१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
युक्रेन युद्धमा हालै ज्यान गुमाएका श्रीलंकाली युवा । तस्बिर : अल जजिरा
२o८१ बैशाख १७ सोमबार o७:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

आर्थिक संकटले युक्रेन युद्धमा होमिन बाध्य श्रीलंकाली युवा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२४:oo

सन् २०२२ फेब्रुअरी महिनादेखि युक्रेन र रुसबीचको युद्ध जारी छ । मुख्यतः युक्रेनी भूमिमा लडिएको यस युद्धको प्रभाव भने ती दुई देशको भूभागमा मात्र सीमित छैन । युद्धका कारण दुई देशभन्दा धेरै टाढाका मानिस र उनीहरूका परिवारलाई असर गरेको छ । विशेषतः दक्षिण एसियाका नेपाल, भारतका विपन्न परिवारका युवा युद्धमा रुसी पक्षबाट लडेको खबर यसअघि आइसकेको छ, जसमा केहीको ज्यान गइसकेको छ । अर्को दक्षिण एसियाली देश श्रीलंकाका पनि सयौँ युवा यस युद्धमा सरिक छन् । 

श्रीलंकाली नागरिक सेनाका बन्धारा (परिवर्तित नाम) दोनेत्स्कस्थित रुसी बंकरमा युक्रेनी पक्षले गरेको बमबारीबाट गम्भीर घाइते भए ।  उनलाई साथी निपुना सिल्भा (परिवर्तित नाम)ले बोकेर सुरक्षित स्थानमा लैजाने प्रयास गर्दै थिए । ३६ वर्षीय सेनाकाको हात र खुट्टाबाट रगत बगिरहेको थियो । सिल्भाको अवस्था उनको भन्दा निकै नाजुक थियो । उनका अनुसार ड्रोन आक्रमण चर्किएपछि उनी सिल्भालाई छाडेर भाग्न विवश भए । ‘युक्रेनी युद्ध क्षेत्र यति खतरनाक रहेको कुरा हामीलाई थाहा थिएन,’ उनले  भने ।

सेनाकाका अनुसार उनी र सिल्भालाई रुसी ‘सहायक दस्ता’मा सामेल गराएर युद्धमोर्चामा पठाउनुअघि दुई ‘प्रशिक्षण कोर्स’ गराइएको थियो । निपुना सिल्भाको पछि शव फेला पर्‍यो । सेनाकाका अनुसार सिल्भा रुसी सेनामा भर्ती भएर दोनेत्स्क क्षेत्रमा युक्रेनविरुद्ध लड्ने क्रममा पछिल्लो समय मारिने दोस्रा श्रीलंकाली नागरिक हुन् । गत वर्ष युक्रेनमा लड्दा तीन श्रीलंकाली मारिएका थिए । सयौँ श्रीलंकाली अहिले रुसी सेनाका रूपमा युक्रेनमा लडिरहेका छन् । मासिक तीन हजार डलरसम्मको तलब र रुसी नागरिकता पाउने सम्भावना देखेर कयौँ श्रीलंकाली रुसी सेनामा भर्ती भइरहेका छन् । त्यस्तै थप कैयौँ श्रीलंकाली देशभित्रको चरम गरिबीबाट उम्किने आशामा मृत्युलाई बेवास्ता गर्दै रुसी सेनामा भर्ती भइरहेका छन् । 

 युद्धमा होमिनु विवशता
दक्षिणी श्रीलंकाका स्थायी बासिन्दा २७ वर्षीय निपुना सिल्भाले उनको परिवार छाडेर अर्काको देशको युद्ध लड्न गरेको निर्णयले समकालीन श्रीलंकाको बृहत्तर स्थिति दर्साउँछ । सन् २०२२ मा श्रीलंका स्थापनाकालयताकै गम्भीर आर्थिक संकटमा पर्दा २ दशमलब २ करोड जनसंख्या भएको यस टापु देशमा भोकमरी आउनेसम्मको स्थिति आयो । उच्च मुद्रास्फीति र तिर्न नसकिने स्तरको वैदेशिक ऋणले देशले इन्धन, औषधि र खाद्यान्नसमेत किन्न सकेको थिएन । 

देशमा छाएको आर्थिक संकटका कारण गरिबीको सामना गर्नुपरेपछि श्रीलंकाली सेनामा नौ वर्ष काम गरेका निपुना रुसी सेनामा भर्ती हुन बाध्य भए । रुस जानलाई निपुनाले थप ऋण लिनुपर्‍यो । उनी गत वर्ष जुन २ मा मस्को गएका थिए । त्यहाँबाट उनी रुसको दुर्गम गाउँको फार्ममा पठाइए । फार्ममा दैनिक १४ घण्टा काम गर्नुपथ्र्यो । यसबापत उनले मासिक एक लाख ६० हजार श्रीलंकाली रुपैयाँ (५३० डलर) तलब थापिरहेका थिए । काम गाह्रो भएकाले निपुनाले फार्म छाडे र रेस्टुरेन्टमा काम गर्न मस्को गए । मस्कोमा काम गर्दा उनले सेनामा भर्ना खुलेको थाहा पाए । 

परिवारको आर्थिक अवस्था सन्तोषजनक थिएन । निपुनाको आम्दानीबाट ऋणको किस्ता तिरेर बाँकी रकममा घर चल्न गाह्रो भइरहेको थियो । ‘हामीले कहिल्यै लालाबालालाई नयाँ लुगा वा खेलौना किन्न सकेनौँ,’ निपुनाकी पत्नी वासन्थी भनिन्, ‘हाम्रो कमजोर आर्थिक स्थितिकै कारण उनले रुसी सेनामा भर्ती हुने निर्णय गरे ।’ 

श्रीलंकाको सेनाका सेवानिवृत्त सदस्यका अनुसार युक्रेनी युद्धमोर्चामा श्रीलंकालीको मृत्युको खबर आइरहे पनि धेरै युवा रुसी सेनामा भर्ती हुन इच्छुक छन् । ‘म युद्धमैदानमा मरे पनि कम्तीमा मेरा श्रीमती र बच्चाहरूले क्षतिपूर्ति पाउनेछन् । कम्तीमा उनीहरूले रुसमा राम्रो जीवन पाउनेछन् ।

उनीहरू रुस गएर नागरिकता लिन सक्छन्,’ आफ्नो जीवनयापनबाट निराश श्रीलंकाका एक सेवानिवृत्त सैनिकले भने । राजधानी कोलम्बोबाट करिब २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरा निवासी ती युवाले श्रीलंकाको आर्थिक कठिनाइको तुलनामा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने सम्भावना कम चिन्ताजनक भएको बताए । एक सेवारत श्रीलंकाली सिपाहीले रुसी सेनामा भर्ना हुने अवसर पाएमा अहिलेको पद त्याग्ने विचार गरिरहेको बताए । ‘मलाई थाहा छ, यो खतरनाक छ । तर, मसँग अर्को कुनै विकल्प बाँकी छैन,’ ती सिपाहीले भने । 

युक्रेनमा लडाइँमा सामेल हुनेहरू मुख्यतः पैसाकै लागि त्यसो गरिरहेका श्रीलंकाका लेखक, राजनीतिक विश्लेषक र स्तम्भकार गामिनी भियांगोडाले बताए । ‘श्रीलंकाको भीषण गृहयुद्धको समयमा पनि सेनामा भर्ती हुनेहरू अधिकांश गरिब परिवारका थिए । उनीहरू घरबार चलाउन युद्धग्रस्त देशका सेना हुन पनि पछि हट्दैनथे,’ भियांगोडाले भने ।

श्रीलंकाली सेना र तमिल पृथक्तावादीबीच सन् १९८३ देखि २००९ सम्म चलेको रक्तपातपूर्ण द्वन्द्वमा ८० हजारदेखि एक लाख मानिस मारिएको संयुक्त राष्ट्रसंघको अनुमान छ । ‘रुसी सेनाको भर्ती त्यही प्रवृत्तिको विस्तार हो । उनीहरू युद्धमैदानमा मरेमा क्षतिपूर्ति पाउने ठान्छन् । हालको आर्थिक कठिनाइका कारण यो पूर्णतया आर्थिक उद्देश्यले प्रेरित छ,’ भियांगोडाले भने । आम नागरिक पैसाका लागि रुसी पक्षबाट लडेर ज्यान गुमाउँदा केही श्रीलंकाली सैनिकले भने युक्रेनी पक्षबाट लडेको रेकर्ड छ । तीमध्ये तीनजनाले डिसेम्बरमा ज्यान गुमाए । 
–अल जजिराबाट

ad
ad