१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस कोलम्बो
२०८० पौष ९ सोमबार १३:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्रिसमसको अवसरमा श्रीलंकामा हजार कैदी रिहा

Read Time : < 1 मिनेट
रासस, कोलम्बो
२०८० पौष ९ सोमबार १३:३४:००

श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेलजीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन्।

सोमबार रिहा भएका एक हजार चारजनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलंकाका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिइन्।

श्रीलंकामा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै संख्यामा दोषीलाई रिहा गरिएको थियो।

क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेनासमर्थित लागुऔषधविरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६ सय ६६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार एक सयजनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुनर्स्थापनाका लागि पठाइएको उल्लेख छ।

श्रीलंकाका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भिडभाड हुने गरेको छ।

सरकारी तथ्यांकअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैदीबन्दी रहेका छन्।