१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १८ बुधबार १०:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

तालिबानी अफगानिस्तानमा गोप्य शिक्षक हुनुको अनुभव

Read Time : > 2 मिनेट
२०८० पौष १८ बुधबार १०:३३:००

मैले आफ्ना विद्यार्थीलाई अंग्रेजी पढाउन जुमको लिंक पठाएकी छु । लिंक पठाएको केही समयमै मेरा विद्यार्थी मलाई कुरिरहेका छन् भन्ने नोटिफिकेसन पाउँछु । जब म विद्यार्थीसँग जोडिन्छु, तब मुस्कुराउँदै अंग्रेजीमा अभिवादन गर्छु । मलाई थाहा छ, मेरा विद्यार्थीले मेरो मुस्कुराहट देख्न पाउँदैनन् । किनभने, सुरक्षाका कारण म आफ्नो क्यामेरा खोल्दिनँ । तर, मेरा विद्यार्थी मेरो स्वर सुन्छन् । र, म मेरा विद्यार्थी र आफ्नै हौसला बढाउन सकेसम्मको प्रयत्न गर्छु । सन् २०२१ देखि हामीले बालिका एवं महिला शिक्षामाथि प्रतिबन्ध लगाउने तालिबान र मुलुकमा व्याप्त निराशा गरी दुई शत्रुविरुद्ध संघर्ष गरिरहेका छौँ । 

युनेस्कोका अनुसार तालिबानको प्रतिबन्धका कारण करिब २५ लाख बालिका र युवती विद्यालय जानबाट वञ्चित छन् । हाम्रा लागि विश्वविद्यालय बन्द हुनुभन्दा अगाडि तिनमा एक युवतीले उच्च शिक्षाको अवसर पाउँथे । अहिले झन्डै एक लाख युवती विश्वविद्यालयबाट वञ्चित छन् । हामी महिलालाई विदेशमा उच्च शिक्षा हासिल गर्नबाट पनि तालिबानले रोक लगाएको छ ।

विभिन्न इस्लामिक विद्वान्ले बारम्बार धर्ममा महिलालाई शिक्षाबाट वञ्चित गराउने कुनै आधार छैन भन्दै आएका छन् । आर्थिक कोणबाट हेर्ने हो भने पनि महिलामाथिको प्रतिबन्धको कुनै औचित्य देखिँदैन । युनिसेफका अनुसार बालिकालाई माध्यमिक शिक्षाबाट वञ्चित गराउँदा अफगान अर्थतन्त्रले वार्षिक करिब ५० करोड डलरबराबरको घाटा व्यहोर्छ । तालिबान सरकारले विभिन्न अन्तर्राष्ट्रिय संगठन एवं नियोगको आग्रहका बाबजुद महिलामाथिको प्रतिबन्ध हटाउन स्विकारेको छैन । 

राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाले हाम्रो शिक्षालाई औपचारिक रूपमा स्विकारी विद्यार्थीलाई औपचारिक प्रमाणपत्र दिएर सघाउन सक्छन्
 

तमाम बन्देजका बाबजुद अफगान महिला र बालिकाले थोरै भए पनि हौसला जोगाएकै छन् । त्यसैले, शिक्षाको आवश्यकता एवं इच्छा पूरा गर्न केही शिक्षकले संगठित रूपमा अनलाइन कक्षा चलाउँदै आएका छन् । सुरुमा शिक्षक एवं विद्यार्थीको संख्या कम थियो । यसैक्रममा मैले शिक्षा अभियानमा करिब डेढ वर्षअघिदेखि सहभागिता जनाएकी हुँ । हामी अंग्रेजीलगायत अन्य उच्च–माध्यमिकस्तरका विषयको अध्यापन गराउँछौँ । हाम्रो शिक्षा अभियानको चर्चा हुन थाल्यो र अफगानिस्तानभरिका विद्यार्थी बढ्दो रूपमा यसमा जोडिइरहेका छन् । सन् ०२३ मा अफगानिस्तानभरिका करिब चार सय विद्यार्थी हाम्रो शिक्षा अभियान जोडिएर अध्ययन गरिरहेका छन् । 

म आफूलाई शिक्षिका भएकोमा भाग्यमानी ठान्छु । शिक्षिका भएका कारण मैले आफ्नो सानो परिवारलाई आर्थिक रूपमा टेवा मात्रै पु¥याइरहेकी छैन, मैले अन्य युवती र बालिकालाई पढ्न र सिक्न मद्दत पनि गरिरहेकी छु । सन् ०२१ मा शिक्षा अभियानमा जोडिनुअघि मैले शिक्षणसम्बन्धी तालिम लिएकी थिएँ । मलाई शिक्षिका हुने खासै रहर थिएन, तर मेरा बुबाको सल्लाहमा मैले तालिम लिएँ ।

हामीलाई तालिम केन्द्रमा सौहार्दपूर्ण रूपमा विद्यार्थीलाई कसरी र कुन विधिले पढाउने भनेर तालिम दिइएको थियो । हामीले सिकेको विधि शिक्षक र विद्यार्थी भौतिक रूपमा आमनेसामने हुने सामान्य अवस्थामा बढी उपयोगी थियो, तर कमजोर इन्टरनेट कनेक्सनको अनलाइन कक्षामा यसको उपयोगिता धेरै थिएन । अनलाइन माध्यमबाट अध्यापन गर्न थालेपछि भने मैले ठूलो चुनौती व्यहोर्नुपर्‍यो । कहिलेकाहीँ पढाउनै छोडिदिऊँ जस्तो लाग्थ्यो । तर, विद्यार्थीको पढ्ने इच्छाले मलाई शिक्षिका बनिरहन प्रेरित गर्‍यो । र, मैले पढाउने नयाँ उपाय पनि पत्ता लगाएँ ।   

मेरा विद्यार्थीले प्रशंसामा पठाउने सन्देशले मलाई प्रफुल्लित बनाउँछन् र पढाउन प्रेरित गरिरहन्छन् । तर, कहिलेकाहीँ भने असहज प्रश्नको पनि सामना गर्नुपर्छ । उदाहरणका लागि एकजना विद्यार्थीले ‘यदि मैले दुई वर्षयतादेखि विद्यालय जान पाएकी भए म विद्यालय शिक्षा पूरा गरेर विश्वविद्यालय जान पाउँथेँ । अहिले जान नपाउँदा पढेको कुरा काम लागेन । केही गरी मैले विश्वविद्यालयमा पढ्नै पाएकी भए पनि काम गर्न नपाउने भएपछि मेरो पढाइको के काम ? यस्तोमा मैले किन पढ्ने ? यो मुटु कुँड्याउने प्रश्न हो । यस्तो प्रश्न मुलुकभरका कति बालिका र युवतीले गरिरहेका होलान् ?

 अफगान महिला र बालिकाले मुलुकमा ‘जेल जीवन’ व्यतीत गरिरहेका छन् र कैयौँ मानसिक समस्याबाट प्रताडित छन् । विभिन्न स्वास्थ्य संस्थाको आँकडाअनुसार अफगानिस्तानमा महिला आत्महत्या र आत्महत्या प्रयास तीव्र रूपमा बढिरहेको छ । थुप्रै बालिका र युवतीले आफ्नो भविष्य सुरक्षित पाउँदैनन् । मेरा विद्यार्थीमा पनि छ यस्तो समस्या । यसैकारण कहिलेकाहीँ म बाध्य भएर विद्यार्थीका लागि मनोपरामर्शदाताको काम गर्छु । विद्यार्थीका समस्या सुन्दा वा थाहा पाउँदा मलाई पढाउन निकै सकस हुने गर्छ । तर, म हार मान्न सक्दिनँ र म अनवरत रूपमा पढाइरहनेछु । म निरन्तर र नियमित रूपमा विद्यार्थीको मनोबल बढाउन प्रयास गरिरहन्छु । म विद्यार्थीलाई सपना साँच्न सिकाउँछु र प्रेरित भइरहन हौसला दिन्छु । 

हामी अफगान बालिका र युवतीको हौसला जगाउन हरदम प्रयास गरिरहन्छौँ । तर, हामीलाई सहयोगको आवश्यकता छ । राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाले हामीले पढाएको शिक्षालाई औपचारिक रूपमा स्विकारेर हाम्रा विद्यार्थीलाई औपचारिक प्रमाणपत्र दिएर सघाउन सक्छन् । यदि यसो हुन्छ भने अनलाइन शिक्षा लिइरहेका युवती र बालिका आफ्नो जीवन खेर गइरहेको भनेर चिन्तित हुने थिएनन् । 

जीवन सोचेजस्तो हुँदैन । सुरुमा म शिक्षिका हुन चाहन्नथेँ । तर, मैले अहिले विद्यार्थीलाई पढाइरहेकी छु । शिक्षण पेसा मेरो रोजाइको पेसा नभए पनि म अहिले विद्यार्थीलाई पढाउन पाउँदा खुसी छु । 
(सुरक्षा जोखिमका कारण लेखकको वास्तविक परिचय गोप्य राखिएको छ । लेखिका अफगान शान्ति एवं महिला अभियन्ता हुन्) अल जजिराबाट