१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका बेदकोट (कञ्चनपुर)
२o८१ बैशाख २३ आइतबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नदी तर्न काठेपुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बेदकोट (कञ्चनपुर)
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:३८:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका– ११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका– २ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयकोमा शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन् । ‘वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ । यो पुल पनि अब जीर्ण बन्दै गएको छ’, उनले भनिन्, ‘बर्खामा ओहोरदोहोर गर्न झनै समस्या हुन्छ ।’

वर्षौँदेखि काठेपुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘पक्की पुल निर्माण गर्ने भनेको वर्षौँ भइसक्यो । काम कहिले सकिन्छ ? त्यसको केही सुरसार छैन,’ लालझाडी– ५ का धोके रानाले भने, ‘पक्की पुल नहुँदा काठेपुलमा पैसा तिरेर नदी वारपार गर्ने गरेका छौँ ।’

स्थानीयले काठेपुल प्रयोग गरेबापत साइकलको रु. १० र मोटरसाइकलको रु. २० शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मंगलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन् । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए । ‘पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठेपुल प्रयोग गर्ने ?’ उनले भने । 

बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कविच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । ‘वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ,’ उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।’

ad
ad