१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० पौष १५ आइतबार ११:३३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बिहेभोजको खर्चले गाउँलेलाई उपचार, विद्यार्थीलाई न्यानो कपडा 

Read Time : > 2 मिनेट
२०८० पौष १५ आइतबार ११:३३:००

चर्चित युटुबर तथा सञ्चारकर्मी मोहन बस्नेतले केही समय पहिले सुटुक्क बिहे गरे । बिहेलाई सहकर्मी शुभचिन्तकले आश्चर्य पनि माने । तर, बस्नेतले बिहेको खर्चलाई सामाजिक कार्यमा खर्च गर्ने घोषणासहित सामाजिक सञ्जालबाट बिहेमा तामझाम गर्न नसकेकोमा क्षमायाचना गरे ।

उनको कदमले भड्किलो बिहेलाई निरुत्साहित गर्न मलजल गर्‍यो । शनिबार आफ्नै गाउँमा उनले विशेषज्ञसहितको स्वास्थ्य शिविरको आयोजना गरे । शिविरमा बस्नेतको जोडीले आशीर्वाद र करिब चार सय नागरिकले सेवा पाए । 

रेसुंगा नगरपालिका– ३ की ७७ वर्षीया पम्फी विश्कर्मा शिविरमा खुसी थिइन् । उनी सुगर र प्रेसरका कारण स्वास्थ्य परीक्षण गर्न शिविरमा आएकी थिइन् । विश्वकर्मा आफ्नै घरछेउमा विशेषज्ञ डाक्टरबाट नि:शुल्क चेकजाँच र औषधि पाएपछि उत्साहित नहुने कुरै भएन । ‘नेताले चुनावपछि गरिब र रोगी मान्छे हेर्दा रहेन्छन् । गाउँकै बाबुले शिविर ल्याएर डाक्टर देख्न र औषधि खान पायौँ,’ उनले भनिन्, ‘यो जोडीलाई हाम्रो आशीर्वाद लागोस् ।’ 

रेसुंगा नगरपालिका– ३ की ६९ वर्षीया गनकला कुँवरले पनि शिविरमा स्वास्थ्य परीक्षण गराइन् । उनलाई मुटु र दमको समस्याले तम्घास र पाल्पा धेरैपटक पुग्नुपर्‍यो । बाहिर जाँदा शरीरलाई कष्ट र पैसा खर्च उस्तै । त्यसैले पनि कैयौँले घरमै रोग लुकाएर बस्दा ज्यान नै जोखिममा पर्ने गरेको छ । 

बस्नेतदम्पती

भाडगाउँकै ७० वर्षीय टीकाबहादुर खत्री र श्रीमती ६४ वर्षीया परसुता खत्री पनि शिविरमा औषधिकै प्रतीक्षामा थिए । टीकाबहादुरलाई नाै वर्षदेखि दमको समस्या छ ।  श्रीमती परसुता मिर्गौलापीडित हुन् । दुवैजना बिमारको फलोअप गर्न पाल्पा र बुटवल पुग्थे । तर, गाउँमै नि:शुल्क शिविर सञ्चालन भएपछि ठूलो राहत भयो । ‘बुढाबुढी नै बिमारी भएपछि खर्चमाथि खर्च छ । पाल्पा बुटवल जान थोरै खर्चले हुँदैन,’ टीका बहादुरले भने, ‘घरछेउँमै डाक्टर भेट्दा खुसी भयौँ ।’  ६३ वर्षीय मेरसिंह कुमाल पनि खुट्टा दुख्ने समस्याले पीडित भएपछि शिविरमा आए । डाक्टरको उचित सल्लाह र चेकजाँचले खुसीका साथ घर फर्किए ।

यी सबै प्रतिनिधि पात्र हुन् । रेसुंगा नगरपालिका- ३ को भाडगाउँमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा करिब चार सयजनाले ओपिडी सेवा लिएका छन् । ४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, एक सय आठजनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाब जाँच र ६५ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिएको शिविरको प्राविधिक पक्षको व्यवस्थापन गरिरहेका सामाजिक अभियन्ता भरतजंग क्षेत्रीले जानकारी दिए।

६५ जना विद्यार्थीको पनि रगतको समूह परीक्षण गरिएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग विशेषज्ञ डाक्टर नवीन तिवारी, कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर आशिम रेग्मीसहितका डाक्टरले शिविरमा सेवा प्रदान गरेका थिए । 

सबैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्याका बिरामी

शिविरमा आएका बिरामीमा सबैभन्दा धेरै सुगर, प्रेसर र मानसिक समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर शम्भु खनालले जानकारी दिए । ‘शिविर आयोजनाको पवित्र उद्देश्य र व्यवस्थापकीय पक्ष निकै राम्रो लाग्यो । बिरामीमा सुगर, प्रेसर र मानसिकजस्ता राष्ट्रिय समस्या देखिए,’ उनले भने,’ अत्यधिक रक्तचाप भएका व्यक्ति पनि विनाऔषधि र उपचार हिँडिरहेको विडम्बना पत्ता लाग्यो ।’ उनले हरेक गाउँमा स्वास्थ्य सचेतनाको कमी रहेको बताए ।

गाउँमै नि:शुल्क स्वास्थ्य शिविर हुने भएपछि स्थानीय पनि खुसी थिए । भाडगाउँको नजिकै तम्घासका स्वास्थ्य संस्थाहरूको पहुँच भए पनि विशेषज्ञसहितको उपचार पाउन पाल्पा बुटवल पुग्नुपर्ने बाध्यता छ । 

जसका कारण घरछेउँमा नि:शुल्क स्वास्थ्य परीक्षण र औषधि पाउँदा गरिब तथा विपन्न परिवारलाई ठूलो राहतको महसुस भएको रेसुंगा नगरपालिका- ३ का वडाध्यक्ष बाबुराम खत्रीले बताए । 

उनले गाउँमा परोपकार र सदाचार हराउँदै गइरहेका वेला मोहन बस्नेतले बिहेको खर्च कटौती गरेर आयोजना गरेको स्वास्थ्य शिविरले निकै ठूलो सामाजिक सन्देश बोकेको बताए । 

२७ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान

त्यस्तै, बस्नेतको परिवारले केही दिनअघि उपल्लो तम्घास माविका २७ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेका छन् । विद्यालयमा बहिरा तथा सुस्तमनस्थिति भएका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । 

बस्नेतले युटुबमार्फत दर्जनौँ व्यक्तिकाे नि:शुल्क उपचार, बेसहाराको साथ र गरिब तथा विपन्न परिवारलाई गाँसमा सहयोग गर्दै आएका छन् । उनी मिडिया अवार्ड तथा नेपाल सरकारबाट जनसेवा श्री पञ्चमबाट सम्मानित भएका छन् । ‘सानैबाट सामाजिक काममा रुचि थियो । उमेरसँगै कर्महरू त्यस्तै बने,’ उनले भने, ‘बिहे खर्च कटाएर पनि गाउँमै केही गर्न सक्यौँ, परिवार नै खुसी छौँ ।’