१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष ५ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप खेल्न उत्साहित महिला क्रिकेटर

राउन्ड रोबिनअनुसार सहभागी प्रत्येक टोलीले सात खेल खेल्नेछन्, खेलाडीलाई धेरै खेलको अनुभव बटुल्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष ५ बिहीबार ०६:१९:००

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा आयोजना गर्दै छ । बिहीबारदेखि सुरु हुने प्रतियोगितमा सात प्रदेश र विभागीय टोलीले भाग लिनेछन् । राउन्ड रोबिनअनुसार आयोजना हुँदा सहभागी खेलाडी उत्साहित छन् । अघिल्ला संस्करणमा समूह चरण विभाजन भएको थियो । जसमा सेमिफाइनल र फाइनल फम्र्याट रहेको थियो । फाइनल पुग्ने टोलीले धेरैमा पाँच खेल खेल्न पाउन्थ्यो । तर, राउन्ड रोबिनमा एक टोलीले कम्तीमा पनि सात खेल खेल्नेछ । 

फाइनल पुग्ने टोलीले नौ खेल खेल्नेछ । क्यानले यो प्रतियोगितापछि फेब्रुअरीमा आयोजना हुने टी–२० क्रिकेट प्रतियोगितालाई सहयोग मिल्ने जनाएको छ । एपिएफ क्लबकी कप्तान सीता रानामगरले पहिलोपटक राउन्ड रोबिनमा आयोजना हुँदा नयाँ खेलाडीले अवसर पाउने बताइन् । ‘पहिलोपटक यो पद्धतिमा खेल आयोजना हुँदै छ । लामो समय खेल्न पाउँदा सुधार गर्न पनि पाइन्छ,’ उनले भनिन्, ‘साथै नयाँ खेलाडीले पनि अवसर पाउँछन् ।’

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्रीले धेरै खेल खेल्न पाउने हुँदा खुसी जनाइन् । ‘यस्तो प्रतियोगितामा धेरै खेल खेल्न पाइन्छ, पहिले एक–दुई खेल मात्रै हुन्थ्यो, तर लामो समय खेल्दा राष्ट्रिय टोलीको प्रदर्शनमा सुधार हुँदै जानेछ,’ उनले भनिन् । तालिकाअनुसार शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा अवसर पाउनेछ । 

क्यानले प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि र मूलपानीको माथिल्लो मैदानमा आयोजना गर्दै छ । प्रतियोगिता १७ पुससम्म सञ्चालन हुनेछ । बागमती प्रदेशकी कप्तान अस्मिना कर्माचार्यले पछिल्लो महिनादेखि तयारी भएको बताउँदै नयाँ चुनौतीको सामना गर्न तयार रहेको बताइन् । ‘पछिल्लो महिनादेखि तयारी सुरु गरेका हौँ, केही खेल पनि खेलेका छौँ,’ उनले भनिन्, ‘अनुभव राम्रो बटुलेका छौँ, यसलाई सही सदुपयोग गर्नेछौँ ।’