१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बस्तीमा रेलमार्गको नक्सांकन परेको भन्दै रोक्न भरतपुरवासी संघर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१८:oo

पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि गरिएको नक्सांकन बस्तीमा परेको भन्दै भरतपुरमा संघर्ष समिति बनेको छ । रेलमार्गका लागि नक्सांकन गरिएको क्षेत्रका बासिन्दाको भेलाले भगीरथ पहाडीको संयोजकत्वमा ६७ सदस्यीय संघर्ष समिति बनाएको हो । बागमती प्रदेशका पूर्व श्रम तथा यातायातमन्त्री घनश्याम दाहाल सल्लाहकार संयोजक रहने गरेर वडाध्यक्षसहितको सल्लाहकार समिति पनि बनेको छ ।

निजगढबाट हेटौँडा हुँदै चितवन प्रवेश गर्ने रेलमार्ग पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा दक्षिणतर्फबाट अघि बढ्दै नवलपरासीको अमरापुरी पुग्ने गरी प्रारम्भिक नक्सांकन गरिएको छ । हाल अध्ययन गरिएको रेलमार्गले भरतपुरका वडा नम्बर ८, ७, ५ र ४ का बस्तीलाई प्रभाव पार्ने गरी आएको भेलामा उपस्थितले बताएका छन् । निजगढ–हेटौँडा–भरतपुर रेलमार्गसम्बन्धी सामाजिक आर्थिक घरधुरी सर्वेक्षण प्रश्नावलीको फाराम भर्न रेल विभागका कर्मचारी आएपछि भरतपुरका आक्रोशित स्थानीयले समिति गठन गरेका हुन् ।

विनाआधार घना बस्तीबाट रेलमार्ग बनाउँदै आफूहरूलाई सुकुम्बासी बनाउने प्रयास गरिएकाले समिति बनाउन परेको पहाडीले बताए । ‘हाल नक्सांकन गरिएको ठाउँबाट रेलमार्ग बने सयौँ जनताको उठीवास लाग्छ,’ उनले भने । पूर्वी चितवनबाट टिकौली जंगल हुँदै भरतपुर महानगरपालिका प्रवेश गर्ने मार्ग शरदपुर, गौरीगन्ज, कृष्णपुरस्थित एकीकृत बस्ती हुँदै शिवघाटनजिकैबाट नारायणी नदी पार गरेर नवलपरासीतर्फ पुग्छ । राष्ट्रिय गौरवको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना ०६५/६६ बाट सुरु भएको हो । यो रेलमार्ग झापाको काँकडभिट्टाबाट सुरु भई सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी टुंगिनेछ ।

ad
ad