१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:४१:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अधिकांश अमेरिकी बाइडेन प्रभावशाली राष्ट्रपति हुन नसक्ने मान्छन्

सन् २०२० मा बाइडेनलाई मत दिएका मतदातामध्ये ६१ प्रतिशतले बाइडेनको उमेरका कारण दोस्रो कार्यकालका लागि उम्मेदवार हुन उपयुक्त नभएको धारणा व्यक्त गरेका छन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४१:oo

न्युयोर्क टाइम्स र सिएना कलेजले संयुक्त रूपमा गरेको पछिल्लो मत सर्वेक्षणअनुसार अमेरिकाका अधिकांश मतदाताले जो बाइडेन धेरै बूढो भएकाले प्रभावशाली राष्ट्रपति हुन नसक्ने धारणा व्यक्त गर्छन् । सर्वेक्षणको नतिजाअनुसार मतदाताका रूपमा नाम दर्ता गरेकामध्ये ७३ प्रतिशतले बाइडेन धेरै बूढो भएको धारणा व्यक्त गरेका छन् । यस मत सर्वेक्षणको परिणामले ८१ वर्षीय राष्ट्रपति बाइडेनको मानसिक क्षमतामाथि प्रश्न गरेको छ ।

सन् २०२० मा बाइडेनलाई मत दिएका मतदातामध्ये ६१ प्रतिशतले बाइडेनको उमेरका कारण दोस्रो कार्यकालका लागि उम्मेदवार हुन उपयुक्त नभएको धारणा व्यक्त गरेका छन् । तिमध्ये  २६ प्रतिशतले बाइडेन राष्ट्रपतिका लागि धेरै बूढो भएको भन्नेमा बलियो विश्वास व्यक्त गरेका थिए भने बाँकी ३५ प्रतिशतले केही हदसम्म सहमति जनाएका थिए । 

यो बृहत्तर मत सर्वेक्षणले अधिकांश मतदाता बाइडेनको उमेरलाई लिएर चिन्तित रहेको देखाएको छ । बाइडेनले भाषणमा एउटा विश्वनेताको नामको साटो अर्कै नेताको नाम भन्ने, धेरै पहिले मरिसकेको नेतासँग भर्खरै भेटेको भन्ने गरेको र भाषणपछि हावामा हात मिलाएका विभिन्न भिडियो क्लिप समाजिक सञ्जालमा आइरहन्छन् । यस्ता हर्कतले मतदातामाझ बाइडेनले राष्ट्रपति चुनाव जिते भने प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने क्षमतामै प्रश्न उठ्न थालेको छ ।

बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प बाइडेनभन्दा चार वर्ष मात्र कान्छा भए पनि उनीमाथि बुढ्यौलीका कारण कार्यसम्पादनमा असर पर्न सक्ने आशंका उठेको छैन

यस्तो विश्वास बढ्दा बाइडेनको चुनावी अभियानलाई झट्का लाग्ने उनको टिममा पहिलेदेखि डर थियो । बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प बाइडेनभन्दा चार वर्ष मात्र कान्छा भए पनि उनीमाथि बुढ्यौलीका कारण कार्यसम्पादनमा असर पर्न सक्ने आशंका उठेको छैन । ८१ वर्षको उमेरका बाइडेनले उम्मेदवारी पाए भने उनी अमेरिकी इतिहासमा पुनः निर्वाचित हुन खोज्ने सबैभन्दा वृद्ध राष्ट्रपति हुनेछन् । 

चुनावका लागि नौ महिना मात्र बाँकी रहँदा बाइडेनको अनुमोदन दर बढ्दै गएको छ । एकपछि अर्को मत सर्वेक्षणमा बाइडेन सामान्यतया ट्रम्पभन्दा पछि देखिन्छन् । बाइडेनका बढ्दो अलोकप्रियतामा मुख्यतः उनको बुढ्यौली र त्योसँगै बढ्दै गएको समस्या जोडिएको विश्वास गरिन्छ । द न्युयोर्क टाइम्स/सिएना अध्ययनमा बाइडेनको बुढ्यौलीका कारण उनले राष्ट्रपतिको रूपमा गर्नुपर्ने काम सम्हाल्न सक्षम हुनेछैनन् भन्ने विश्वास गर्नुहुन्छ भन्ने प्रश्नमा कुल दर्ता भएका मतदातामध्ये ४५  प्रतिशतले सहमति जनाएका छन् । यस्तो सहमति व्यक्त गर्नेमा चार वर्षअघि बाइडेनलाई मतदान गर्नेहरूसमेत छन्, जसको हिस्सा १९ प्रतिशत पाइएको छ । 

यसबीच, कुल दर्ता भएका मतदातामा, २६ प्रतिशतले भने बाइडेनको उमेरले उनको प्रभावकारिता कम भए पनि उनी अझै पनि राष्ट्रपतिको काम राम्रोसँग सम्हाल्न सक्षम भएको विचार व्यक्त गरे । सन् २०२० मा उनलाई मत दिनेमध्ये, ४१ प्रतिशत यस विचारका समर्थक थिए । उता बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प प्रभावकारी राष्ट्रपति हुन नसक्ने गरी बूढो भएकोमा सहमत हुनुहुन्छ भन्ने प्रश्नमा कुल दर्ता भएका मतदाताको ४२ प्रतिशत सहमति जनाए । यो संख्या पनि तुलनात्मक उच्च भए पनि बाइडेनको प्रश्नमा सहमति जनाउने ७३ प्रतिशतभन्दा निकै कम हो ।

सन् २०२० मा ट्रम्पलाई मतदान गर्नेहरूमध्ये पाँच प्रतिशतले मात्र यस कथनमा बलियो विश्वास गर्ने बताएका थिए भने थप नौ प्रतिशतले ट्रम्पलाई पहिले मत दिएकाले केही हदसम्म यस भनाइमा सहमत भएको बताएका थिए । कुल दर्ता भएका मतदातामध्ये २१ प्रतिशतले ७७ वर्षीय ट्रम्पको उमेरले उनको प्रभावकारिता घटाए पनि उनी अझै राम्रो राष्ट्रपति हुने विश्वास व्यक्त गरेका छन् । जम्मा १९ प्रतिशत दर्ता गरिएका मतदाताले मात्र ट्रम्प काम राम्ररी सम्हाल्न नसक्ने गरी बूढो भएको बताएका छन् । 

न्युयोर्क टाइम्स/सिएना मतसर्वेक्षणको परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिने क्रममा बाइडेनको चुनाव अभियानका सञ्चार प्रबन्धक माइकल टायलरले ‘मत सर्वेक्षणले डोनाल्ड ट्रम्पलाई ‘लगातार बढी मूल्यांकन गरेको’ र बाइडेनलाई कम आकलन गरेको बताए । ‘मत सर्वेक्षणको परिणाम र आमअमेरिकीले चुनावको समयमा गर्ने मतदान फरक परिरहेको देखिएको छ,’ पोलिटिकोसँग बोल्दै टाइलरले भने । टायलरले सोही रिपोर्टिङमा अगाडि भने, ‘मत सर्वेक्षणले भन्दा सटिक चित्र विशेष चुनाव वा राष्ट्रपतिका प्राइमरीहरूमा मतदाताले देखाउने व्यवहारबाट आउँछ । यी चुनावबाट एकदम स्पष्ट चित्र आइरहेको छ, जो बाइडेन र डेमोक्य्राटहरूले डोनाल्ड ट्रम्प र उनी नेतृत्वको पार्टीलाई उछिनिरहेका छन् ।

रिपब्लिकन पार्टी अहिले कमजोर, आवश्यक रकमविहीन र गम्भीर रूपमा विभाजित छ । हाम्रो चुनावी अभियानले होहल्लालाई बेवास्ता गर्दै जित्नको लागि बलियो अभियान चलाइरहेको छ– जसरी हामीले २०२० मा चलाएका थियौँ ।’तर, सर्वेक्षणमा अमेरिकाको राष्ट्रपति चुनावका निर्णायक मानिने ‘स्विङ स्टेट’ एरिजोना, जर्जिया, मिसिगन, नेभाडा, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनका ८२ प्रतिशत  मतदाताले बाइडेन धेरै बूढा भएको विश्वास व्यक्त गर्नु बाइडेनको टिमका लागि चिन्ताजनक हुन सक्छ ।

तथापि सोही सर्वेक्षणमा नोभेम्बरमा मतदान गर्ने योजनामा रहेकामध्ये २८ प्रतिशतले ट्रम्प देशका लागि खतरनाक भएको विश्वास व्यक्त गरेका छन् । यसले बाइडेनलाई केही राहत दिन सक्छन् । ट्रम्पले उनीविरुद्ध बढ्दो कानुनी मुद्दा र रिपब्लिकन राष्ट्रपति मनोनयन सुनिश्चित गर्ने प्रयासमा उग्र वक्तव्यबाजी बढाइरहेको सन्दर्भमा उनलाई खतरा मान्नेहरू पनि बढिरहेका छन् । गत साताको अन्त्यमा सिप्याकमा दिइएको एक भाषणमा, ट्रम्पले आफूले जिते राजनीतिक विरोधीसँग ‘बदला लिने र कसैलाई नछाड्ने’ वाचा गरेका थिए । 

ट्रम्पको उग्रताको वृद्धिका बाबजुद अधिर्काश मतदाताको चिन्ता बाइडेनको उमेर र प्रभावकारितामै केन्द्रित देखिन्छ । गत महिना अर्को विश्वसनीय सर्वेक्षण संस्था ग्यालपले गरेको मतसर्वेक्षणले बाइडेनको अनुमोदन दर ३८ प्रतिशतले पाएको थियो, जुन जनवरीमा गरिएको मत सर्वेक्षणबाट तीन प्रतिशतले ह्रास हो । सो सर्वेक्षणमा सहभागीमध्ये ५९ प्रतिशत  वयस्क अमेरिकीले राष्ट्रपतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उता बाइडेनले गोप्य दस्ताबेज घर लगेको विषयमा अनुसन्धानपछि जारी ३८८ पृष्ठको प्रतिवेदनमा स्पेसन काउन्सल रोबर्ट हरले राष्ट्रपतिलाई ‘कमजोर स्मरणशक्ति भएको वृद्ध मानिस’ भने । सो प्रतिवेदन सार्वजनिक भएपछि दिइएको एक भाषणमा बाइडेनले आफ्नो स्मरणशक्ति राम्रो भएको दाबी गरेका थिए । 
– द गार्जियनबाट

ad
ad