१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक काठमाडौंमा सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२९:oo

सन् १९५० को समयमा भुटान स्टेट कंग्रेसका संस्थापक नेता देवीभक्त लामिटारेले लेखेका पुस्तक परिमार्जनसहित काठमाडौंमा सार्वजनिक गरिएको छ।

लामिटारेले ५३ वर्षअघि प्रकाशित गरेको हिन्दी पुस्तक ‘जलता हुवा भुटान’लाई नेपालीमा अनुवाद गरेर ‘दन्किँदो भुटान’ प्रकाशित भएको थियो। यो पुस्तक भुटानभित्र प्रतिबन्धित रहेको भुटान अभियन्ता एवं कृषिविज्ञ डा. गोविन्द रिजालले जानकारी दिए।

५० वर्षपछि घटनाक्रमहरूलाई अद्यावधिक गरेर पुस्तक पुनः प्रकाशन भएको पुस्तकका सम्पादक विनोद ढुंगेलले जानकारी दिए। भुटान मिडिया सोसाइटीले लामिटारेको किताब प्रकाशन गरेको हो। भुटानी आन्दोलनका आदर्श मानिने महासुर क्षेत्रीको जीवनी लेख्ने तयारी गरिरहेका वेला बनारसमा काशी हिन्दू विश्वविद्यालयका प्रोफेसर हरिप्रसाद अधिकारीसँग भेट भएको र अधिकारीले लामिटारेको किताब देखाएपछि आफूहरू मोडिएको ढुंगेलले बताए।

‘हामीले लामिटारेको किताबको फोटो खिच्यौँ, लेटर प्रेसमा लेखिएको किताबलाई पुनः प्रकाशन गर्नुपर्छ भन्ने भयो। त्यसपछि हरिद्वारमा लामिटारेजीलाई खोज्न गयौँ,’ ढुंगेलले भने, ‘न फोन नम्बर, न ठेगाना, न व्यक्तिलाई चिनिएको अवस्था। अन्याेलबीच लामिटारेसँग दोस्राे प्रयासमा भेट भयो। र, किताब अद्यावधिक गरेर छाप्ने सहमति भयो। त्यसपछि हामीले किताबमा काम गर्‍याैँ। तर, लामिटारेजी बाँचुन्जेल पुस्तक प्रकाशन गर्न सकेनौँ। मलाई जीवनभरि पश्चाताप हुनेछ।’ 

एउटा कालखण्डमा भुटानभित्र भएको प्रजातान्त्रिक आन्दोनलाई पुस्तकले जीवित राखेको अमेरिकामा पुनर्वास भएका भुटानी अभियन्ता शेखर कोइरालाले टिप्पणी गरे। ‘यो पुस्तकले मेरो र आउने पुस्तामा भुटानको प्रजातान्त्रिक आन्दोलनलाई जीवित राखेको छ। हाम्रो आन्दोलन बचाउने योभन्दा गहकिलो पुस्तक अरू के होला र ?’ कोइरालाले भने।

भुटानी प्रजातान्त्रिक आन्दोलनका नेता महासुर क्षेत्रीलाई ५० को दशकमा भुटान सरकारले पक्राउ गरेर काँचो छालाभित्र पोको पारेर सुनकोशी नदीमा फालेको थियो। त्यसबाट विक्षिप्त र आक्रोशित भएका लामिटारे सन् १९५३ मा भुटान छाडेर भारत बस्दै आएका थिए। गत वर्ष हरिद्वारमा उनको निधन भएको थियो। निर्वासनका क्रममा उनले नेपालका तत्कालीन शीर्ष नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेतासँग बनारसमा संगत गरेका थिए।

भुटानी आन्दोलनका गुप्त हिरोका रूपमा परिचित लामिटारेले भारतको हरिद्वारमा निर्वासनमा बसेर भुटानभित्र अन्याय, जातीय सफाया नीतिको विरोध गर्दै प्रजातन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए। उनले सन् १९७० र ८० को दशकमा भुटान स्टेट कंग्रेसका तर्फबाट भुटानभित्र आन्दोलनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलगायत नेतृत्वसँग भुटानमा प्रजातन्त्रको पक्षमा लबिङसमेत गरेका थिए। भुटानको चिराङ जिल्लास्थित लप्सिबोटेमा उनी सन् १९३५ मा जन्मेका थिए।

सन् २०१२ मा हरिद्वारमा भुटान मिडिया सोसाइटीका अध्यक्ष विद्यापति मिश्र र पत्रकार विनोद ढुंगेलले लामिटारेसँग भेटेका थिए। त्यही वेला उनको पुस्तक दन्किँदो भुटानलाई पुनः प्रकाशनका लागि लामिटारेले अनुमति दिएका थिए। तर, उनी जीवित छँदै पुस्तक प्रकाशन गर्न नसकिएकोमा पश्चाताप रहेको ढुंगेल बताउँछन्।

‘दन्किँदो भुटान’ सन् १९७० मा भारतबाट प्रकाशित भएर लामिटारेले भुटान पठाएका थिए। भुटानका सबै भूभागमा किताब वितरण भएपछि भुटान सरकारले प्रतिबन्ध लगाएको थियो। लामिटारेको पुस्तक नेपालीभाषी भुटानीका तर्फबाट लेखिएको पहिलो पुस्तक हो। 

ad
ad