
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन्।
अमेरिकी लेखक मारियान विलियम्सन र सांसद डीन फिलिप्सको चुनौती रहेको बताइएका बाइडेनले अलाबामा, म्यासाचुसेट्स, मेन, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, भर्जिनिया र भर्मोन्टको डेमोक्र्याटिक प्राइमरीमा विजयी हुनुका साथै आयोवामा पार्टीका तर्फबाट उम्मेदवार चयन भएका छन्।
ट्रम्पले अलाबामा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी र भर्जिनियामा हुने रिपब्लिकन प्राइमरी प्रतिस्पर्धामा दक्षिण क्यारोलिनाका पूर्वगभर्नर तथा संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निक्की हेलीलाई पराजित गर्ने अनुमान गरिएको छ।
सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्राथमिक दौडको लागि सबैभन्दा महत्वपूर्ण दिन ‘सुपर ट्यूस्डे’ को रातमा अनुमानित परिणामहरू आउने क्रम जारी छ।
क्यालिफोर्निया र टेक्सासलगायत १५ राज्य तथा समोआमा मंगलबार प्राथमिक निर्वाचन सम्पन्न भएको छ।
आयोवाको डेमोक्र्याटिक्स पार्टीले आफ्नो राष्ट्रपतीय उम्मेदवार चयनका लागि भएको मतदानको नतिजा सार्वजनिक गरेको छ।
अमेरिकी समाचारर संस्था, एसोसिएटेड प्रेस (एपी) र एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चले हालै गरेको एक सर्वेक्षणले सन् २०२० को चुनावमा ८१ वर्षीय बाइडेन र ७७ वर्षीय ट्रम्पको मानसिक क्षमतामा अमेरिकी वयस्कको ठूलो हिस्साले शंका व्यक्त गरेको देखाएको छ।
सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाभन्दा बढीले बाइडेनको राष्ट्रपतिको रूपमा प्रभावकारी रूपमा काम गर्न सक्ने मानसिक क्षमतामा आफू विश्वस्त नभएको बताएका छन् भने ५७ प्रतिशतले ट्रम्पमा काम गर्ने क्षमता र तीक्ष्णताको कमी रहेको बताएका छन्।
सर्वेक्षण रिपोर्ट अनुसार हरेक पाँचमध्ये चार अमेरिकी वयस्कले संयुक्त राज्य अमेरिका गलत दिशामा गइरहेको ठान्छन् भने पाँचमध्ये एकजनाले सही दिशामा गइरहेको बताएका छन्।