१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २८ बिहीबार २०:१९:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जैविक विविधताबारे चलचित्र महोत्सव हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २८ बिहीबार २०:१९:००

वन्यजन्तु, जैविक विविधता र वातावरणका सामाजिक एवं आर्थिक पाटोका विभिन्न पक्षकेन्द्रित चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुँदै छ। एसियाकै ठूलो दाबी गरिएको महोत्सव भारतीय संस्था ‘सिएमएस वातावरण’ को आयोजनामा तय भएको हो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)सँगको सहाकार्यको महोत्सव शुक्रबार (२९ मंसिर) देखि ३ दिनसम्म चल्नेछ। भृकुटीमण्डपस्थित पर्यटन बोर्ड र खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना हुने महोत्सवले पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितालाई जोड दिएको छ। 

महोत्सव शुक्रबार नेपाल पर्यटन बोर्डमा सुरु हुनेछ। ‘यसमा जलवायु परिवर्तन र जैविक विविधता संरक्षणबारे चलचित्र प्रदर्शन, कार्यशाला, तालिम कार्यक्रम, प्यानल छलफलहरू इत्यादिलाई समेट्नेछौँ, थुप्रै रोचक कार्यक्रमहरू हुनेछन्,’ बिहीबार महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सिएमएस वातावरणका उपनिर्देशक सब्यसाची भारतीले भने। 

सो संस्थाले दुई दशकयता वातावरण र जैविक विविधताका विभिन्न पक्ष समेटेर चलचित्र र अन्तर्क्रिया गर्दै आएको छ। यो संस्थाले हालसम्म ११ वटा यस्ता महोत्सव आयोजना गरेको छ।

महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जनजस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट कुल १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुनेछन्।

‘सामाजिक प्रभाव फिल्म निर्माण कार्यशाला’ विषयक अन्तर्क्रियामा भारतीय फिल्म निर्माता राकेश रावलगायतका नेपाली चलचित्रकर्मी, संरक्षणकर्मी र अन्य सरोकारवाला सहभागी हुनेछन्। 

भारतबाहिर यस्तो महोत्सव ३ पटक भएको र नेपालमा भने पहिलोपटक यस्तो जमघट तय भएको सिएमएस वातावरणका निर्देशक पिएन वसन्तीले जानकारी दिइन्। 

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, नेपालका लागि क्यानेडेली राजदूत क्यामरुन म्याके, वन मन्त्रालयका सचिव डा. दीपककुमार खराल, आइयुसिएनका क्षेत्रीय प्रतिनिधिहरू कार्यक्रममा सहभागी हुनेछन्।

वन मन्त्रालय, नेपालस्थित क्यानेडेली दूतावास, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (नेपाल कार्यालय), नेपाल वातावरण पत्रकार समूहलगायत २० भन्दा बढी राष्ट्रिय-अन्तर्राष्ट्रिय संघसंस्था यो कार्यक्रमका साझेदार छन्।

जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको असर सामना गर्दै दिगो वातावरणमैत्री अभ्यासमा प्रेरित गर्न आफ्नो दूतावास महोत्सवसँग जोडिएको राजदूत म्याकेले बताए।