिफ शेखले १५, अर्का ओपनर प्रज्ज्वल शाही र भुवन कार्कीले समान १० रन बनाएका छन् । यसअघि कप्तान रोहित पाँच बलमा २ रन बनाएर आउट भए ।

चौथो विकेटका रूपमा सूर्य तामाङले समित महर्जनलाई एलबिडब्लू धरापमा पारेपछि एपिएफ संकटमा परेको थियो । छैटौँं विकेटका लागि सन्दीप र लोकेशले ६६ तथा आठौँ विकेटको लागि सन्दीप र अमरसिंहबीच ६८ रनको साझेदारी भएपछि एपिएफ ठूलो स्कोरतर्फ बढेको हो । बागमतीका लागि सूर्यले तीन विकेट लिए । प्रतिश जिसी र रिजन ढकालले समान दुई तथा सोनु देवकोटाले एक विकेट हात पारेका हुन् । 

कर्णालीको सहज जित
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । सुरुवाती ब्याटिङ गरेको गण्डकीले ४५ ओभरमा नौ विकेट गुमाउँदै १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कर्णालीले ३३.२ ओभरमा तीन विकेट गुमाउँदै विजयी सुरुवात गरेको हो । गण्डकीको भने लगातार दोस्रो हार हो । पहिलो खेलमा गण्डकी लुम्बिनी प्रदेशसँग चार विकेटको पराजित भएको थियो ।

 कर्णालीको जितमा हिमांशु शाहीले अर्धशतकीय इनिङ्स खेले । उनले ७१ बलमा पाँच चौका र दुई छक्कासहित ५३ रन बनाएका हुन् । निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले अविजित १० रनको योगदान दिए । बलिङमा गण्डकीका अंकित न्यौपाने र विपिन खत्रीले समान दुई विकेट लिए । 

चलेन गण्डकीको ब्याटिङ 
अग्रपंक्तिका पाँच ब्याटर चल्न नसक्दा गण्डकीले प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनायो । गण्डकीका अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए ।

अग्रपंक्तिका पाँच खेलाडी २२ बनाउँदा गुमाएपछि गण्डकी थप दबाबमा आएको थियो । ७.३ ओभरमा १४ रन बनाउँदा चार विकेट गुमाएको हो । छैटौँ नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे । कर्णालीका अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई विकेट लिए । प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले समान एक विकेट लिए ।