
अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन्। मन्त्री बस्नेतलाई माफियाहरूका नाइके भएको आरोप लगाउँदै डा. केसीले राजीनामा मागेका हुन्।
ऐनविपरीत सञ्चालित शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा स्वास्थ्यमन्त्रीले सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएकाे केसीले आइतबार जारी गरेको विज्ञप्तिमा आरोप लगाइएको छ।
‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्वोधन गर्नु परम् कर्तव्य बन्थ्यो, तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाफ हो,’ विज्ञप्तिमा भनिएको छ।
शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डा. केसीलाई केही गिरोहले चलाइरहेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसको जवाफमा डा. केसीले नर्सिङ तथा स्वास्थ्यसम्बन्धी विषयमा जनमानसमा गलत धारणा स्थापित गर्न मन्त्रीले माफियाको तर्फबाट नयाँ प्रयास गरेकाे दाबी गरेका छन्।
‘पद सम्हालेयता स्वास्थ्यमन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गर्दै आइरहेका छन्। सुरुदेखि नै स्वास्थ्यमन्त्री माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी कुनै ज्ञान र अनुभव नभएको र बुझ्ने प्रयाससमेत नगर्ने केसीको आरोप छ। उनले भनेका छन्, ‘ठूलामुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन् । यो राजनीतिक तथा सामाजिक अपराध हो।’