१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष २७ शुक्रबार १०:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के जो बाइडेन नयाँ जिम्मी कार्टर हुन् ?

Read Time : > 2 मिनेट
२०८० पौष २७ शुक्रबार १०:२३:००

सन् २०२३ का अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सन् १९७९ का अमेरिकी राष्ट्रपति जिमी कार्टरसँग तुलना गरिँदै छ । सन् १९७९ का घटनाक्रमका कारण लगत्तैको वर्षमा कार्टरको पुनः चुनावी विजय हासिल गर्ने सपना तुहिएको थियो । अहिले सन् २०२३ को घटनाक्रम हेरेर यही नोभेम्बरको चुनावमा बाइडेनको पनि कार्टरकै जस्तो हालत हुने आकलन देख्न–सुन्न सकिन्छ ।

स्पष्टतः कार्टर र बाइडेन दुवैले निराशाजनक मुद्रास्फीतिको सामना गरेका थिए । तर, कार्टरकालको मुद्रास्फीति धेरै खराब थियो, अर्थात् चुनाव हुनुभन्दा ठीक एक वर्षअघि नोभेम्बर १९८९ मा अमेरिकामा उपभोक्ता मूल्य मुद्रास्फीति १२.६ प्रतिशतमा चलिरहेको थियो । नोभेम्बर २०२३ मा उपभोक्ता मूल्य मुद्रास्फीति निकै कम अर्थात् ३.१ प्रतिशत मात्रै थियो । दुवै मुद्रास्फीतिमा ठूलो अन्तर छ, तर मुद्रास्फीति बाइडेनका लागि राजनीतिक मामिला पक्कै हो । दोस्रो, कार्टरले झैँ बाइडेनले केन्द्रीय बैंक फेडरल रिजर्भलाई समस्या समाधान गर्न पूर्ण स्वतन्त्रता दिएका छन् ।

इतिहासले अमेरिकी जनताले सकारात्मकता रोज्ने देखाए पनि यसले अमेरिकी जनता आश्चर्यजनक नतिजा ल्याउन उद्यत् हुन्छन् भन्ने पनि देखाउँछ

पल भोकरलाई मुद्रास्फीति मामिलामा जानकार भएका कारण कार्टरले अमेरिकी फेडरल रिजर्भ बोर्डको अध्यक्षका रूपमा चयन गरेका थिए । भोकरले ब्याजदर बढाउनेमा कार्टर जानकार थिए । भोकरको नियुक्तिले राष्ट्रपतिको पुनः निर्वाचन हुने सम्भावनालाई क्षति पु¥याउनेछ भनेर कार्टरका राजनीतिक सल्लाहकार बर्ट लान्सको चेतावनी थियो, तैपनि कार्टरले भोकरलाई नियुक्ति गरे । कार्टरले चुनावअघि हस्तक्षेपकारी भूमिका ननिभाउने निर्णय पुराना राष्ट्रपतिको नीतिभन्दा फरक थियो, उदाहरणका लागि रिचर्ड निक्सनको १९७२ चुनावअघिको नीतिलाई लिन सकिन्छ ।

बाइडेनले जेरोम पावेल नेतृत्वको फेडरल रिजर्भलाई पनि घर खरिददार र अन्यको गुनासोका बाबजुद ब्याजदरलाई स्वतन्त्र रूपमा परिवर्तन गर्न दिएका थिए । यसबाहेक फेडरल रिजर्भको आलोचना नगर्ने बाइडेनको नीति उनको पूर्ववर्ती डोनाल्ड ट्रम्पको नीतिविपरीत छ ।

यसबाहेक दुई राष्ट्रपतिका विदेश मामिला विशेषतः इरान मामिलामा समानता देख्न सकिन्छ । नोभेम्बर १९७९ मा विद्यार्थी प्रदर्शनकारीले तेहरानस्थित अमेरिकी दूतावासमा हमला गरेर ६६ जना अमेरिकीलाई बन्धक बनाएका थिए । लगत्तै पेरिस निर्वासनबाट फर्केका आयोतोल्लाह रुहोल्लाह खोमेनी अमेरिकालाई ‘विशाल सैतान’को नाम दिएका थिए । त्यसउपरान्त अमेरिकाप्रतिको नीति पनि ‘विशाल सैतान’को आरोपअनुरूप नै भयो । यी बन्धक अन्ततः जनवरी १९८१ मा रोनाल्ड रेगनले शपथ लिएको केही मिनेटमै छुटे । बन्धक छुटाउने प्रयासमा भएको असफलता कार्टरको चुनावी असफलताको कारण बन्यो । र, यो असफल विदेश नीतिको द्योतक बन्यो । 

आज बाइडेन प्रशासनले सिरिया र लेबनानमा इरानको आक्रामकता व्यहोरिरहेको छ, अर्थात् इरानले हेजबुल्लाहले इजरायलमाथि गरिरहेको क्षेप्यास्त्र प्रहारको समर्थन गरिरहेको छ । त्यसैगरी, इरानले रेड सीबाट चलिरहेका मालबाहक जहाजमा हाउथी समूहको आक्रमणलाई पनि समर्थन गरिरहेको छ । यसबाहेक गाजामा हमासले बन्धक बनाएका मानिस मूलतः इजरायली छन्, जसमा थोरै संख्यामा इजरायल र अमेरिका दुवैको राष्ट्रियता बोक्ने मानिस छन् ।

यो अवस्थामा युद्धविराम गराउन नसक्नु वा बन्धक छुटाउन पहलकदमी लिन नसक्नुले बाइडेनको अकर्मण्यता झल्काउँछ । यता अमेरिका समर्थित युक्रेनी सेनाले २०२३ को ग्रीष्मकालीन आक्रमणमा रुसविरुद्ध प्रगति गर्न सकेका थिएनन् । यससँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रामकतालाई रोक्न अमेरिकी प्रतिबन्ध विफल हुनुले अमेरिकी विदेश नीति अव्यस्थित छ भन्ने धारणालाई बलियो बनाएको छ । यो सबैले बाइडेनको स्वीकार्यता सूचकांक (अप्रभल रेट) अत्यधिक घटाएको छ । यो सूचकांक कार्टरको सन् १९७९ को सूचकांकभन्दा निकै कम हो ।  

यो तुलना बाइडेनका लागि अर्थपूर्ण छ । स्वयं बाइडेन जब कान्छो अमेरिकी सिनेटर थिए, तब उनले कार्टरका लागि सन् १९८० को चुनाव लडेर राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि गरेको प्रयासमाथि शंका गरेका थिए । उनले चुनावले कार्टर वा डेमोक्य्राटिक पार्टीलाई मद्दत गर्छ भन्नेमा शंका गरेका थिए ।

तर, यी समानतालाई एकातिर राख्ने हो भने बाइडेन र कार्टरबीच महत्वपूर्ण भिन्नता विशेषतः राजनीतिक अडानमा देखिन्छन् । कार्टर अमेरिकीको चिन्ताजनक मानसिक अवस्था र तिनको मुलुकप्रतिको दृष्टिकोणबारे चिन्तित थिए । जुलाई १९७९ मा उनले ‘मेलिज (निराशा) भाषण’ गरेका थिए । उनले अमेरिकीको विश्वासको संकटको निन्दा गर्दै ‘आफ्नै जीवनमा शंका बढिरहेको’ र ‘मुलुकका लागि राष्ट्रिय एकता हुन नसकेको’ गुनासो गरेका थिए । कार्टरले ‘अमेरिकीहरू सरकारमा मात्र नभई नागरिक आफू लोकतन्त्रको अन्तिम शासक र आकारकर्ता हो भन्नेमा पनि’ विश्वास गुमाउँदै गएका भनेका थिए । यो भनाइ सुन्दा अहिले पनि सान्दर्भिक लाग्दैन र ? 

वास्तवमा कार्टरको भाषण सम्पूर्ण रूपमा नकारात्मक थिएन । तर, भाषणलाई विशेषतः रोनाल्ड रेगनले नकारात्मक बनाएका थिए र यस क्रममा उनले आफूलाई ‘खुसी फैलाउने लडाकु’को संज्ञा दिँदै मुलुकमा कुनै निराशा नरहेको जनाएका थिए । यो सकारात्मक सन्देशले रेगनलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो । सन् १९७९–८० ती अँध्यारा दिनमा रेगनको तेजिलो विश्वासले कार्टरको सख्त निराशाजनक अभिव्यक्तिलाई पछारेको थियो । 

अहिलेका राष्ट्रपति बाइडेन सकारात्मक छन्, उनी अमेरिकी राम्रो बाटोमा हिँडिरहेकामा जोड दिन्छन् । बरु ठीकविपरीत बाइडेनका मुख्य प्रतिस्पर्धी ट्रम्प मुलुकमा निराशा रहेको जनाउँछन्, प्रतिशोधको माग गर्छन् र हरेक मोडमा खतरा देख्छन् । इतिहासले अमेरिकी जनता सकारात्मकता रोज्छन् भन्ने देखाएको छ, तर यति भन्दै गर्दा इतिहासले अमेरिकी जनता आश्चर्यजनक नतिजा ल्याउन उद्यत् हुन्छन् भन्ने पनि देखाउँछ ।

(आइचनग्रिन क्यालिफोर्निया विश्वविद्यालय बर्कलेका अर्थशास्त्र एवं राजनीतिशास्त्रका प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट