१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
बेसिल जर्मन्ड
२o८१ बैशाख २३ आइतबार o९:o४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिमको ध्यान गाजामा भन्दा हुथी आक्रमणमा किन ? 

Read Time : > 3 मिनेट
बेसिल जर्मन्ड
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o४:oo

यमनको विद्रोही समूह हुथीले लाल सागरका व्यापारिक ढुवानीमा आक्रमण गरेदेखि यस क्षेत्रमा जहाजको आवागमन प्रभावित छ 

इजरायलले गाजामा आक्रमण सुरु गरेदेखि नै लाल सागर हुँदै आवागमन गर्ने व्यापारिक जहाजलाई यमनका हुथी विद्रोहीले निसाना बनाए । यसले विश्व व्यापारमै असर पर्ने भएपछि अमेरिकाले युरोपेली मुलुकसँग गठबन्धन नै बनाएर जहाजको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरेको छ । पेन्टागनले हुथी विद्रोहीलाई तर्साउन ड्वाइट डी आइसेनहोवर युद्धपोत यमनको तटनजिक लगिसकेको छ । जहाजमाथिको आक्रमण नरोकिए अमेरिकाले हुथीका केन्द्रमा मिसाइल आक्रमणदेखि विभिन्न विकल्पमा विचार गरिरहेको बताएको छ । गाजा युद्धको अप्रत्यक्ष प्रभाव मानिने यस घटनाले आखिर अमेरिकाको ध्यानाकर्षण गर्‍यो । 

इरानको समर्थन पाइरहेको यमनको विद्रोही समूह हुथीले नोभेम्बरदेखि लाल सागरका व्यापारिक ढुवानीमा आक्रमण गरेदेखि नै यस क्षेत्रमा जहाजको आवागमन प्रभावित हुन थालेको हो । उच्च जोखिमका माझ केही ढुवानी कम्पनीले यो मार्गलाई बाइपास गर्ने वा सेवा अस्थायी कालका लागि अवरुद्ध गर्न बाध्य भएका थिए । आक्रमण लाल सागरका ढुवानीमा केन्द्रित भए पनि यसको आर्थिक र भूराजनीतिक प्रभाव यमनको तटभन्दा धेरै परसम्म महसुस हुन थाल्यो । 

विश्व अर्थतन्त्र विश्वव्यापी समुद्री आपूर्ति शृंखलामा अत्यधिक निर्भर छ । यसलाई तथ्यांकले नै पुष्टि गर्छ । अन्तर्राष्ट्रिय व्यापारको लगभग ८० प्रतिशत हिस्सा समुद्री ढुवानीमार्फत हुन्छ । केही देशका लागि यो अंक थप उच्च छ । जस्तो बेलायतको कुल अन्तर्राष्ट्रिय व्यापारको ९५ प्रतिशत अंश समुद्रबाट हुन्छ । मोबाइल फोनदेखि कपडासम्म र कफीदेखि चिनीसम्म हामीले प्रयोग गर्ने उपभोग्य वस्तु र दैनिक रूपमा उपभोग गर्ने खानेकुराहरू कम्तीमा केही हदसम्म समुद्री बाटो हुँदै हामीसम्म आइपुगेको हुन्छ ।

नाजुक विश्व आपूर्ति शृंखला : विश्वव्यापी समुद्री आपूर्ति शृंखलामा अवरोध पुर्‍याउन धेरै ठूलो घटना हुनुपर्दैन । उदाहरणका लागि सन् २०२१ मा स्वेज नहरमा एक विशाल कन्टेनर जहाज ६ दिनसम्म अड्किने कारण बनेको एउटा सामान्य दुर्घटना वा कोभिड महामारीका वेला चिनियाँ बन्दरगाहमा देखिएको कामदारको अभावले सामुद्रिक आपूर्ति शृंखला प्रभावित भयो । विश्वको एक कुनामा घटेका ती दुई घटना वैश्विक अर्थतन्त्रलाई नकारात्मक असर गर्न पर्याप्त भयो । समुद्री मार्गका विभिन्न स्थानमा डाकु वा आतंकवादीको आक्रमणको सम्भावनाले साधारण ढुवानीभन्दा बृहत्तर प्रभाव पार्ने गर्छ । 

व्यापारिक जहाज ढुवानीमा आक्रमण भएपछि प्रत्यक्ष रूपमा बिमा प्रिमियमको मूल्य बढ्छ । यसले गर्दा जहाजको सुरक्षा चुनौती सीधा वित्तीय खर्च वृद्धिमा पर्छ । त्यसपछि निश्चित क्षेत्रहरूमार्फत जहाजहरू आवतजावत गर्न छाड्छन् । यसले व्यापारिक सामुद्रिक आवागमन पनि भूराजनीतिबाट अछुतो नरहेको देखाउँछ । उच्च बिमा किस्ता वा जहाजको पथान्तरण लागत अन्ततः उपभोग्य सामग्रीको मूल्यमा गएर जोडिन्छ । 

पूर्वी र पश्चिमी अफ्रिकाको समुद्री नजिकका समुद्र क्षेत्र दशकौँदेखि डकैतीबाट प्रभावित हुँदै आएको छ । हिजोआज धेरै कम्पनीले सो समुद्री मार्ग हुँदै ढुवानी गर्दैनन् । राज्यले समुद्री डाकुलाई रोक्न र लड्न पर्याप्त स्रोत लगाइसकेका छन् । सरकारले समुद्रमा (ढुवानी मार्गमा विशेष नौसैनिक टास्क फोर्सलाई परिचालन गर्ने) र जमिनमा समुद्री डकैती बढ्ने अन्तर्निहित सामाजिक–आर्थिक कारणलाई सम्बोधन गर्न स्रोत लगाउँछन् ।

आतंकवादी संगठनलगायत राजनीतिक रूपमा प्रेरित विद्रोही समूहले फरक प्रकारको खतरा निम्त्याउँछन् । तिनको प्राथमिक उद्देश्य पैसा कमाउनु नभएर संगठनको प्रभाव बढाउनु र आफ्ना माग पूरा गराउन क्षेत्रीय वा वैश्विक राजनीतिक शक्तिमाथि दबाब सिर्जना गर्ने हुन्छ । यसका लागि तिनले त्यस्ता क्षेत्रलाई आक्रमणका लागि चुन्छन्, जसले जोखिम वा जोखिमको भावनालाई उच्च बनाउँछ । यस्तोमा विश्वभर प्रभाव देखिने नाजुक सामुद्रिक आपूर्ति शृंखलामाथिको आक्रमण तिनको निसानामा पर्नु स्वाभाविक हो । 

सीमित विकल्प : हुथी राजनीतिक रूपमा प्रेरित समूह हो । उसले लाल सागरका ढुवानीमाथि आक्रमण गरेर गाजाको युद्धमा प्रभाव पार्ने (प्यालेस्टिनीहरूका लागि इजरायली युद्ध विराम वा युद्ध अन्त्य) लक्ष्य राखेको छ । हुथीको मुख्यालय लाल सागरको व्यस्त समुद्री लेननजिक हुँदा उसलाई व्यावसायिक ढुवानीमा आक्रमण गर्ने र दबाब सिर्जना गर्ने अवसर आएको हो । ठूला ढुवानी कम्पनी तथा सञ्चालक, मयस्र्कदेखि बिपीसम्मले लाल सागरमा हुने तिनको व्यापारलाई रोक्नुले तिनको प्रभाव झल्किन्छ । यी आक्रमणले विश्वभर तेलको मूल्य बढ्ने प्रक्षेपण गरिएको छ । फलस्वरूप, हुथीहरूको आक्रमणको तरंग लाल सागरभन्दा पर वैश्विक अर्थतन्त्रमै परेको हो । यी खतरासामु तिनलाई सम्बोधन गर्ने विकल्प भने सीमित छन् । 

राजनीतिक रूपमा प्रेरित समूहलाई रोक्न कठिन हुन्छ, किनभने तिनीहरू आफ्नो लक्ष्यका लागि मर्न–मार्न तयार हुने गर्छन् । तिनलाई डाकुहरूलाई जस्तो फिरौती रकमले चित्त बुझाउन सकिँदैन । उनीहरूले अधिक दबाब निर्माणका लागि जहाज नष्ट गर्नेसम्मका प्रयास गरिरहेका छन् । यस्तोमा जहाज सुरक्षाका लागि वाहनमै निजी सुरक्षा कम्पनीका गार्ड राख्ने क्रियाले न्यूनतम वा कुनै प्रभाव पार्नेछैन ।

सैन्य प्रतिक्रिया : अन्य विकल्पमार्फत हुथीहरूलाई व्यावसायिक ढुवानी जहाजमा आक्रमण गर्नबाट रोक्न असफल भएपछि लाल सागरमा गस्ती गर्न नौसेनाको उपस्थिति बढाउन थालिएको हो । तर, यसमा राजनीतिक जोखिम नभएको होइन । यस भेगको थप सैन्यकरणलाई देखाएर हुथी र अन्य समूहले यमन र सम्पूर्ण मध्यपूर्वको भूराजनीतिक स्थितिलाई भड्काउन प्रयोग गर्न सक्छन् । (उसै पनि यमन २०१४ देखि गृहयुद्धमा फसेको छ । ) 

यस्तो पृष्ठभूमिबीच अमेरिकाले बेलायतको समेत नौसैनिक जत्थाको साथ लिएर ‘अप्रेसन प्रोस्पेरिटी गार्जियन’ नामक अन्तर्राष्ट्रिय नौसेना टास्क फोर्स गठन गरेको छ । तर, ढुवानी जहाजको संख्या धेरै र तिनको सुरक्षाका लागि खटाइने युद्धपोत सीमित रहेकाले ठूलो क्षेत्रमा एकैपटक सुरक्षित हुन सम्भव छैन । लाल सागरबाट यमननजिकै भएकाले क्षेप्यास्त्र आइरहेको पूर्वचेतावनी दिने प्रविधिले काम गर्न सक्दैन । यी सीमितताले सबै आक्रमणबाट सफलतापूर्वक रोक्न र क्षतिलाई शून्यमा झार्न गाह्रो छ । यसका बाबजुद यस्ता कारबाहीको प्रतीकात्मक मूल्य बढी हुन्छ । 

यस टास्क फोर्सको सफलताको मूल्यांकन पहिलेदेखि नै अशान्त यस क्षेत्रमा सैन्य मुठभेड वृद्धिको जोखिम नबढाई बिमाकर्ता, जहाज सञ्चालक र विश्व बजारलाई ढुवानी मार्ग सुरक्षित छ भनी आश्वस्त पार्न सक्ने क्षमताको आधारमा गरिनेछ ।

– द कन्भर्सेसनबाट

लेखक ल्यानकास्टर विश्वविद्यालयअन्तर्गतको राजनीति, दर्शन र धर्म विभागको अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक हुन् । 

ad
ad