Skip This
तेस्रोपटक सर्‍यो कांग्रेस महासमिति बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २९ शुक्रबार २३:५o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

तेस्रोपटक सर्‍यो कांग्रेस महासमिति बैठक

महासमिति बैठकमा गठबन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा असर पर्न सक्ने आकलनसहित सारियो बैठक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार २३:५o:oo

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरेर १६ देखि १९ पुसका लागि तय भएको महासमिति बैठक सारेको छ । शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नीति अधिवेशनसमेत गर्ने गरी बस्न लागेको महासमिति बैठक ७ देखि १० फागुनमा गर्ने निर्णय गरेको हो ।

महासमिति बैठकमा गठबन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्न सक्ने र त्यसले राष्ट्रिय सभा निर्वाचनमा समेत असर पर्न सक्ने आकलन गरेर बैठक सारिएको स्रोतको भनाइ छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले अहिलेको गठबन्धन र सरकारको कार्यशैलीको आलोचना गरिरहेका छन् । 

त्यस्तै, महासमिति बैठकका लागि सांगठनिक प्रतिवेदन तयार गरिरहेका महामन्त्री थापा र समसामयिक राजनीतिक प्रतिवेदन प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा गठबन्धन नगर्नेसहितका प्रस्ताव तयार गरिरहेका छन् । यसकारण पनि गठबन्धनको विषयमा विरोध हुन नदिने सभापति शेरबहादुर देउवाको रणनीतिअनुसार बैठक सारिएको नेताहरू बताउँछन् । 

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले महासमिति बैठक सारिएको बताए । 

‘निर्वाचन मुखमा छ, त्यसमा केन्द्रित हुनुपर्ने भएकाले बैठक सारिएको हो । महासमिति बैठक अब ७ देखि १० फागुनसम्म ललितपुरमा गर्ने निर्णय भएको छ । फागुनमा बैठक सार्दा महासमिति बैठकको तयारीलाई तात्विक अन्तर पार्दैन । सबै समसामयिक विषयलाई समेटेर एजेन्डा तयार हुनेछ,’ उनले भने । 

महासमिति सार्ने विषयमा सभापति देउवाले इतर समूहका नेता कोइरालासमेतलाई सहमत गराएको स्रोतको दाबी छ । उता महामन्त्रीद्वय थापा र शर्मा भने महासमिति बैठकको संयुक्त खाका बनाउन व्यस्त छन् । 

महासमिति बैठक सरेको यो तेस्रोपटक हो । कांग्रेसले सुरुमा १३ देखि १५ मंसिरका लागि बैठक तय गरेको थियो । तर, पछि २९ मंसिरदेखि २ पुसका लागि सारेको थियो । दोस्रोपटक बैठक सार्दै १६ देखि १९ पुसमा लागि मिति तोकेको थियो । 

केही समयअघि सभापति देउवाले जाडोको समयमा महासमिति बैठक उपयुक्त नहुने भन्दै बैठक सार्नेबारे पदाधिकारीलाई संकेत गरेका थिए । शुक्रबारको बैठकमा नेता अर्जुननरसिंह केसीले बैठक सार्नुको उपयुक्त कारण माग गरेका थिए । तर, देउवाले कुनै जवाफ नदिएको एक नेताले बताए । 

उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने भएकाले महासमिति बैठक सार्न आवश्यक भएको बैठकमा बताएका थिए । 

१२ पुसमा केन्द्रीय समिति बैठकबाट उम्मेदवारको टुंगो लगाइने
राष्ट्रिय सभाका रिक्त हुन लागेका २० सदस्यका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । प्रवक्ता महतले सत्तागठबन्धनमा रहेका दलहरूसँगको छलफलपछि छिट्टै कांग्रेसका तर्फबाट उम्मेदवारको टुंगो लगाइने बताए । 

‘गठबन्धन दलसँग पनि मिलेर जानुपर्नेछ । छलफलबाट संख्याको टुंगो चाँडै लाग्नेछ,’ उनले भने । गठबन्धनमा रहेका दलहरूबीच मिलेरै निर्वाचनमा जाने सहमति भइसकेको छ । 

कार्यसम्पादन समितिको बैठकले निर्वाचनलक्षित विभिन्न निर्णय गरेको छ । बैठकले सातै प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । त्यस्तै, निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । 

उम्मेदवारबारे अन्तिम टुंगो लगाउन १२ पुसमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता महतले बताए । निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र दिन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरेको छ । 

नेताहरूका अनुसार बैठकमा पार्टीका तर्फबाट १० सिटसम्म दाबी गर्नुपर्ने आवाज उठेको थियो । तर, यसबारे गठबन्धनमा छलफल गरेर टुंगो लगाइने बताइएको छ । निर्णयसँगै कांग्रेसले उम्मेदवारको नाम सिफारिसका लागि प्रदेश कार्यसमितिलाई परिपत्र गरेको छ । 

बैठकले १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानका लागि केन्द्रबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

त्यस्तै, १० साउनमा केन्द्रीय समिति बैठकले पारित गरेको वार्षिक कार्यतालिकाका स्थगित कार्यक्रम समेटेर कार्यतालिका परिमार्जन गरी लागू गर्ने निर्णयसमेत गरेको छ । 

क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने कार्यसम्पादन समितिले निर्णय गरेको छ । 

साथै, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावित क्षेत्रमा आवश्यक समन्वयलाई निरन्तरता दिने र सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध रकम यथाशीघ्र भूकम्प प्रभावित परिवारलाई वितरण गर्न ध्यानाकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।