१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:१५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

 बम्जनको ऐयासी जीवनशैली 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१५:oo

तीन करोड नेपाली, ३० लाख रुपैयाँबराबर विदेशी मुद्रा, दुई करोडको टोयोटा फर्च्युनरगाडी बरामद

पाँच करोड मूल्य पर्ने ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्ने तयारीमा रहेका बम्जनले तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको पाइएको छ

दुई दशकअघि बाराको निजगढस्थित जंगलमा तपस्वी बन्दा रामबहादुर बम्जनसँग शरीरमा बेरिएको सेतो रङको मैलो धोतीबाहेक केही थिएन । तर, अहिले उनीसँग काठमाडौंमा सुविधासम्पन्न निजी घर छ । आउजाउका लागि विलासी गाडी छ । मोटरसाइकल छन् । घरभित्रै जिमखाना छ । मेडिटेसन गर्ने छुट्टै हल छ । घर कम्पाउन्डमा सिसिक्यामेरा जडान छन् । अत्याधुनिक आइपड मात्र होइन, चाहेको वेला संसारसँग जोडिन सक्ने अत्याधुनिक मोबाइल डिभाइस छन् । 

सांसारिक मोहबाट मुक्त उनीसँग श्रीमती, नौ वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ‘लिटिल बुद्ध’ उपनामले चर्चित बारा निजगढ नगरपालिका– १२ रतनपुरीका ३४ वर्षीय बम्जनको विलासीपूर्ण जीवनशैली देखेर जो–कोही चकित पर्छन् ।  

मंगलबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली बुढानीलकण्ठ नगरपालिका– ६ टनगाउँस्थित उनको निजी निवास पुग्दा बम्जन नीलो रङको नाइट गाउनमा थिए । सुत्ने तर्खरमा रहेका उनले प्रहरी टोली घर कम्पाउन्डभित्र छिरेको भेउ नै पाउन सकेनन् । जब घरको मूलढोकामा राखिएको घन्टी बजाएर प्रहरी भित्र छिर्‍यो, बम्जन चकित परे । उनी नाइट गाउनमै घरको बार्दलीमा पुगे । र, भाग्न भन्दै चौथो तलाबाट भुइँमा हामफाले । पाँच वर्षदेखि प्रहरीको खोजीमा रहेका बम्जन बल्ल पक्राउ परे । ‘बम्जन काठमाडौंमा रहेको सूचना थियो । हामीले गोप्य रूपमा उनलाई पछ्याइरहेका थियौँ । मंगलबार उनी घरमै रहेको पक्का भएपछि हाम्रो टोली पुग्यो । हामी पुग्दा छतबाट हामफालेर भाग्न खोजे, यही क्रममा उनी पक्राउ परे,’ सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन् ।

बम्जन पक्राउ परेपछि प्रहरीले उनको घर खानतलासी लियो । घरको कोठामा भेटियो– नेपाली र विदेशी हजार र पाँच सय दरका नोटका गड्डी । एकत्रित गरी गन्दा गड्डीमा नेपाली तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र विभिन्न १७ मुुलुकका ३० लाख ९२ हजार चार सय ६ रुपैयाँबराबरको विदेशी मुद्रा भेटियो । प्रहरीका अनुसार उनले उक्त रकम ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्न जम्मा गरेका थिए । पाँच करोड मूल्य पर्ने गाडी खरिद गर्न तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेका थिए । ललितपुर महानगरपालिका– २२ बुङमतीका ४५ वर्षीय बौद्ध श्रवन धर्म संघका अध्यक्ष पनित महर्जनको नाममा खरिद गर्न लागिएको गाडी धुम्बराहीस्थित युनाइटेड टे«डर्स सिन्डिकेटको सो–रुमको हो । 

‘उनको घर खानतलासी गर्दा नेपाली रुपैयाँ तीन करोड तीन लाख ७५ हजार पाँच रुपैयाँ र विभिन्न १७ मुुलुकका ३० लाख ९२ हजार चार सय ६ रुपैयाँबराबरको विदेशी मुद्रा भेटियो । त्यसबाहेक मोटरसाइकल, पेनड्राइभ, भ्वाइस रेकर्डर, ल्यापटप, मोबाइल, आइप्याडलगायत सामग्री बरामद भएका छन् । योसँगै उनले थप नयाँ गाडी पनि खरिद गर्ने योजनामा रहेको देखिन्छ,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने ।

बम्जनविरुद्ध चार अनुयायी बेपत्ता अभियोग 
बम्जन निजगढसहित सिन्धुली र सिन्धुपाल्चोकको जंगलमा पनि आश्रम बनाई बस्दै आएका थिए । सिन्धुपाल्चोकमा उनको आश्रम बाँडेगाउँको जंगलमा थियो । आश्रममा नुवाकोट भेपाङ गाउँपालिका– ३ की २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १६ हिटयाकी ३० वर्षीया डोल्मा भनिने फूलमाया रुम्बा, हेटौँडा– १३ का ५१ वर्षीय सञ्चाला वाइबा कार्यरत थिए । जसमध्ये तामाङ ०६९ देखि, रुम्बा र वाइबा ०७१ देखि बेपत्ता छन् । त्यस्तै, बारा निजगढ नगरपालिका– १२ स्थित आश्रमबाट सिमरा उपमहानगरपालिका– १५ का ३४ वर्षीय सुरेश भनिने कुमार आले ०७२ देखि सम्पर्कविहीन छन् । उनीहरूको परिवारका सदस्यले बेपत्ता परेको भन्दै बम्जनविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । ‘बम्जनको विभिन्न ठाउँमा आश्रम थिए । आश्रम कार्यरत चार अनुयायी बेपत्ता पारिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ । यी घटनामा पनि अब अनुसन्धान हुन्छ,’ एसएसपी आचार्यले भने ।

बाल यौन दुराचार कसुर
तपस्वी बम्जनको बाराको हलखोरियामा आश्रम थियो । आश्रममा आनी (महिला अनुयायी) कार्यरत थिइन् । तिनै आनीमाथि बाल यौन शोषण गरेको आरोप उनीमाथि लाग्यो । आनीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिइन् । उनीमाथि अनुसन्धान सुरु भयो, तर उनी पक्राउ परेनन् । जिल्ला अदालत सर्लाहीले २३ माघ ०७६ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । तर, प्रहरीले धेरैपटक प्रयास गर्दा पनि सफलता पाउन सकेको थिएन ।

पछिल्लो समय सिन्धुलीको जंगलमा आश्रम बनाई बस्दै आएका उनी काठमाडौं आउने–जाने गर्थे । यही क्रममा उनी करिब तीन महिनाअघि बुढानीलकण्ठस्थित निवास आएका थिए । उनी श्रीमती र दुई बच्चासँगै चुपचाप बस्दै आएका थिए । मंगलबार पक्राउपछि उनलाई घटनामा थप अनुसन्धान गर्न जिल्ला अदालत सर्लाही लगिएको छ । जहाजमार्फत लगिएका उनीविरुद्धको बाँकी कारबाही अब सर्लाहीबाटै हुनेछ । ‘बम्जनविरुद्ध अहिले बाल यौन दुराचार र अवैध रूपमा रकम संकलन गरेको अभियोगमा अनुसन्धान हुनेछ । उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा छ । बाँकी अनुसन्धान उतैबाट हुनेछ । उनलाई बुधबार नै सर्लाही पठाएका छौँ,’ सिआइबीका एसएसपी आचार्यले भने ।

बम्जनले भने– विदेशी शक्ति लागे 
कक्षा ५ सम्म पढेका बम्जनसँग सम्मोहन गर्न सक्ने विलक्षण क्षमता छ । पक्राउपछि प्रहरीले उनीसँग सोधपुछ गरेको थियो । प्रहरीले यसक्रममा आश्रममा भएको बलात्कार, अनुयायी बेपत्ताजस्ता गम्भीर अपराधबारे केरकार गरेको थियो । उनले बयानमा घटनाको सहजै इन्कार गरेका थिए । ‘कसैलाई बलात्कार गरेको छैन । यौन दुराचार गरेको आरोप सरासर गलत हो । मेरो आश्रममा कोही बेपत्ता भएका छैनन् । यहाँले बेपत्ता भएका जसको नाम लिनुभयो, उनीहरूको जिम्मा म कसरी लिन सक्छु ? संसारमा दैनिक हजारौँ मान्छे बेपत्ता भएका होलान्, ती सबैको जिम्मा म लिन सक्छु ?’ उनको प्रतिप्रश्न थियो ।

सोधपुछका क्रममा निर्धक्क देखिएका बम्जनले आफूलाई प्रहरीले खोजिरहेको थाहा नै नभएको बताए । ‘प्रहरीले खोजिरहेको छ भन्नेबारे थाहै थिएन । थाहा पाएको भए यहाँ हुन्न थिएँ । भागिसकेको हुन्थेँ,’ उनले भने । आफ्नो पछि विधर्मी विदेशी शक्ति लागेको प्रसंग पनि उनले बयानका क्रममा उप्काए । विदेशी शक्ति आफूलाई बदनाम गराउन लागिपरेको उनको दाबी थियो । ‘म तपस्वी हुँ । मेरा पछि विधर्मी विदेशी शक्ति लागिपरेका छन् । उनीहरू मलाई बदनाम गराउन चाहन्छन् । ममाथि लागेका विभिन्न आरोप यसैका उदाहरण हुन्,’ उनले भने । आफूलाई पक्राउ गरेको सम्बन्धमा भने उनले प्रहरीलाई धन्यवाद दिए । पक्राउपछि आफ्नो कुरा राख्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका थिए ।

ad
ad